समाज

भाइ–छोरासँगै गाउँ पस्यो कोरोना!

बागलुङमा कोरोना संक्रमण पुष्टि भएका युवामध्ये बडिगाड गाउँपालिकाका दुई जना र तमनखोला गाउँपालिकाका चार जना छन्। केही दिनअघि मात्र भारतबाट आएका उनीहरू गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए। पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।  

स्याङजा वालिङ नगरपालिका–७ मा संक्रमण पुष्टि भएका पाँच जना युवाहरू पनि केही दिनअघि मात्र भारतबाट फर्केका थिए। नेपालमा कोरोना संक्रमण देखिन थालेको सुरुवातताका बागलुङका दुई जना महिलामा संक्रमण पुष्टि भएको थियो। उपचारपछि उनीहरू दुवै जना निको भएर घर फर्किसकेका छन्।  

बागलुङका संक्रमित निको भएर फर्किएको लामो समयसम्म यहाँ संक्रमण देखिएको थिएन। तर अहिले कामका लागि भारत पुगेका नेपाली युवा घर फिर्न थालेपछि जिल्लामा धमाधम संक्रमण देखा पर्न थालेको छ। यो अवधिमा भारतसँग सिमाना जोडिएका तराईका धेरै जिल्लामा संक्रमण तीव्र भइसकेको छ। तराईका सबैजसो जिल्लामा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिसक्दा गण्डकी प्रदेशमा भने बागलुङपछि कतै देखिएको थिएन। त्यसैले गण्डकी प्रदेश ‘ग्रिनजोन’ मा रहेको भनेर चर्चा पनि हुने गरेको थियो। तर अब प्रदेशका पहाडी जिल्लामा पनि संक्रमणको गति बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन्।

एकाएक पहाडी जिल्लामा संक्रमण फैलिनुको कारणबारे एक स्वास्थ्यकर्मी भन्छन, ‘भारतबाट धमाधम भित्रिएका भाइ–छोराबाटै पहाडी क्षेत्रमा संक्रमण पुगेको हो। गाउँका भाइ–छोरा भारतबाट त घर फर्किए, तर उनीहरूले कोरोना पनि बोकी ल्याए।’ स्वास्थ्यकर्मीले भनेझैं लकडाउन सुरु भएपछि भारतबाट आउने क्रम रोकिएको थियो। तर अहिले भने नेपाल–भारत सीमा पार गरेर धमाधम नेपालीहरू भित्रिरहेका छन्। विभिन्न जिल्लाका गाउँका उनीहरू अहिले घर पुग्ने क्रममा छन्।

गाउँमा यो बेला भाइ–छोरा फर्किए भनेर खुसी हुन पाउने अवस्था छैन। संक्रमणको आशंका र त्रास सिर्जना हुने भएकाले यस बेला उनीहरू गाउँ आउनुभन्दा भारतमै सुरक्षित भएर बस्नु राम्रो छ।

भारतबाट फर्केका उनै नेपालीबाट गाउँसम्म संक्रमण पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्मा बताउँछन्। दिनहुँ सयौंको संख्यामा भारतबाट नेपालीहरू घर फर्किरहेकाले सबै जिल्लामा संक्रमण बढ्ने जोखिम रहेको उनले बताए। ‘अब सबैतिर संक्रमण बढ्ने त्रास छाएको छ,’ उनले भने, ‘घर फर्केका युवाबाट नै कोरोना पनि भित्रिएको हो। कास्की झन् ट्रान्जिट प्वाइन्ट भएकाले पोखरामा पनि जोखिम बढेको छ।’  

‘सुरुमै बागलुङमा संक्रमण देखिए पनि त्यसपछि प्रदेशका पहाडी भेगमा कोरोना देखिएको थिएन। तराईका भेगमा मात्र संक्रमण थियो,’ शर्मा भन्छन, ‘अहिले पहाडतिर संक्रमण उक्लिन थालेको छ। सुरुमा जहाजबाट आएका यात्रुमा संक्रमण थियो, तर त्यो समुदायमा फैलिएन। तर अब भने गाडी चढेर भारतबाट फर्केका नेपालीबाटै संक्रमणको त्रास बढेको छ।’

अहिले हरेकजसो जिल्लामा भारतबाट युवाहरू आइरहेका छन्। भारतसँग जोडिएको गण्डकी प्रदेशको नाका कमजोर भएकाले पनि अन्य नाकाबाट भित्रिएका युवा अहिले प्रदेशका गाउँगाउँमा पुगेको उनले बताए।  

प्रदेशको मूलनाका स्याङजाको राम्दी र तनहुँको आँबुखैरेनीबाट दैनिक तीन सयभन्दा बढी युवाहरू विभिन्न जिल्लाका लागि आइरहेको स्थानीय तहका पदाधिकारीले बताएका छन्। ‘जति बढी युवाहरू भित्रिन्छन, उत्ति छिटो अब पहाडी भेगका समुदायमा संक्रमण फैलिन्छ,’ शर्माले भने, ‘त्यसैले क्वारेन्टिनको बसाइलाई कडाइ गर्न जरुरी छ।’  

बागलुङको तमानखोला गाउँपालिकाका अध्यक्ष जोगलाल बुढामगर पनि गाउँका युवाहरू धमाधम फर्केकाले संक्रमण पनि सँगसँगै भित्रिएको बताउँछन्। ‘भारतबाट आउने क्रम अझै जारी छ। गाउँगाउँमा भारतबाट युवाहरू आइरहेकाले अब पहाडका गाउँमा कोरोना संक्रमण फैलिन्छ,’ उनले भने, ‘भाइ–छोरासँगै कोरोना पनि घर भित्रिएको छ। यसलाई बस्तीमा फैलिन दिनुहुँदैन।’  

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा गाउँका युवा घर फर्किएसँगै कोरोना पनि गाउँगाउँ पसेको बताउँछन्। ‘गाउँभरि नै युवाको भिडभाड हुने त्रास छ। यसले संक्रमण बढाउने जोखिम छ।’ भारतमा रहेर घर फर्किन खोज्नेलाई यस बेला नआउनुस् भनेको पनि उनले बताए। गाउँपालिकाका चार हजार तीन सयभन्दा बढी युवा भारतमा छन्। ‘गाउँमा यो बेला भाइ–छोरा फर्किए भनेर खुसी हुन पाउने अवस्था छैन,’ पाइजाले भने, ‘संक्रमण बोकेर आएका हुन् कि भन्ने आशंका र त्रासको वातावरण हुने भएकाले यस बेला उनीहरू गाउँ आउनुभन्दा उतै सुरक्षित भएर बस्नु राम्रो छ।’

प्रकाशित: १८ जेष्ठ २०७७ ०२:२१ आइतबार

कोरोनाभाइरस