समाज

२ सय ७१ मध्ये ३२ जना निको भएर फर्किए

प्रदेश ५

प्रदेश नं. ५ मा कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्कन थालेका छन् । बुटवलको धागो कारखानामा संचालित कोभिड अस्पतालबाट शनिबार साँझ १० जना संक्रमित निको भएर घर फर्केका हुन । उनीहरु सबै कपिलवस्तुका हुन ।  

दुई साताअघि संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनीहरुको लगातार दुई पटकको परीक्षणमा कोरोना भाइरस नदेखिएपछि अस्पतालबाट डिस्चार्ज दिइएको असपतालका डा. सुदर्शन थापाले बताए । ‘पछिल्लो दुइ पटकको पीसीआर रिपोर्टमा नेगेटिभ आएपछि घर पठाएका हौं’ डा. थापाले भने । संक्रमितहरुलाई निको बनाएर घर पठाउन पाउदा खुसी लागेको र यसले सकारात्मक सन्देश दिने डा. थापाले बताए ।  

यसअघि रुपन्देहीकै पहिलो कोरोना संक्रमित पनि सोही अस्पतालबाट निको भएर घर फर्कीसकेका छन् । आत्मविश्वास बलियो हुने र स्वास्थ्य प्रति सचेत रहने व्यक्तिले कोरोनालाई सजिलै परास्त गर्न सक्ने डा. थापाले बताए । डा. थापाले सकेसम्म दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाउन र संक्रमण देखिहाले पनि नआत्तिन सबैलाई अनुरोध गरेका छन्  ।  

कपिलवस्तुका ३६ जनाको उपचार भइरहेकोमा दश जना निको भएर घर फर्केपछि त्यहाँ अहिले रुपन्देहीका संक्रमितलाई ल्याइएको छ । अस्पतालमा बेड अभाव हुँदा यसअघि संक्रमण पुष्टि भएका कपिलवस्तु र रुपन्देहीका संक्रमितलाई क्वारेन्टिनमै राखिएको थियो । ‘बेड खाली भएपछि रुपन्देहीका १० जनालाई ल्याइसकेका छौ’ डा. थापाले जानकारी दिए । बुटवलको कोभिड अस्पतालमा ३६ जनाको उपचार भइरहेको छ ।

यसअघि शुक्रबार बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर कोभिड अस्पतालबाट २१ जना निको भएर घर फर्केका थिए । अहिले सम्म प्रदेशमा ३२ जना संक्रमित निको भइसकेका छन् । प्रदेशमा देखिएका संक्रमित मध्ये अधिकांशमा कुनै लक्षण तथा स्वास्थ्य समस्या नदेखिएकाले निको भएर फकर्नेहरुको सख्या बिस्तारै बढ्दै जाने सम्बन्धित अस्पतलका चिकित्सकहरुले बताएका छन् । प्रदेशमा अहिले सम्म २ जना संक्रमितको मृत्यु भएको छ । शनिबार साँझसम्म प्रदेशमा संक्रमितको सख्या २ सय ७१ छ ।  

गुल्मीमा कन्ट्रयाक्ट ट्रेसिङमा भेटिए एक जना संक्रमित
गत बिहीबार उपचारकै क्रममा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित शिक्षकको सम्पर्कमा रहेका अर्का एक पुरुषमा कोरोना संंक्रमण देखिएको छ । मदाने मै बस्ने एक जना बैंकका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ ।  

मृतक शिक्षकको जेठ २ गते स्वाब परीक्षणका लागि पठाइएकोमा ५ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ५ गते नै मृतकका परिवारसहित मदानेका ३० जनाको थ्रोट स्वाब परीक्षणका लािग प्रदेश प्रयोगशाला भैरहवा ल्याइएको थियो । जसमध्ये २९ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । एक जनाको पोजेटिभ रिपोर्ट आएको प्रदेश प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।  

कोरोना पोजेटिभ देखिएका ती पुरुषको घर गुल्मी नभएपनि उनी त्यहाँ एउटा बैंकका जागीरे हुन । ती व्यत्तिीको कोरोना पोजेटिभ रिपोर्ट आएपछि फेरी आइतबारदेखि कन्ट्रयाक्ट ट्रेसिङ गरीने गाउँपालिकाले जनाएको छ ।  

यसअघि ती शिक्षकको उपचारमा संलग्न क्रिमसन अस्पतालका चिकित्सक नर्स र ३ जना कुरुवासहित २९ जनाको रिपोर्ट नेगेभिट आइसकेको छ । अर्घाखाँचीको छाया पोलिक्लिनीकका १० जनाको पनि थ्रोट स्वाबको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।

प्रकाशित: ११ जेष्ठ २०७७ ०६:१९ आइतबार

कोरोना संक्रमित कोभिड अस्पताल