समाज

बैतडीमा ४६ जनाको स्वाब संकलन

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका  ५४ जनाको स्वाब संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३२ जना प्रहरी, जिल्ला अदालतका १२ जना कर्मचारी र स्वास्थ्यकर्मी ४६ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

हत्या प्रकरणमा गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ पुरुष कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा आएका सुरक्षाकर्मी, कर्मचारी र स्वास्थ्यकर्मीको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको हो । संक्रमित युवकको गाउँमा रहेका घरपरिवार, आफन्त र सम्पर्कमा आएका अन्य २२ जनाको आइतबार स्वाब संकलन गरिने स्वास्थ्य प्रमुख भट्टले बताए ।

शिवनाथ गाउँपालिका–४ की १९ वर्षीया किशोरीको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा शुक्रबार कोरोना पुष्टि भएको हो ।  सेती प्रादेशिक अस्पताल, धनगढीमा पिसिआर विधिबाट जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । हिरासतमा रहेका युवकमा संक्रमित देखिएपछि जिल्ला प्रहरी कार्यालयलाई सिल गरिएको थियो ।

संक्रमितलाई जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था समान्य रहेको छ । पहिलोपटक जिल्लामा संक्रमित भेटिएपछि जिल्लामा त्रास बढेको छ । संक्रमित युवक गत चैत ६ गते उनी भारतबाट फर्केका थिए । उनको दुईपटक आरडीटी गर्दा रिपोर्ट नेगिटिभ आएको थियो । तर पिसीआर परीक्षणमा पोजिटिभ आएपछि जिल्लामा कोरोनाको त्रास फैलिएको छ । भारतबाट फर्केका दुई हजार जतिको आरडिटी गरिएको छ, भने ६ हजार जतिको कुनै परीक्षण भएको छैन् । भारतबाट फर्केका नागरिकहरुको कोरोना परीक्षण नहुँदा संक्रमणको जोखिम पनि बढ्दै गएको छ ।  

प्रकाशित: १० जेष्ठ २०७७ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App