समाज

पोषिलो खानेकुरासहित सुत्केरी भेट

पोषिलो खानेकुरासहित खाल्लेकी सुत्केरी ज्ञानकुमारी घिमिरे (ढुंगाना)लाई भेट गर्न पुगेका आमा समूहमा आवद्ध महिला । तस्बिर : नागरिक

लकडाउनकै बीचमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सुत्केरी भेट गरिएको छ । साविकको खाल्ले–२ की ३९ दिनकी सुत्केरी ज्ञानकुमारी घिमिरे (ढुंगाना)लाई पोषिलो खानेकुरासहित सुत्केरी भेट गरिएको हो । 

सुत्केरी अवस्थाका आमाका लागि आवश्यक पोषणयुक्त खानेकुराको अभाव पुर्ती गर्दै आमा र बच्चाको स्वस्थ स्वास्थ्यका लागि स्थानीय सयपत्री आमा समूहमा आवद्ध महिलाले बुधबार सुत्केरी भेट गरेका हुन् । ‘सुत्केरी भेट’ कार्यक्रम अन्तरगत उनीहरुले गाउँमै उपलव्ध हुने भाले, चामल, दाल, सागपात, मुन्टा, गुन्द्रुक, काँक्रा, गोलबेँडा, बोडी, अण्डा, केरा लगायतका पोषिलो परिकार संकलन गरेर सुत्केरीलाई भेटघाट गरेर प्रदान गरेको स्वास्थ्य चौकी खाल्लेका एचए सन्तोष भट्टराईले बताए ।  

आमा समूहमा आवद्ध महिलाले सामाजिक दुरी कायम गरेर सुत्केरी भेट गरेका हुन् । एचए भट्टराईले पनि व्यक्तिगतरुपमा सुत्केरीलाई बधाईसहित टुथपेष्ट, टुथब्रस र आयोडिन नुन प्रदान गरेका छन् । ढुंगानाका काखमा छोरी छन् । लकडाउनका बेला पोषिलो खानेकुरा जुटाउन समस्या भइरहेको अवस्थामा गरिएको ‘सुत्केरी भेटले’ सुत्केरी आमा र उनका परिवारलाई राहत मिलेको छ । आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउन उपयुक्त आहार–व्यवहारको सुनिश्चितता गर्ने सोच अनुशार खाल्लेमा गत चैतदेखि पोषिलो खानेकुरा लिएर सुत्केरी भेट गर्ने कार्यक्रम सुरु गरिएको हो ।  

निर्धारित कार्यक्रम अनुसार गाउँका गर्भवती महिलालाई कम्तीमा एक पटक र सुत्केरीलाई पनि कम्तीमा एक पटक पोषिलो खानेकुरासहित भेटघाट गर्ने गरिएको छ । खाल्लेका साविकको ९ वडामा क्रियासिल आमा समूहले सुत्केरी भेटको व्यवस्था मिलाउने गरेको छ । सुत्केरी भेटकाक्रममा आमा समूहले गाउँमै पाइने पोषिलो थोकवस्तु जुटाएर लैजाने गरिएको आमा समुहले जनाएको छ । सुत्केरी भेट कार्यक्रम क्रमशः अन्य टोलमा नियमित सञ्चालन हुने स्वास्थ्य चौकी खाल्लेका एचए भट्टराईले बताए ।  

आमा समूहमा आवद्ध महिला सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यलाभको कामना गर्दै आमा र नवजात शिशुको स्वस्थ स्वास्थ्यका लागि सावधानीका उपाय बारे सरसल्लाह दिएर फर्किने गरेका छन् ।

प्रकाशित: १५ जेष्ठ २०७७ १५:४१ बिहीबार

पोषिलो खानेकुरा लकडाउन सुत्केरी भेट