उच्च रक्तचापका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका लागि दोलखाबाट राजधानीको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज पुर्याइएका जिल्लाका एक वृद्धमा कोरोना भाईरसको संक्रमन देखिएपछि उनको सम्पर्क भएका मानिसहरुको खोजी सुरु गरिएको छ ।
उपचारका क्रममा दोलखाबाट ५ दिन अघि राजधानीको सिनामंगलस्थित केएमसी लगिएका भीमेश्वर नगरपालिका २ तिखातलका ७६ वर्षिय ति वृद्धलाई बिहीबार बिहान कोरोना पुष्टी भएको थियो ।
गत शनिबार राती घरमै बसिरहेका उनलाई अचानक टाउको दुख्ने समस्या देखिएपछि नजिकैको दोलखा बजारमा धुलिखेल अस्पतालले सञ्चालन गरेको स्थानीय अस्पतालमा लगिएको थियो । रक्तचाप समेत अत्याधिक भएकोमा समस्या देखिएपछि मस्तिष्कघातको आशंकामा सिटि स्क्यानका भोलीपल्ट बिहान थप उपचार गर्न उक्त अस्पतालले ति बृद्धलाई राजधानी रिफर गरेको थियो । जिल्लामा सिटि स्क्यान गर्ने सुविधा छैन्।
राजधानी लगिएपछि बुधबार दुई पटक पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनमा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु कुमार झाले जानकारी दिए ।
उनका अनुसार रक्तचाप र सुगरका बिरामी ति बृद्धमा रक्तचाप बढेर टाउकोमा समस्या देखिएपछि मस्तिष्कघातको आशंकामा सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेज भर्ना गरिएको थियो । ‘मेडिकल कलेजले स्वाब परीक्षणका लागि पठाउदा पोजेटिभ देखिए लगतै उहाँलाई त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल (टिचिङ) लगिएको रहेछ’ झाले भने । उनका अनुसार ति वृद्धको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।
संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले सुरुमा उनको उपचारमा संलग्न केएमसीका चिकित्सक र स्वास्थ्यकर्मीहरुको परीक्षण सुरु गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार सुरुमा उनको उपचारमा संलग्न चिकित्स र स्वास्थ्यकर्मीहरुको पिसिआर परीक्षण थालिएको जानकारी आफुले पाएको बताए । ‘उनलाई काहाँबाट संक्रमण देखियो भनेर सुरुमा अस्पताल भित्रै ट्रेसिङ सुरु भएको जानकारी आएको छ’ शर्माले भने – ‘जिल्लामा समेत हामीले कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको छौं’ ।
स्वास्थ्य कार्यालयका प्रमुख झा का अनुसार ति संक्रमीत बृद्ध घरमै बस्ने र बाहिर हिडडुल कम गर्ने गरेका थिए । उनी भारतिय सेनाका निवृत्त सैनिक थिए । लकडाउन सुरु हुनु अघि ति वृद्ध पेन्सन लिन चरिकोटबाट गाडी रिजर्भ गरेर बिरगञ्ज र भारतीय सिमानाका शहर पुग्ने गर्थे । छिमेकीका अनुसार लकडाउन पछि उनी घर बाहिर निस्किएका थिएनन् । हिडडुल कम गर्ने उनको स्वभाव थियो ।
घरमा बुहारी र नाती बस्थे । अर्का नाती भने भक्तपुरको दुवाकोट बस्दै आएका थिए । स्थानीयका अनुसार लकडाउनकै बिचमा उनलाई भेट्न एक आफन्त सैनिक जवान घरमा आएका थिए । खोटाङमा कार्यरत ति सैनिक जवान अहिले चरिकोटमै रहेको र बृद्धलाई संक्रमण पुष्टी भए लगतै छुट्टै क्वारेन्टाईनमा राखिएको स्थानीय अधिकारीहरुले बताएका छन् । ति सैनिक जवानसंग उठबस भएका ब्यारेकका केही सैनिकहरुलाई समेत छुट्टै राखिएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख झाका अनुसार बृद्धलाई सुरुमा अस्पताल लगेका छमेकी, आफन्त, सवारी चालक र स्थानिय अस्पतालका स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षण गर्ने तयारी थालिएको छ ।
प्रकाशित: १५ जेष्ठ २०७७ ०९:४८ बिहीबार