समाज

ढुंगाले किच्दा एकको मृत्यु

माथिबाट खसेको ढुंगाले किच्दा खोटाङमा एकको मृत्यु भएको छ । कुलो सरसफाई गर्नेक्रममा माथिबाट खसेको ढुंगाले टाउकोमा किच्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा राम्चेका ५० वर्षीय गोबिन्द भट्टराईको मंगलबार मृत्यु भएको हो । टाउकोमा चोट लाग्दा गम्भीर घाइते बनेका भट्टराईको उपचारका लागि काठमाडौं लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायण चिमोरियाले बताए ।  

लैकुखोला चारीकुलो सरसफाई गर्नेक्रममा उनलाई ढिस्कोबाट खसेको ढुंगाले टाउकोमा लागेको थियो । बुईपाकै सनराईज हेल्थकेयर सेन्टरमा सामान्य उपचारपछि काठमाडौं लैजानेक्रममा भकुण्डेबेँसीमा पुगेपछि घाइतेको मृत्यु भएको हो । खेतको कुलो सरसफाईका लागि गएका तीन जनामध्ये भट्टराईलाई ढुंगाले किचेको स्थानीय युवा मिलन राईले बताए । चर्को हावाहुरी चलेपछि दुईजनाको बीचमा बसेर बिश्राम गरिरहेको अवस्थामा उनलाई ढुंगाले लागेको थियो ।  

यस्तै, हावाहुरीले भाँचेको पिपलको हाँगाले लाग्दा दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ६२ वर्षीय बिर्खबहादुर मगर घाइते भएका छन् । राष्ट्रिय बाणिज्य बैंक दिक्तेलमा पुगेर घर फर्कनेक्रममा टेम्माकै टाङटुंगे चौतारामा मंगलबार हावाहुरीले भाँचेको पिपलको हाँगाले लाग्दा मगर घाइते भएका हुन् । हाँगाले लाग्दा टाउकोमा चोट लागेका मगरको उपचारपछि घर फर्किसकेको डिएसपी चिमोरियाले बताए । 

प्रकाशित: १४ जेष्ठ २०७७ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App