समाज

फुनपाको कोरोना कोषमा बैंक तथा बित्तीय संस्थाको सहयोग जारी

फुनपाको कोरोना कोषमा सहयोग रकम हस्तान्तरण गर्दै समिट लघु बित्त बित्तीय संस्था ताप्लेजुङका प्रमुख टेकनाथ अधिकारी । तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङका स्थानीय तहले बनाएको कोरोना नियन्त्रण तथा व्यवस्थापन कोषमा बैंक तथा बित्तीय संस्थाहरु रकम जम्मा हुने क्रम जारी छ । शुक्रबार समिट लघु बित्त बित्तीय संस्था लिमिटेडले फुङ्लिङ नगरपालिकाको कोषमा २० हजार ५०० रुपैयाँ जम्मा गरेको छ । समिटका यहाँस्थित शाखा प्रवन्धक टेकनाथ अधिकारीले फुङ्लिङ नगरपालिकाद्धारा स्थापित कोरोना नियन्त्रण तथा व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरी प्राप्त भएको भौंचर नगरप्रमुख छत्रपति प्याकुरेललाई हस्तान्तरण गरेका छन् ।  

बिहीबार मात्र कोरोना रोकथाम,नियन्त्रण तथा व्यवस्थापनका लागि ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले स्थापना गरेको कोषमा प्रभु बैंकको ताप्लेजुङ शाखाले १५ हजार रुपैयाँ सहयोग गरेको थियो । कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण तथा रोकथामको लागि भन्दै बैंकका शाखा प्रबन्धक खगेन्द्रप्रसाद न्यौपानेले फुङलिङ नगरप्रमुख  प्याकुरेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । सहयोगी बैंक तथा बित्तीय संस्थाप्रति नगरप्रमुख प्याकुरेलले आभार प्रकट गरेका छन् ।  

यता लकडाउनका कारण रोजगारी गुमाएर हात मुख जोर्न नै समस्या परेका परिवारले पाउने राहत फुङ्लिङ नगरपालिकाले दोस्रो पटक १ हजार ४८ परिवारलाई बितरण गरेको छ । यस्तो राहत पहिलो पटक उसले १ हजार १३ परिवारलाई दिएको थियो । फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा)का अनुसार फुङ्लिङ नगरपालिका वडा नं १ मा २३,२ मा ९५,३ मा १२३,४ मा २२९,५ मा ९६ र वडा नं ६ मा १५० परिवारलाई बितरण गरिएको छ । यस्तै वडा नं ७ मा ७ मा ११२,८ मा ६९,९ मा ९६,१० मा ४० र ११ मा १५ परिवारलाई वितरण गरिएको समेत भट्टराईले जानकारी दिए ।  

 

 

 

प्रकाशित: ९ जेष्ठ २०७७ ०९:४४ शुक्रबार

स्थानीय तह कोरोना कोष सहयोग