जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शुक्रबार सुनसरी बराहक्षेत्र–३ इक्राही जमुना कित्तास्थित प्लटिङ जग्गामा कमल राईको मृतास्थामा शव फेला परेको थियो ।
शरीर तथा टाउकोमा चोटसहित शङ्कास्पद अवस्थामा मृत फेला परेका कमलको घटना सम्बन्धमा अनुसन्धान गर्दा उनको हत्या भएको प्रहरीले जनाएको छ । हत्या भएको पुष्टि भएसँगै अनुसन्धान थालेको प्रहरीले कमलको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।
पक्राउ परेका दुवैले पूर्व रिसइबीका कारण योजनाबद्धरूपमा कमललाई प्लटिङ जग्गामा लगेर लाठीले टाउको तथा शरीरका संवेदनशील अङ्गमा कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १८ जेष्ठ २०७७ ०२:५६ आइतबार