समाज

जल्यो लास, नमरोस् न्याय

नवराजका मलामी गएका स्थानीय । तस्विरः नागरिक

भेरी नदीको किनारमा अन्तरजातीय प्रेममा मृत्युवरण गरेका नवराज बिकको चिता तयार हुन्छ । नवराजका बुवा मोहन न त्यो चिता हेर्न सक्छन् न त त्यो मृत्यु स्वीकार्न सक्छन् । तर बाध्यता उनले त्यो चितामाथि राखिएको लासमा दाग बत्ति दिनै पर्छ र कूरुर हत्यापछि भएको अप्रत्यासित मृत्यु स्वीकार्नै पर्छ ।  

हिन्दु संस्कारअनुसार अन्तिम दाहसंस्कार गरे । तर अझै उनलाई विश्वास लागेको छैन कि मेरो छोरा चितामा जलिरहेको छ । यताबाट आउँछ वा उताबाट आउँछ आँखा डुलाउँछन् तर कहाँ नवराज आउलान् ? उनी त चितामा जलिरहेछन् । आइतबारदेखि नओभाएका उनका नयन, लासजस्तै बनेको उनको शरीर र हावा जस्तै उढेको मन सम्हाल्न सानो सहासले पुग्दैन । पुगोस् पनि कसरी एउटा सन्तान लुछिएको छ । आफ्नो मृत्यु सहन सक्ने तर सन्तानको सानो चोट लाग्दा पनि ठूलो पीडा हुने आमाबाका अगाडि लास तेर्सिँदा कति मन दुख्यो होला कति बिज्यो होला ।

तर पनि उनले चितामा आगो दिए । जलिरहेका चिताभन्दा थोरै तल आउँछन् अनि भक्कानिन्छन् । माक्स पनि चिउरीसम्म लगाएका छन् । दुवै हात निधारमा राख्छन् अनि छोरोको बालापनदेखिको सम्झनाले घरिघरि पोल्छ । गाउँले सम्झाउँछन्, उनी आफैँ पनि सम्हालिन्छन् तर यस्तो विभत्स हत्या ताजै कहाँ भुल्न सक्छन् । उनी बेलाबेला मुर्छित हुन्छन् ।

कोरोना भाइरसको जोखिममा पनि जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेतलगायतबाट गएका मलामी पनि मोहनको छट्फटाहले भावबिहोल हुन्छन् । कोहिँ पर भक्कानिन्छन् त कोहिँ  वर । बुधबार पोस्टमार्टम भएपछि नवराजको हिन्दू संस्कारअनुसार दाहसंस्कार गरिएको छ । शनिबार रुकुम पश्चिमको चौरजहारी–८, सोतिमा रहेकी आफ्नी प्रेमिकालाई बिहे गर्न गएका नवराजलाई त्यहाँको गाउँले जाइ लागेको थियो । गाउँलेले जातीय अपशब्द बोल्दै ढुंगामुडासहित कुटपिट गरेका थिए । 

उक्त कुटपिट पछि ११ जना नदीमा हाम फाले । पाँचजनाले नदी पार गरेका थिए भने नवराजसहित पाँचजनाको शव भेटिएको छ भने एकजना अझै बेपत्ता छन् । भेटिएका मध्ये लोकेन्द्र सुनारको शरीरमा निलडाम, आँखामा गहिरो चोट लागेको र हात बाँधिएको अवस्थामा शव भेटिएको छ । पीडित परिवारले कुटपिट पछि गम्भीर घाइते बनाइ नदीमा फालेको दाबी गर्दै आएका छन् । डोरीले बाँधिएको लोकेन्द्रको शवले शंका गर्ने ठाउँलाई अझ बलियो बनाउने पीडित परिवारको भनाइ छ ।

नवराज, उनका साथी टिकाराम बिक, सञ्जु बिक र गणेश बुढाको शव भेटिएको छ । अझै एकजना बेपत्ता छन् । उनीहरूको खोजी कार्य भइरहेको छ । ‘मृतक नवराज जलेर गए तर न्याय नजलोस्,’ मलामी गएका दलित अधिकारकर्मी तथा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गणेश चिन्तनले भने, ‘न्यायका लागि न्यायिक आँखा बन्द नहुन् ।’ 

जसरी लासबाट धुवाँ उढ्यो त्यसरी न्याय उढेमा अर्काे नवराजले यस्तै नियति भोग्नु पर्ने लउको भनाइ छ । अधिकारकर्मीहरू न्यायका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । ‘मोहने अब छोरा फिर्ता त पाउनु हुँदैन,’ जाजरकोटकी दलित अधिकारकर्मी पार्वती बिकेले भनिन्, ‘न्याय चाहिँ पाउनु पर्छ ।’ घटनाले नातावाद तथा राजनीतिकरण हुने आशंका दलित अधिकारकर्मीहरूको भनाइ छ । केही जनप्रतिनिधिले घटनालाई ढाकछोप गर्नेखालका प्रतिक्रिया दिँदा न्याय मर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

‘सानालाई ऐन ठूलालाई चैन’ हुने होकी भन्नेमा पनि पीडित परिवार चिन्तित छ । ‘कतिपय पीडित न्याय पर्खंदा पर्खंदै न्याय नै पाएका छैनन्,’ दलित अधिकारकर्मी उपेन्द्रलाल कामीले भने, ‘अन्यायमा परेकालाई न्याय दिने काम न्यायमूर्तिको काम हो । तर न्याय पैसा, राजनीतिक शक्तिमा किनबेच नहोस् ।’ ‘न्याय नमरोस्,’ उनी भन्छन्, ‘अन्यायमा परेकाले न्याय पाऊन् ।’

न्यायको माग गर्दै चौरजहारीमा आन्दोलन

उक्त घटनाका दोषीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको माग गर्दै रुकुम पश्चिमको चौरजहारीमा आन्दोलन गरिएको छ । उनीहरूले घटनालाई राजनीतिकरण नगरी निष्पक्ष छानबिनको माग गरेका छन् । मृतकलाई सहिद घोषणा गर्न पनि उनीहरूले माग गरेका छन् । कोरोना भाइरसको जोखिममा पनि जम्मा भएका सयौंले चौरजहारी नगरपालिकाका मेयरविरुद्ध पनि नारा जुलुस लगाएका थिए ।

थप एकको शव भेटियो

बेपत्ता भएका भेरी नगरपालिका ४ का १९ वर्षीय सञ्जु बिकको शव बिहीबार भेटिएको छ । घटनास्थलदेखि ४० किलोमिटर तल छेडागाढ–१३, कालाभीर नजिकै नदीको खोचमा भेटिएको हो । योसँगै मृतकको संख्या पाँच पुगेको छ भने भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन् ।  

प्रकाशित: १५ जेष्ठ २०७७ १४:२० बिहीबार

जातीय विवाद अन्तर्जातीय प्रेम अन्तरजातीय विवाह भेरी नदी