समाज

संस्कारमा कोरोना आक्रमण : ‘दुर है, ढोग दिय !’

छोरी–नातिनीले हातमा निधार राखेर र छोरा–नातिले खुट्टामा निधार राखेर ढोग्ने संस्कार छ सुदूरपश्चिममा । कोरोना सन्त्रासका बेला यो संस्कारलाई पर राख्दै बिहीबार दिउँसो गोदावरी नगरपालिका–१, का ७३ वर्षिय जयबहादुर शाहले छोरा र नातिनीलाई टाढैबाट ढोग्न अह्राए । ‘दुर है ढाग दिय, बा,’ बिहीबार भारतको पन्जावबाट फर्केका शाहले क्वारेन्टिन जानु अघि नातिनी र छोरालाई अत्तरिया बजार भेट हुँदा भने,‘म भारत है आया छु, कसो ब छ, दुर है ढोगे पनि हुन्छ ।’

एक वर्षअघि भारतको पन्जावमा गएका शाह यसपालि कोरोना त्रासले बिहीबार मात्रै उनी गाउँ फर्केका हुन् । पन्जावमा ढावा सञ्चालन गर्दै आएका शाहले व्यवसाय ठप्प भएपछि घर फर्केको बताउँदै भने,‘यस्तो महामारी आएका बेला हामी सबैले सचेत भएर बस्नुपर्ने हुन्छ, आफन्त भेटिएमा टाढैबाट ढोग गर्न र नजिक नआउन सुझाउने गरेको छु ।’ 

आफू बसेको ठाउँमा कोरोनाको प्रभाव न्यून रहे पनि रोगका बारेमा अनविज्ञ भएका कारण आफू नगरपालिकाले बनाएको क्वारेन्टिनमा १४ दिन काट्ने बताउँदै उनले भने,‘मेरो घर नजिकैको स्कुलमा क्वारेन्टिन बनाएको छ, म घर नगएर १४ दिन त्यही क्वारेन्टिनमै बिताउँछु ।’ यस्तो बेलामा आफू पनि बाँच्ने र घरपरिवारलाई पनि बचाउने समय आएको बताउँदै उनले भने,‘बाँचे भने भेटघाट र आफन्त छँदैछन् नि ।’  

एक वर्षपछि घर फर्कदा नाति र नातिनी ठूला भइसकेका र उनीहरुलाई देख्ने वित्तिकै समात्न मन लागेको बताउँदै उनले भने,‘कोरोनाका कारण धेरै मायामा भुलेर यस्तो गल्ती पनि गरिनु हुँदैन भनेर सम्हालिएर बसेँ ।’ आफू जसो तसो १४ दिन क्वारेन्टिनमा बसेर फर्केपछि त बाँकी समय नाति नातिना र छोरा बुहारीसँगै बिताउने उनले बताए । ‘अब १४ दिन क्वारेन्टिनमा बिताउँछु, त्यसपछि त घर फर्किहाल्छु नि,’ उनले भने,‘त्यसपछि घरपरिवारसँगै बसेर रमाउने त हो नि ।’  

बुबाले टाढैबाट ढोग्न लगाएको बताउँदै उनका छोरा भवानी शाहले भने,‘हाम्रो संस्कारमा बुबाको खुट्टामा टाउको या हात राखेर ढोग्ने गरिन्छ, तर यस्तो विषम परिस्थितिमा भने बुबाले टाढैबाट ढोग्न लगाउनु भयो ।’ अनिकालमा बीउ जोगाउनु, हुलहालमा जिऊ जोगाउनु भन्ने उखान अहिले चरितार्थ भएको बताउँदै संस्कृतिविद् डा. टीएन जोशीले भने,‘यस्तो समयमा संस्कार संस्कृतिमा केही लचकता अपनाउन सकिन्छ ।’ 

उनले सुदूरपश्चिमको संस्कृतिमा ढोग गर्दा हात या खुट्टामै निधार राख्नु पर्ने भए पनि केही लचिलो बनाउन अहिले टाढैबाट ढोग्न सकिने बताउँदै भने,‘यस्तो परिस्थितिमा हामीले आफूभन्दा ठूलालाई गरिने मान सम्मान तथा आदर्शलार्ई कमी हुन नदिन टाढैबाट ढोग्ने गर्नुपर्छ, त्यसमा कसैले पनि चित्त दुखाउनु हुँदैन ।’ अहिले परदेशबाट फर्केका आफन्तहरु सुदूरपश्चिमका क्वारेन्टिनमा भरिएका छन् । 

आफन्तलाई भेट्न जानेहरुको पनि भीड उस्तै छ । यस्तो बेला आफन्तलाई भेट्ने जतिले टाढैबाट ढोग्ने तथा नमस्कार गर्ने गर्नाले कोरोनाबाट आफू र अरुलाई बचाउन सकिने उनी सुझाउँछन् । यो समयमा सकभर आफन्तलाई प्रविधिमार्फत् भेटघाट गर्नुपर्ने बताउँदै उनले भने,‘भरसक प्रविधि प्रयोग गरेर भेटघाट तथा आशीर्वाद लिऔँ, नभए भेटिएका आफन्तलाई टाढैबाट ढोग्ने गरौँ ।’

प्रकाशित: १५ जेष्ठ २०७७ १३:५६ बिहीबार

अलपत्र नेपाली कोरोना क्षेत्र कोरोना त्रास