समाज

शिक्षण अस्पतालमा पनि पिसिआर प्रयोगशाला

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पिसिआर प्रविधिबाट कोभिड–१९ को परीक्षण आजदेखि शुरु गरिएको छ।  त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले अस्पतालमा रहेको पिसिआर प्रयोगशालाको उद्घाटन गर्दै सरकारसँग समन्वय गरेर कोभिड–१९ को परीक्षणको दायरा बढाउन प्रयोगशाला सञ्चालन गरिएको जानकारी दिए।  

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहाकार डा खेम कार्कीले कोभिड–१९ को परीक्षणको दायरा बढाउन लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए।  योसँगै अहिलेसम्म कोभिड–१९ परीक्षण गर्नका लागि २० वटा पिसिआर प्रयोगशाला सञ्चालनमा रहेका छन्। काठमाडौँ उपत्यकामा भने पाँच वटा पिसिआर ल्याब सञ्चालन भएका छन्। त्रिविमा रहेको बाइयोटेक्नोलोजी विभाग रहेको उक्त प्रयोगशाला अस्पतालले सञ्चालन गरेको हो। मन्त्रालयका विज्ञ सल्लाहाकार डा कार्कीका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई, वीर अस्पतालमा एक, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा एक र शिक्षण अस्पतालमा एक जरी पाँच ठाउँमा पिसिआर सञ्चालन गरिएको छ।  

अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले एकपटकमा ९६ जनाको परीक्षण गर्न सकिने जानकारी दिए। परीक्षण गरिएको छदेखि आठ घण्टामा रिपोर्ट आउनेछ। कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा रुना झाले परीक्षण गराउनेको सङ्ख्या बढिरहेकाले अस्पतालमा सञ्चालन भएको प्रयोगशालाले सम्भावित सङ्क्रमितको परीक्षण गर्न सहयोग पुग्ने बताए। उनले आफूले प्रयोगशाला सञ्चालनका लागि आवश्यक सहयोग गर्नेसमेत बताए। अहिलेसम्म पिसिआरबाट ४८ हजार ८१५ र आरडिटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको छ। 

प्रकाशित: १२ जेष्ठ २०७७ ११:१५ सोमबार