समाज

मृत्युपछि पनि शव लैजान पाएनन् परिवारले

कोरोना मृत्युको कहर

गुल्मी मदानेका ४१ वर्षे शिक्षकले गाँउमा फरासीला र गुणी शिक्षकको परिचय बनाएका थिए । मदाने ६ पुर्कोटदहको कङ्गे देउराली आधारभुत विद्यालयमा उनी २०५९ सालदेखि पढाउँथे। समुदाय मिलेर एउटा टहरोमा सुरु गरीएको विद्यालयलाइ उनकै नेतृत्वमा नमुना विद्यालयको रुपमा स्थापित गराउन सफल भएको उनका भाइ बशन्त कुँवरले बताए । गाउँ समाजमा कसैलाइ केही समस्या परे उनी रात दिन नभनेर सहयोगमा जुट्थे  । उनको  परिवारमा पनि कुनै समस्याा आइपर्दा आफन्त र छिमेकी  मात्रै हैन टाढाटाढाबाट इष्टमित्र जुटीहाल्थे  ।  

सबैको सुख दुखमा सधै साथ दिने तिनै शिक्षकको बिहीबार रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भयो । झण्डै ३२ घण्टासम्म शव अस्पालमा रह्यो । कोरोना संक्रमित बिरामीको मृत्यु भएमा भनेर शव व्यवस्थापनका लागि  सरकारले यसअघि नै प्रोटोकल तयार गरेको थियो । तर तीन तहका सरकारका जिम्मेबार निकाय  र अस्पतालबीच नै  शव व्यवस्थापन प्रक्रियामाआपसी समन्वय र समझदारी नहुँदा बिहिबार बिहानै मृत्यु भएका व्यक्तिको शव  व्यवस्थापन शुक्रबार अपरान्ह दुइ बजेपछि गरीयो । बुटवल र तिलोत्तमाको सिमानामा रहेको मगरघाटमा लैजाने भनिएपनि स्थानीयको बिरोधपछि पूर्व–पश्चिम राजमार्गको दक्षिण तर्फ भलुहीको जंगलमा शव गाडीएको हो । नेपाली सेना र प्रहरीका जवानले शव व्यवस्थापन गरेका हुन ।  

जिउँदाको जन्ती र मर्दाको मलामी भन्ने नेपाली भनाइ कोरोना मृत्युसंग हार खाएको मृत्तकका भाइ वसन्तले बताए। लकडाउन नै भएपनि उहाँलाइ कोरोना पुष्टि नहुँदा सम्म अस्पतालमा भेटन आउने मान्छेको कमी थिएन । तर अचानक उहाँको मृत्यु भयो । प्रहरी र सेनाले शव लगे हामी हेरेको हेरयै भयौ भनेर अस्पतालमै रहनु भएका माइलो दाइले दिउसो फोन गर्नु भयो । म जवाफ शून्य भए’  मृत्तकका कान्छा भाइ बशन्तले भने । घरबाट कतै ननिस्केका श्रीमानको मृत्यु कोरोनाबाट भएको र आफनो संस्कार अनुरुप सदगत गर्न पाउदिन भन्ने कुरामा अझैपनि भाउजुले विश्वास नगरेको बशन्तले नगारिकलाइ बताए । ‘भाउजुले अझैपनि शव घर ल्याउने हो । सबै संस्कार पुरा गरेर सदगत गर्छु भन्नुहुन्छ सम्झाउन गाह्रो भइरहेको छ’ बशन्तले  भने । मृत्तकका तीन छोरा छन ।  ७१/७२ बर्षका बृद्ध आमाबुवाले टाढैबाट भएपनि एक पटक छोराको मुख हेर्छौ शव ल्याइदेउ भनेर बिलौना गरीरहेको उनले बताए । ‘छोराहरुले बाबालाइ अन्तिम पटक भएपनि हेर्छौ भन्छन । यस्तो पिडा कसैलाइ नपरोस’ बशन्तले भने । मृत्तकका परिवारले  शव घर ल्याउन नपाएपनि परिवारको सहमती बिपरित जंगलमा लगेर गाडीएको भन्दै असन्तुष्टि जनाएका छन ।

मृतक जेठ १ गते रुपन्देहीको तिलौत्तमा स्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । आइसीयु कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको बिहिबार बिहान मृत्यु भएको हो । जण्डिस र ज्वरो आएपछि  उनी अर्घाखाँचीको सन्धिखर्क स्थित छाया पोलिक्लिनीकमा  उपचारकालागि आएका थिए । क्लिनीकले क्रिमसनमा रेफर गरीदिएपछि बुटवल आए । कोरानासंग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पतालमै जेठ २ गते स्वाब झिकी परीक्षणकालागि पठाइयो । ५ गते रिर्पोटमा कोराना पोजेटिभ देखिएको थियो ।

कोरोना पुष्टि हुनुअघि सम्म अस्पतालमा उनलाइ भेटन आउने आफन्त र साथीभाइहरुको भिड लाग्थ्यो । अस्पतालले कोराना संक्रमणको जोखीमका बेला धेरै जना भिजीटर नआइदिनुस भनेर अनुरोध गर्नु परेको थियो । तर उनको रिर्पोट कोरानो पोजेटिभ आएपछि अस्पतालमा एका एक सन्नाटा छायो । उनका आफन्त जो अस्पताल भेटन आए तिनमा पनि त्रास फैलीयो । गुुल्मीको मदाने गाँउ,अघाखाँचीको क्लिनीक  सबैतिर कोरोनाको डर पस्यो ।

तर परिवारले भने कोरोना पाजेटिभ रिर्पोट आइसक्दा पनि पत्याएका छैनन । घर बाहिर नगएका दाजुलाइ कोरोना कसरी र कहाँबाट लाग्यो ? भाइ बशन्तले उही प्रश्न दोहोरयाए । परिवारले उनको मृत्यु कोरोनाबाट नभइ अस्पतालको लापरबाहीका कारण भएको भन्दै छानबिनको माग गरेको छ ।

मृत्तककी श्रीमतीले अस्पतालको लापरबाहीले श्रीमानको ज्यान गएको भन्दै शुक्रबार  जिल्ला प्रशासन कार्यालय गुल्मीमा निवेदन दिएकी छन् । जसमा अस्पतालले माफी माग्नु पर्ने, बालबालिका र आमाबुवाको पालनपोषणकालागि उचित कोषको व्यवस्था गर्न र उपचार खर्च मिनाह गर्नु पर्ने माग गरीएको छ । मृत्तककी श्रीमतीले परम्परा अनुसार दाहसंस्कारको प्रबन्ध मिलाउन पनि लिखीत माग गरेकी छन । तर कोरोना मृत्युको कहरले उनका श्रीमानलाइ छोडेन । मृत्यु पश्चता पनि  अन्तिम संस्कारकालागि परिवारले शव घर लैजान पाएनन । रुपन्देहीकै एक जंगलमा ती शिक्षकको  शव व्यवस्थापन गरीयो ।

अस्पतालका २९ जनाको रिर्पोट नेगेटिभ
बिहिबार मृत्यु भएका गुल्मीका कोरोना भाइरस संक्रमित शिक्षकको उपचारमा संलग्न अस्पतालका चिकित्सक,नर्स सहित २९ जनाको रिर्पोट नेगेटिभ आएको छ । अस्पतालको आइसीयुमा उपचारत शिक्षकलाइ कोरोना भएको पुष्टि भएपछि अस्पतालका स्वाथ्यकर्मी, कर्मचारी र ३ जना कुरुवा गरी २९ जनाको थ्रोट स्वाव परीक्षण गर्न पठाइएको थियो । पिसीआर टेष्टमा २९ जनाको रिर्पोट कोरोना नेगेभिट आएको भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए । बुटवल आउनु अघि ती संक्रमितको स्वास्थ्य परीक्षण गरीएको अर्घाखाँचीको छाया पोलिक्लिनीमा कार्यरत चिकित्सक नर्स सहितका १० जनाको रिर्पोट पनि यसअघि नै नेगेटिभ आएको थियो । मृत्तकका परिवारसहित मदानेका ३० जनाको पनि थ्रोट स्वाब परीक्षणका लागि भैरहवा ल्याइएको छ । तर रिर्पोट आएको छैन ।

प्रकाशित: ९ जेष्ठ २०७७ १४:४९ शुक्रबार

मृत्यु कोरोना कहर कोरोना भाइरस