समाज

भारतबाट आएकालाई अनिवार्य क्वारेन्टिन

भारतमा नेपालीहरु आउने संख्या दिन प्रतिदिन बढिरहेको छ । आइतबार साँझसम्म बैतडीमा एक हजार ७ सय ४३ जना भारतका विभिन्न ठाउँबाट आएर सम्बन्धित पालिकामा रहेका क्वारेन्टिनमा बसेका छन् । भारतबाट दिनहुँ यहाँका स्थानीयबासी भित्रिन थालेपछि स्थानीय तहलाई क्वारेन्टिन व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । स्थानीय तहका विभिन्न विद्यालयमा भारतबाट फर्केका नागरिक राख्न थालिएको छ ।  

तर उनीहरुको स्वास्थ्य परीक्षण तथा क्वारेन्टिनलगायतको उचित व्यवस्थापन हुन सकेको छैन । बिशेष गरी शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा अधिक नागरिक आएपछि व्यवस्थापन गर्न समस्या भएको शिवनाथ गाउँपालिका स्वास्थ्य संयोजक नरेन्द्र महताले बताए । ‘सबैलाई क्वारेन्टिनमा राख्दै आएका छौं,’ उनले भने ‘इमान्दारपूर्वक सबैले क्वारेन्टिनमा बसे मात्र गाउँ समुदाय सुरक्षित हुन्छ ।’

भारतबाट फर्केका बैतडीका पाँच जना कोरोना संक्रमित भएपछि यहाँका स्थानीय त्रसित भएका छन् । संक्रमितसँगै फर्केकाहरुको स्वास्थ्य परीक्षण नहुँदा कोरोनाको सन्त्रास फैलिएको हो । कैलालीको गौरीफन्टा नाकाबाट आएका संक्रमितसँगै दुई हजार चार सयभन्दा बढी नागरिक नेपाल भित्रिएका थिए । उनीहरुकै भिडमा भएकाले संक्रमणको जोखिम बढेको हो । बाहिरबाट आएका सबै नागरिकले क्वारेन्टिनमा बसे कोरोना त्रास कम हुने मेलौली नगरपालिकाकी उपप्रमुख राधा ओझाले बताइन् । सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । अझै धेरै जना आउने क्रममा रहेको उनले जानकारी दिइन ।  

जिल्लामा व्यवस्थित क्वारेन्टिन नहुँदा क्वारेन्टिनमा बसेका व्यक्तिहरुमा पनि एकआपसमा संक्रमण फैलिने खतारा बढदै गएको छ । कोरोना रोकथाम एवम् नियन्त्रणको लागि बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राखिन्छ तर तिनै क्वारेन्टिन व्यवस्थिति नहुँदा संक्रमणको जोखिम हो । कुनै स्थानीय तहले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र खाना बनाउन अलग्गै जनशक्ति परिचालन गरेको छ भने अधिकांश ठाउँमा क्वारेन्टिनमा बसेकाहरुले पालैपालो खाना बनाउने गरेका छन् । अलगअलग ठाउँबाट आएका उनीहरु सँगै खाना खाँदा झन संक्रमित नभएको व्यक्तिलाई पनि संक्रमणको संभावना भएको बार एसोसिएसन बैतडीका सचिव अधिवक्ता लक्ष्मीदत्त पाण्डेय बताउँछन् ।

बैतडीका स्थानीय तहले निर्माण गरेका अधिकांश जिल्लाका क्वारेन्टिन मापदण्ड अनुसार छैनन् । एउटै शौचालय, एउटै धारा प्रयोग गर्दा क्वारेन्टिनबाट संक्रमणको जोखिम बढी देखिएको स्वास्थ्यकर्मी बताउँछन् । भारतले लकडाउन खुकुलो गर्दै घर फर्कनेलाई सजिलो बनाएपछि भारतका विभिन्न ठाउँमा काम गर्दै आएका नेपाली फर्कने क्रम दिनहुँ बढ्दै गएको छ । क्वारेन्टिनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा संक्रमण नभएकालाई पनि संक्रमण हुने संभावना देखिएको हो ।

भारतबाट फर्केका नागरिक क्वारेन्टिनमा बसे पनि उनीहरुको परीक्षणको लागि जिल्लामा किट अभाव भएको छ । गत शुत्रबार जिल्ला प्रहरीको कारागारमा रहेका थुनुवामा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा आएका सबै जनाको परीक्षण हुन सकेको छैन । संक्रमितको पहिलो रेडजोनमा रहेका ६८ जनाको मात्र स्वाब परीक्षणको लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

प्रकाशित: १२ जेष्ठ २०७७ १२:२३ सोमबार

क्वारेन्टिन कोरोना भाइरस