समाज

सुस्त प्रदेश सरकार : जोखिममा गाउँ

कोरोना कहर

मंगलबार काठमाडौ ईट्टाभट्टाबाट रोल्पा आएकाहरु । तस्बिर : दिनेश/नागरिक

रोल्पाका गाउँहरु यतिबेला त्रसित छन् । घर छेउँमा बनेका अब्यवस्थित क्वारेन्टिनमा बस्ने छिमेकीसंगको सामिप्यता बढ्ने डरमा उनीहरु दिक्क बनेका हुन् । पछिल्ला केहि दिनयता भारतबाट नेपाल भित्रिने क्रम बढेर गाउँहरु जोखिममा पर्न थालेका हुन् । अहिले सम्म सुरक्षित रहेका गाउँहरुलाई कसरी बचाउने र नयाँ आउनेलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बारेमा जनप्रतिनिधिहरु चिन्तित बनेका छन् । सिमानामा कुनै पनि परीक्षण बिना गाउँ पठाइएकाहरु सयौको संख्यामा जिल्ला भित्रिन थालेपछि उनीहरुको बसाई ब्यवस्थापन र परीक्षणमा स्थानीय सरकारलाई एक्लै हम्मे हम्मे परेको हो ।  

उता केन्द्र सरकार र प्रदेश सरकारले भारतबाट देश भित्रिनेहरुलाई के गर्न सकिन्छ भन्नेबारेमा केहि छलफल र सहयोग नगरेपछि जिल्लाका जनप्रतिनिधि रुष्ट बनेका छन् । नेपाल भारत  सिमानासम्म आफै गाडी पठाएर घर ल्याइएकाहरुलाई सकेसम्म सहज रुपमा राख्न प्रयास गरेका स्थानीय तहहरु आर्थिक भारले थिचिनेमा समेत चिन्तीत बनेका हुन् । सिमानामा अलपत्र हजारौ जनता अलपत्र पर्दा समेत प्रदेश सरकार मुक दर्शक बनेको भन्दै स्थानीय तहका जनप्रतिनिधिले गुनासो सुरु गरेका छन् ।  

दुई दिनमा ४२ जना गाउँ भित्रिएको र मंगलबार मात्रै ५२ जना गाउँ आउदै गरेको थाहा पाएको गंगादेब गाउँपालिका उनीहरुको ब्यवस्थापनमा लागेको छ । ‘प्रदेश सरकार अहिले जिम्मेवारीबाट पन्छियो, रोग गाउँ तिर पठायो ।’ गंगादेब गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रीले भने  ‘कम्तीमा परीक्षण गरेर पठाउनु पर्ने थियो ।’ समयमा परीक्षण नगरिदिने हो भने क्वारेन्टिनमा राख्नु ब्यर्थ भएको बताउदै अध्यक्ष खत्री भन्छन् ‘गाउँ आउने संगै सबै संग रोग छ भन्ने छैन । उनीहरुलाई संगै राखेर किन जोखिम बढाउने । समयमा परीक्षण गरिएन भने सबैलाई घर पठाउनुको बिकल्प रहदैन ।’

खत्री जस्तै परिवर्तन गाउँपालिकाका प्रमुख निमकान्त डागी पनि यतिबेला प्रदेश सरकार चुकेको बताउँछन् । ‘कोरोना नियन्त्रण प्रयासमा प्रदेश सरकारको कुनै भूमिका र सहयोग रहेन । भारतबाट भित्रिनेहरुको उद्धार ब्यवस्थापन कार्यमा उसले कुनै पनि भूमिका खेलेन ।’ उनका अनुसार प्रदेश सरकार यतिबेला गैरजिम्मेवार बनेको छ । रोल्पा नगरपालिका प्रमुख पुर्ण केसि पनि गाउँहरुमा जोखिम बढेको बताउदै प्रदेश सरकारले भारतबाट आउनेहरुको ब्यवस्थापनमा खासै गतिलो भूमिका नखेलेको बताउँछन् ।  

उता त्रिबेणी गाउँपालिकाका प्रमुख शान्तकुमार वली पनि प्रदेशले कुनै समन्व नगरेको बताउछन् । ‘अरुलाई हेर्नु भन्दा हामि आफै सरकार भएकाले सके जति गर्नै पर्छ । सिमानामा आएर कराउन थाल्छन् अनि गाडि पठाएर ल्याईरहेका छौ । ब्यवस्थापनमा कठिन हुने भो ।’

जिल्ला भरको अवस्था नजिकबाट हेरिरहेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल पनि यतिबेला रोल्पाका गाउँहरुमा जोखिम बढेको बताउँछन् । ‘बुधबार काठमाडौबाट २६ वटा बस रोल्पाका लागि हिडेको खबर आएको छ । भारतबाट अबको एक सातामा करिब ७ हजार मानिस जिल्ला भित्रिने अनुमान छ ।’ उनले भने ‘मापदण्ड अनुसार क्वारेन्टिनमा राख्न सकिएन भने जटिल स्थिती आउन सक्छ ।’ पछिल्लो ३ दिनमा भारतबाट आएका ४ सय ४ जना जिल्लाका बिभिन्न क्वारेन्टिनहरुमा छन् ।  

यो भन्दा अगाडी काठमाडौ र अन्य जिल्लाबाट आएका करिब ८ हजार रोल्पालीलाई १४ दिन क्वारेन्टिनमा बसालेर घर पठाएका स्थानीय तहहरु यसपालि भारतबाट आएकाहरुलाई मात्रै क्वारेन्टिनमा बसाउने तयारीमा पुगेका छन् । मापदण्ड अनुसार ब्यवस्थित क्वारेन्टिन बनाउन सकस हुने भए पछि राजधानीबाट आएकालाई होम क्वारेन्टिनमा पठाइने भएको छ ।

प्रकाशित: १३ जेष्ठ २०७७ १३:१७ मंगलबार

कोरोना भाइरस जोखिम प्रदेश सरकार