समाज

लकडाउन उल्लंघनमा नक्कली गर्भवतीदेखि नक्कली मृतकसम्म

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हाल मुलुकभर लकडाउन गरिएको छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज छैन । कतिपय टोलबाट अर्को टोल आवत–जावत गर्नमा समेत रोक लगाइएको छ ।

 यो अवस्थामा पनि कतिपय व्यक्तिले नक्कली बिरामी, नक्कली गर्भवती, नक्कली मृतक खडा गरेर यात्रा गर्ने गरेको पाइएको छ । लकडाउनमा व्यक्तिगत र पारिवारिक कामका लागि कतिपय अवस्थामा यात्रा गर्नैपर्ने अवस्था आउने भए पनि कतिपयले विभिन्न वाहना गर्दै शहरबाट गाउँ भित्रिने गरेको खुलेको छ ।  

दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा एक महिला नक्कली पेट बनाएर नक्कली गर्भवती बनेर ईटहरीबाट गाउँ आएको केही समयपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा आफन्तको मृत्यु भएको कागजात बनाएर तरहराबाट पाँच जना स्थानीय गाउँ आएको खुलेको छ । उनीहरुले २० वर्षअघि मृत्यु भएका थापा थरका आफन्तको गत जेठ ८ गते मृत्यु भएको कागजात तयार गरेर मृत्यु संस्कारका लागि शनिबार गाउँ आएको खुलेको हो । ईलाका प्रहरी कार्यालय पोकली सुनसरीले उपलव्ध गराएको कागजातमा पनि जेठ ८ गते आफन्तको मृत्यु भएकाले मृत्यु संस्कारका लागि पास उपलव्ध गराइएको उल्लेख रहेको श्रोतले जनाएको छ । दुई दशकअघि मृत्यु भएका वृद्धको संस्कारको कागजात बनाएर गाउँ आउनेमा थापा, चौहान, कार्की र कठायत थरका स्थानीय छन् ।  

नक्कली मृतकको कागजात बनाएर आउँदै गरेका उनीहरुलाई खोटाङ प्रवेश गर्ने नाका जयरामघाटमा प्रहरीले छेकेको थियो । तर, उनीहरुले ईलाका प्रहरी कार्यालय पोकलीबाट नाकामा बसेका प्रहरीलाई फोन गराएर जयराम पार गरेका थिए । नक्कली मृतकको कागजात तयार पारेर पाँच स्थानीय जिल्ला प्रवेश गरेको जानकारी आएपछि स्थानीय प्रशासनले पनि छेक्ने प्रयास गरेका थिए । दिक्तेल पुग्न लाग्दा छेकिएका उनीहरुलाई जनप्रतिनिधिको आग्रहमा क्वारेन्टाइनमा राख्नेगरी छाडेको श्रोतले जनाएको छ । २० वर्षअघि मृत्यु भएका आफन्तको हालको मृत्यु बनाएर गाउँ आएका पाँच जनालाई शनिबार साँझदेखि नै दोर्पाचिउरीडाँडास्थित अन्नपूर्ण माबिको क्वारेन्टीनमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।  

गाउँ भित्रिनका लागि गरिएको कडाईकाबीचमा पनि विभिन्न बाहनामा गाउँ प्रवेश गर्ने क्रम रोकिएको छैन । लुकिछिपी गाउँ प्रवेश गर्ने पनि उत्तिकै देखिएका छन् । 

प्रकाशित: ११ जेष्ठ २०७७ ०६:३६ आइतबार

लकडाउन उल्लंघन नक्कली गर्भवती