समाज

साता दिनदेखि बेपत्ता प्रधानाध्यापक मृत फेला

एक सातादेखि बेपत्ता एक प्रधानाध्यापक मंगलबार जंगलमा विहान मृत भेटिएका छन् । गत ७ गते देरैदेखि बेपत्ता भएका त्रियुगा नगरपालिका १२ बोटेटोलका स्थायी बासिन्दा ५७ वर्षीय ज्ञानबहादुर श्रेष्ठ त्रियुगा १३ स्थित भुसुने सामुदायिक वन उपभोक्ता समूहको जंगलमा मृत भेटिएका हुन् ।  

खोटाङको बतासेस्थित आधारभूत विद्यालयका प्रअ रहेका श्रेष्ठ घरबाट बजार जान्छु भन्दै हिडेकोमा सोहीदिनदेखि सम्पर्कविहीन भएका थिए । आफन्तजनले खोजी गर्नै क्रममा उनी भुसुने जंगलमा निर्माणाधीन पानी ट्यांकीभन्दा झण्डै ५ सय मिटर माथि करमको रुखमा बेरिएको भोर्लाको लहरामा झुण्डिएर आत्म हत्या गरेको अवस्थामा भेटिएको छिमेकी कौशल दाहालले बताए । बीच जंगल भीरको रुखमा लहरामा बेरिएकाले उनको लास निकाल्न प्रहरीलाई झण्डै ३÷४ घण्टा लागेको बताइएको छ ।  

परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार लामो लकडाउनमा श्रीमती, छोराछोरीसँग घरमै बस्दै आएका श्रेष्ठ ‘एकछिन बजार घुमेर आउँछु’ भन्दै ७ गते दिउँसो घरबाट निस्केपछि सम्पर्कविहीन बनेका थिए । उनको खोजीमा आफन्त, नातागोता र संभावित ठाउँ सबैतिर सोधी खोजी गर्दा पनि नभेटिएपछि परिवारले प्रहरी गुहारेको थियो । लकडाउनले हिडडुल गर्न असहज भएकाले आफन्तले फोन र सामाजिक सञ्जाल फेसबुकमार्फत उनको खोजी गर्दैगर्दा उनी मृत भेटिएका हुन् ।  

श्रेष्ठले आत्महत्या गरेको अनुमान गरिएको तर, अहिले नै यकिन नभएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । परिवारजनलाई उद्धृत गर्दै प्रहरीले बताए अनुसार मानसिक र शारिरीकरुपमा तन्दुरुस्त उनलाई आत्महत्या गर्नुपर्ने कुनै कारण थिएन । घट्नाबारे अनुसन्धान गरेपछि मात्र वास्तविक्ता बाहिर आउने प्रहरी भनाई छ । मृतकको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको एसपी मगरले बताएका छन् ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०६:२५ मंगलबार

बेपत्ता मृत