समाज

वडाध्यक्षलाई कोरोना संक्रमण, जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा

बाँकेको राप्ती सोनारी गाउँपालिकाका एक वडाध्यक्षलाई कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टिनमा बसेका छन्। संक्रमित वडाध्यक्षसँग सम्पर्कमा रहेको भन्दै गाउँपालिका अध्यक्ष लाहुराम थारू, उपाध्यक्ष धनीकुमारी खत्री, विभिन्न वडाका अध्यक्ष र कर्मचारी क्वारेन्टिन तथा होम क्वारेन्टिनमा बसेका हुन्। गाउँपालिका अध्यक्ष थारूसहित केही जनप्रतिनिधि र कर्मचारी वडा ३ स्थित आश्रय भवनको क्वारेन्टिनमा बसिरहेको अध्यक्षका स्वकिय सचिव सन्तोष चौधरीले बताए।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीका अनुसार बुधबार राप्ती सोनारी–८ मा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि वडा २ मा तीन, ७ मा दुई र ९ मा तीनजनामा कोरोना पुष्टि भएको थियो। उक्त गाउँपालिकामा संक्रमितको संख्या १२ पुगिसकेको छ।

वडा ८ मा २७ जनाको पिसिआर परीक्षण गरिएकोमा पाँच जनामा पोजेटिभ देखिएको हो। वडा ९ मा ६ जनाको पिसिआर परीक्षण गरिएकोमा एकजनाको रिपोर्ट पोजेटिभ आएको छ। उक्त वडामा यसअघि नै एक युवकमा पनि कोरोना पोजेटिभ आएको थियो। वडा २ मा २१ जनाको पिसिआर परीक्षण गर्दा तीनजनामा पोजेटिभ आएको छ। यसैगरी वडा ७ मा ४६ जनाको पिसिआर परीक्षण गर्दा दुईजनामा पोजेटिभ देखिएको छ। वडा ५ मा संकलन गरिएको २१ जनाको पिसिआर रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख चुडालीले बताए।  

राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले कोरोना पोजेटिभ आएका सबैलाई आइसोलेसनमा राखिएको बताए। गाउँपालिकाले विभिन्न वडामा आइसोलेसन स्थापना गरिसकेको छ। संक्रमितको कन्ट्र्याक्ट टे«सिङ गरेर स्वाब संकलन गरिने उनको भनाइ छ। 

प्रकाशित: १६ जेष्ठ २०७७ ०१:५८ शुक्रबार

क्वारेन्टिन कोरोना संक्रमण