न्यूनतम मापदण्ड समेत पुरा नगरेका क्वारेन्टिनबाटै कोरोना संक्रमण फैलन सक्ने चेतावनी जनस्वास्थ्य विज्ञहरुले दिइरहेका छन् । रुपन्देहीमा पनि क्वारेन्टिन सुधारमा बेलैमा ध्यान नदिए मर्चवार क्षेत्रले नरैनापुरकै नियती भोग्नु पर्ने चेतावनी जनस्वास्थ्य विज्ञहरुले दिइरहेकै बेला यहाँको एउटा गाउँपालिकाले पिसीआर रिपोर्ट नआउदै संक्रमितलाई घर पठाइ दिएको घटना बाहिरीएको छ ।
आइतबार कोरोना संक्रमण पुष्टि भएका सम्मरीमाइका ३ जनालाई शनिबारै घर पठाइएको थियो । मर्चवारस्थित सम्मरीमाइको वडा न ५ का २ जना र वडा नं. ७ का एक जनाको आइतबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको हो । तर ती संक्रमितसंगै क्वारेन्टिनमा रहेका ६६ जनालाई गाउँपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला र स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले शनिबारै सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाइदिएका थिए । आइतबार पोजेटिभ रिर्पोट आएपछि संक्रमितहरुलाई घरबाटै उठाएर दागंको बेलझुण्डिस्थित कोभिड अस्पताल पठाइएको छ । संक्रमितको परिवार र गाउँमा कन्ट्रयाक्ट ट्रेसिङको तयारी भइरहेको छ ।
सम्मरीमाइ ५ का एक जना स्थानीयले आफ्नो वडाका दुवै जना संक्रमितसंग चोकको चिया पसलमा समूहका बसेर चिया पिउदै गफ गरेको बताए । उनका अनुसार एक जना इदको सामान किन्न बजार पनि गएका थिए । संक्रमितहरु परिवारसगै छिमेकी र साथीभाइहरुसंग पनि घुलमिल भएकाले गाँउमा त्रास फैलीएको वडा नं ५ का वडाध्यक्ष श्रवणकुमार यादवले बताए
सम्मरीमाइ ५ का ४६ जना र वडा न ७ का २० जना बैशाख २७ गते भारतको बम्बै र दिल्लीबाट फर्केका हुन । उनीहरुलाई २७ गतेदेखि नै क्वारेन्टिनमा राखिएको थियो । जेठ ४ गते दुवै क्वारेन्टिनका ६६ जनाको पिसीआर टेष्टका लागि थ्रोट स्वाब संकलन गरी टेकु पठाइएको थियो ।
उनीहरुको रिर्पोट नआउदै शनिबार गाउँपालिका अध्यक्ष शुक्ला र स्वास्थ्य शाखा प्रमुख माझीले क्वारेन्टिनमै पुगेर सबैजना कोरोना मुक्त भएको भन्दै झुटो खबर सुनाए । त्यहाँ बस्नेहरु सबै खुसी भए । लगत्तै वडान ५ को क्वारेन्टिनका ४६ जना र ७ का २० जनालाई घर पठाइयो । त्यसअघि अध्यक्ष शुक्ला प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पुगेर क्वारेन्टिनमा बस्नेहरुलाइ सम्हाल्नै नसकेको भन्दै छिटो रिर्पोट दिएर घर पठाइदिने बताएका थिए । प्रयोगशालाका अधिकारीले टेकुका निर्देशकलाई फोन गरेर रिर्पोट छिटो पठाइदिन आग्रह गरेपछि त्यहाँबाट हिडेका शुक्लाले गाँउ पुगेर दुबै क्वारेन्टिन बसेकालाई आरडिटी टेष्टको व्यवस्था गरेको पनि बुझिएको छ ।
स्वाब संकलन गरीएकाको रिर्पोट नआउदै आरडिटि गरीनु स्वास्थ्य गाइडलाइनविरुद्ध हुने बताउँछन् प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरी । ‘गाउँपालिकाले एक सय आरडिटी किट लगेको थियो । तर त्यो किट पिसीआर गरेकालाई नै प्रयोग गरीनु हुदैन थियो । पिसीआर रिर्पोट नआउदै किन आरडिटि ?’ डा गीरीले भने ।
अध्यक्ष शुक्ला र स्वास्थ्य प्रमुख माझीले जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक तथा मर्चवारका कोरोना फोकल पर्सन केदारनाथ शाहको मिलेमतोमा क्वारेन्टिनमा बसेकालाई घर पठाएको स्थानीयको दावी छ । सम्मरीमाइका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराइले पनि स्वास्थ्य कार्यालयले नै रिर्पोट नेगेटिभ आएको बताएपछि छोडीएको भन्दै अध्यक्षलाई जोगाउने प्रयत्न गरे ।
गाउँपालिकाका अध्यक्ष शुक्ला र स्वास्थ्य इन्चार्ज माझीले फोन अफ गरेर बसेका छन् । फोकल पर्सन शाह पनि त्यसपछि बिरामी परेका छन् । जनस्वास्थ्य प्रयोगशाला प्रमुख गिरीले स्थानीय तहहरुले गाइडलाइन फलो नगर्दा क्वारेन्टिनहरुबाटै कोरोना संक्रमण फैलने खतरा बढीरहेको बताए । ‘पालिकाका प्रमुख, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुले नै लापरबाही गर्छन् भने आम सर्बसाधारणबाट के अपेक्षा गर्ने’ डा. गिरीले भने ।
पालिकाहरुले आफ्ना नागरिकहरु बाहिरबाट कति फर्कदैछन् भनेर तथ्याङ्क संकलन गरी सोही अनुरुप क्वरेन्टिन व्यवस्थापन गर्ने भनिए पनि दक्षिणी क्षेत्रका पालिकाहरुले न क्वारेन्टिनको क्षमता बढाएको छ न व्यवस्थित गरीएको छ । जसका कारण क्वारेन्टिनहरु नै संक्रमण फैलाउने अखडा बनीरहेका छन् ।
यसअघि सम्मरीमाइकै क्वारेन्टिनमा बस्नेहरु आपसमै लडेको,पालिकाकाले किरा परेका भात दिएको,क्वारेन्टिनहरुलाई व्यवस्थित नगर्दा गाउँमा संक्रमण फैलने डरले गाउँलेले आन्दोलन गरेको जस्ता घटना बाहिरीएका छन् । ती क्वारेन्टिनहरुमा शौचालय, धारापानीको समेत उचित व्यवस्था छैन । स्वास्थ्यकर्मीको निगरानीबिनै सामाजिक दुरी समेत कायम नगरी राखीएको छ ।
प्रकाशित: १२ जेष्ठ २०७७ १३:११ सोमबार