समाज

भारतबाट आएका युवाको बाटोमै मृत्यु

स्वाब संकलन गरेर कोरोना परीक्षण हुँदै

भारतको गुजरातबाट आएका सुर्खेतका एक युवकको मृत्यु भएको छ। पाँच दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। उनको मंगलबार राति साढे १२ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

‘भारतबाट आएका नागरिक बसमै विरामी भएर उपचारका लागि प्रदेश अस्पताल ल्याउनु भएको रहेछ,’ कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले भने, ‘हामीले चेकजाँच गर्ने क्रममा मृत्यु भइसकेको थियो।’  

मृतक युवा सुर्खेतको चिंगाड गाउँपालिका–५ अवलचिङका हुन्। अस्पतालले कोरोना आशंकामा उनको स्वाब संकलन गरेर परीक्षण सुरु गरेको छ। ‘भारतबाट आएको भएकाले उहाँको स्वाब संकलन गरेर परीक्षण सुरु गरेका छौं,’ डा. पौडेलले भने, ‘दिउँसोसम्म रिपोर्ट आउँछ।’

प्रकाशित: १४ जेष्ठ २०७७ ०३:०९ बुधबार

स्वाब परीक्षण