समाज

क्वारेन्टिनमा सकस, ‘उकुसमुकुस क्वारेन्टिन, परीक्षण कहिले ?’

घोराही उपमहानगरपालिका वडा नम्बर ७ का रामवहादुर ओली (नाम परिवर्तन) ११ दिन अघि भारतबाट दाङ आए । दाङ आएका उनी मावि सौँडियारमा रहेको क्वारेन्टिनमा गए । ११ दिन देखि क्वारेन्टिनमा रहेका उनको स्वाब परीक्षण अहिले सम्म हुन सकेको छैन । क्वारेन्टिनमा रहेको एउटै पानीको धारा । त्यहाँ रहेका सबैले उहि धारोको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ । 

यसले संक्रमणको झनै खतरा बढाईदिएको छ । नत क्वारेन्टिनमा बसोबासको उचित प्रवन्ध छ । विद्यालयमा राखिएको क्वारेन्टिनमा रहेका उनी डेस्क बेन्च जोडेर सुत्छन् । ‘अव्यवस्थित क्वारेन्टिनमा बसेको ११ दिन भैसक्यो, तर अहिले सम्म मेरो स्वास्थ्य परीक्षणका लागि स्वाब लिईएको छैन,’ उनले भने ‘कहिले स्वाब लिईएला र यहाँबाट उन्मुक्ति पईएला भन्ने भएको छ ।’

स्थानीय केशव केसीका अनुसार ११ दिन अघि आएर बसेका यो क्वारेन्टिनमा दुईजना छन् । ८ दिन अघि आएका ६ जना र अन्य गरि यो क्वारेन्टिनमा २४ जना छन् । तर उनीहरू मध्य कसैको पनि स्वाब परीक्षणका लागि टोली गईपुगेको छैन । ‘अव्यवस्थित क्वारेन्टिनका कारण उनीहरूको बसोबासमा निकै समस्या छ,’ केसीले भने ‘तर उनीहरूको स्वास्थ्य परीक्षणका लागि अहिले सम्म कोहि आईपुगेको छैन, यो ढिला सुस्तीका कारण क्वारेन्टिनमा रहेकाहरूले निकै सास्ती बेहोर्नु परिरहेको छ ।’

घोराही उपमहानगरपालिका वडा नम्बर ११ हापुर स्थित क्वारेन्टिनमा बसेकाहरूको विजोग पनि उस्तै छ । क्वारेन्टिनमा बस्न थालेका १३ दिन भैसक्यो । कोरोना परीक्षणका लागि सम्वन्धित निकाय अहिले सम्म पुगेकै छैन । ‘पिउने पानीको धारो एउटै छ,विजुली बत्ति छैन,’ त्यहाँ रहेका एकजनाले भने ‘हामीहरूको कोरोना टेष्ट कहिले र कसले गर्ने हो ? कति दिन यसरी कष्ट झेल्दै बस्ने हामी ?’

जिल्लामा अहिले नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नागरिकहरूको आवागमन बढिरहेको छ । स्थानीय सरकारहरूको समन्वयमा आआफ्नो क्षेत्रका नागरिकहरूलाई जिल्ला भित्रन दिईएको छ । यसर्थ अहिले जिल्लाका क्वारेन्टिनमा भारतबाट आएका नेपाली नागरिकहरूको चाप निकै बढेको छ । तथापी उनीहरूको कोरोना चेकजाँचको प्रकृया भने निकै सुस्त छ । फलतः उनीहरू लामो समय सम्म निकै अव्यवस्थित क्वारेन्टिनमा कष्ट झेल्नु परिरहेको गुनासो गर्छन् ।  

लमहीमा रहेको क्वारेन्टिनमा रहेका नागरिकहरूले पनि आँफूहरूको बसोबासमा निकै कठिनाई रहेको भन्दै उचित व्यवस्थापनका लागि आग्रह गरेका छन्। उनीहरूले क्वारेन्टिनको अवस्था भिडियो मार्फत सार्वजनिक गरेर तत्काल व्यवस्थित क्वारेन्टिन निर्माणका लागि दबाब दिएका थिए । उनीहरूले सुत्ने ठाउँ समेत नरहेको भन्दै छत तथा भर्याङमै सुत्नु परेको गुनासो गरेका थिए ।  

जिल्लामा रहेका कुल १ सय ३३ क्वारेन्टिनमा विहिवार बेलुका सम्म ३ हजार ६ सय २८ नागरिकहरू छन् । उनीहरू अधिकांश भारतबाटै आएका हुन् । तर कोरोना परीक्षणको संख्या भने निकै कम छ ।३ सय ६ सय २८ कुल संख्या मध्य अहिले सम्म जम्मा ९ सय ८५ जनाको मात्रै परीक्षण भएको छ । परीक्षणको क्रममा रहेको संख्या पनि कम रहेको सथानीय प्रशासनले जनाएको छ । प्रशासनका अनुसार क्वारेन्टिनमा रहेका कुल संख्या मध्य स्वाब संकलन गरिएकाहरूको संख्या १ हजार ३ सय ८१ मात्रै छ ।  

स्थानीय प्रशासनको तथ्यांक अनुसार घोराही उपमहानगरपालिकामा ६१ स्थानमा क्वारेन्टिन छन् । यि क्वारेन्टिनको बेड क्षमता २ हजार ७ सय ७५ छ । घोराही उपमहानगरपालिकामा रहेका क्वारेन्टिनमा अहिले १ हजार २ सय १३ जना छन् । यसैगरि ७ सय ४६ बेड क्षेमता रहेका तुलसीपुरका कुल १३ क्वारेन्टिनमा अहिले ३ सय ५४ जना छन् । यसैगरि १ सय ५३ बेड क्षेमता रहेका लमही नगरपालिकाका ३ क्वारेन्टिनमा अहिले १ सय ३० जना, २ सय ३० बेड क्षेमता रहेका राजपुर गाउँपालिकाका ४ क्वारेन्टिनमा १ सय ४ जना छन् । 

यसैगरि ३ सय ५३ बेड क्षेमता रहेका गढवा गाउँपालिकाका ८ क्वारेन्टाइनमा ३ सय २२ जना, ४ सय १६ बेड क्षेमता रहेका राप्ती गाउँपालिकाका १३ क्वारेन्टिनमा ३ सय ७१ जना, १ हजार १ सय ७५ बेड क्षेमता रहेका बंगलाचुली गाउँपालिकाका २६ क्वारेन्टिनमा ९ सय ८२ जना, ६० बेड क्षेमता रहेका दंगिशरण गाउँपालिकाका २ क्वारेन्टिनमा ३१ जना, ७० बेड क्षेमता रहेको बबई गाउँपालिकाको एएटा क्वारेन्टिनमा ६८ जना र ७० बेड क्षेमता रहेको शान्तिनगर गाउँपालिकाका २ क्वारेन्टिनमा ५३ जना नागरिक बसिरहेका छन् ।

प्रकाशित: १५ जेष्ठ २०७७ १४:०६ बिहीबार

क्वारेन्टिन कोरोना कोरोना संक्रमण कोरोना परीक्षण