समाज

गणतन्त्रमै दलितमाथि धेरै आक्रमण

आक्रमणमा जनप्रतिनिधिकै अग्रसरता

रूकुम घटनाको छानविनको माग गदैं म्याग्दीका प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै । तस्बिर : नागरिक

गणतन्त्रमा समेत दलित समुदायमाथि निरन्तर आक्रमण भइरहेको म्याग्दीका दलित अगुवाहरूले गुनासो गरेका छन् । गणतन्त्र स्थापनाको १३ वर्षमा प्रवेश गरिसक्दा समेत दलित समुदायमाथिको हिंसा नरोकिएको भन्दै आक्रोशित भएका छन् । गत शनिबार जाजरकोटका नवराज विक आफ्ना १८ जना साथी लिएर अन्तरजातिय विवाह गर्न पश्चिम रुकुम, चौरजहारीमा पुग्दा वडा अध्यक्षकै नेतृत्वमा आक्रमण भएको भन्दै राजनीतिक आन्दोलनमा दलित समुदायलाई प्रयोग मात्रै गरिएको म्याग्दीमा अगुवाहरूको आरोप छ ।  

घटनामा अनुसन्धान माग गर्दै म्याग्दीका दलित संघसंस्थाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाउने क्रममा परिवर्तनका आन्दोनलमा दलितले निर्णायक भूमिका निर्वाह गर्दा समेत छुवाछुत बिरुद्धको आवाजमा समर्थन गर्ने पार्टीबाटै निर्वाचित जनप्रतिनिधिको अगुवाईमा दलित यूवाहरुको हत्या गरिएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्ने दलित विकास समितिकी सहसंयोजक मनकुमारी विकले बताईन् । ‘दलित यूवाहरूको सामुहिक हत्याले अझै समाजमा असुरक्षित महसुस भइरहेको छ,‘देशलाई आन्तरिक युद्धमा धकेल्ने प्रयास भइरहेको छ’ उनले भनिन् । 

नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा महासंघका अध्यक्ष पदम किसानले पछिल्ला ६ महिना यता देशभर दलितमाथि भइरहेको घटनाले दलित समुदायलाई अब निर्णायक आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन् । ‘सधै अपमानित भएर बस्नुपर्ने अवस्था छ,‘दलितलाई पशुचौपाया मारेजस्तै मार्ने गरिएको छ’ किसानले भने । 

दलितलाई दोस्रो दर्जाको नागरिक सरह हेर्ने गरिएकाले लकडाउन लगत्तै देशभरका दलित समुदायले एकजुट भएर आन्दोनल गर्ने, जातिय विभेदका कारण दलितमाथी निरन्तर देशभरी भइरहेका आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई संविधानले तोके अनुसारको कारवाहीको माग गदैं कारवाहीमा आलटाल गरिए चरणबद्ध आन्दोलन गर्ने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष बालकुमार लामिछाने बताए । 

‘दलितमाथि भइरहेको आक्रमणले सिंगो मानवजाती माथिकै आक्रमण हो,‘अब दलितको एकता आवश्यक छ’ लामिछानेले भने । म्याग्दीमा क्रियासिल विभिन्न १४ दलित संघसंस्थाका अगुवाले जातिय विभेदका कारण मानिसको मृत्यु कहिलेसम्म ? ‘नेपाली हुनुको गर्व लाग्थ्यो होला सायद मानिस, मानिस बिच विभेद नहुने भए’ जस्ता भन्ने नारा लेखिएका प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र पठाएका थिए ।

 सोही अवसरमा प्रमुख जिल्ला अधिकारी ढकालले दलित माथिको आक्रमणका दोषीलाई कुनैपनि हालतमा सरकारले नछोड्ने बताउँदै म्याग्दीमा समेत दलित माथि कुनै विभेद भएमा तत्काल जानकारी दिएमा कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रकाशित: १५ जेष्ठ २०७७ १३:४५ बिहीबार

जनप्रतिनिधि आक्रमण गणतन्त्र