समाज

बागलुङमा ६ जनालाई कोरोना संक्रमण (अपडेट)

बागलुङका ६ जना युवामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये बडिगाड गाउँपालिकाका दुईजना र तमनखोला गाउँपालिकाका चारजना युवा रहेको निर्देशनालयले जनाएको छ।  पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको  निर्देशनालयले बताएको छ।  

निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार बडिगाडको क्वारेन्टिनमा रहेका १९ र २० वर्षका दुईजना तथा तमनखोलाको क्वारेन्टिनमा रहेका २१ वर्षका दुई तथा २७ वर्षका दुई गरि ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।  उनीहरु सबैजना भारतबाट हालैमात्र घर फर्केका थिए।  प्रदेश निर्देशक शर्माले संक्रमित सबैलाई सदरमुकामस्थित सरकारी अस्पतालमा उपचारका लागि ल्याउने तयारी भईरहेको जानकारी दिए।  

निर्देशक शर्माले भारतबाट आएका उनीहरु पोखरा हुँदै बागलुङ पुगेको र पोखराको सिम्पानीमा खाना समेत खाएर गएको जानकारि दिए।  ‘अब सबैतिर संक्रमण बढ्ने त्रास छाएको छ,’ उनले भने, ‘कास्की झनै ट्रान्जिट प्वाइन्ट भएकोले पोखरामा पनि जोखिम बढेको छ। ’

तमानखोला गाउँपालिकाका अध्यक्ष जोगलाल बुढामगरका अनुसार एकसाता अघि भारतबाट आएका ८ जनामध्ये चारजनामा संक्रमण देखिएको हो।  आठैजनाको स्वाब परीक्षण गरिएको भएपनि अरु चारजनाको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए।  ‘समुहमा ८ जना युवाहरु भारतबाट आएका थिए।  क्वारेन्टिनमा बसेका उनीहरु सबैको बिहान–बेलुकी तापक्रम नाप्ने गरेका थियौं,’ बुढामगरले भने,‘उनीहरु सबैको अवस्था सामान्य छ।  कोरोनाका कुनैपनि लक्षण देखिएका छैनन्। ’ उनका अनुसार भारतबाट आउने क्रम अझै जारी छ।  गाउँगाउँमा भारतबाट युवाहरु आईसकेकाले अब संक्रमण फैलिने त्रास रहेको उनले बताए।  

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले दईजना युवामाा संक्रमण पुष्टि भएपनि उनीहरुको अवस्थामा सामान्य रहेको बताए।  भारतबाट ९ गते आएका ६ जना समुहका दुइजनामा संक्रमण देखिएकोे पाइजाले बताए  ‘संक्रमित भनिएका युवाहरु हट्टाकट्टा छन्।  उनीहरुलाई कुनै पनि समस्या देखिएको छैन,’ पाइजाले भने, ‘सबैतिर त्रास भएकोले मात्र डराएका हौ।  नत्र डराउनुपर्ने अवस्था उनीहरुमा छैन। ’

पाइजाका अनुसार अहिलेसम्म बडिगाड गाउँपालिकाभर २१३ जना भारतबाट आएका छन्।  अझै ६० जना आउने तयारी भईरहेको उनले बताए।  ‘गाउँभरि नै युवाको भीडभाड हुने त्रास छ।  यसले संक्रमण पनि बढाउने जोखिम छ,’ उनले भने।  उनले नेपालमा कोराना संक्रमण देखिन थाल्दाताका ३५ शैयाको क्वारेन्टिन बनाएको भएपनि अहिले बढाएर तीनसय बढी बनाईसकेको बताए।  

‘अहिलेसम्म सबैलाई पुग्ने क्वारेन्टिन बनाएका छौ।  श्रोत साधनले भ्याएसम्म व्यवस्थापन प्रयास गरेका छौ,’ उनले भने, ‘तर अब पनि मान्छे भारतबाट आउने हो भने व्यवस्थापन चुनौती हुनेछ। ’ भारतमा रहेर घर फर्किन खोज्नेलाई पटक्कै नआउनुस भनेको उनले बताए।  पाइजाका अनुसार गाउँपालिकाका करिब ४३ सय युवा भारतमा छन्।  

नेपालमा संक्रमण देखिन थालेको सुरुवातमै चैतको दोश्रो साता बागलुङका दुइजना महिलामा पनि कोरोना देखिएको भएपनि उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन्।  त्यसपछि बल्ल अहिले संक्रमण देखिएको हो।  

 

 

 

प्रकाशित: १४ जेष्ठ २०७७ ०७:४८ बुधबार

कोभिड १९ कोरोनाभाइरस