समाज

संकटमा बराहपोखरीको रातो माछा

बराहपोखरीमा मरेर पानीमा तैरिएको रातो माछा । तस्बिर सौजन्य : दिपेश खड्का

सय वटा गन्तव्यको सूचीमा समावेस खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पाइने दुर्लभ रातो माछा मर्न थालेका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पर्ने बराहपोखरीमा पाइने रातो माछा पछिल्लो समय दिनदिनै मर्न थालेको हो । ३३० मिटर लम्वाई र २१० मिटर चौडाई रहेको बराहपोखरीमा दैनिकजसो माछा मरेको भेटिने गरेको स्थानीय बिदुर श्रेष्ठले बताए । ‘तीन/चार महिनादेखि पोखरीको माछा मरिरहेको पाइएको छ,’ श्रेष्ठले भने, ‘दिनमा दुईा/र वटा माछा मरिरहेकै हुन्छ । मरेको माछा पानीमा तैरिरहेको देखिने गरेको छ ।’  

चारैतिर पहाड र बीचको उपत्यकामा रहेको पोखरीमा टाढाबाटै राताम्य माछा खेलीरहेको देखिने गरेकामा हाल मरेको माछा तैरिरहेको भेटिने गरेको छ । मुहान र निकास नदेखिने खुर्पा आकारको पोखरीमा बेला–बेलामा माछा मर्ने गरेको वडाध्यक्ष टंक मगरले बताए । पोखरीको रातो माछा मर्नुको कारण पत्ता लागेको छैन ।  

बढ्दो फोहोरमैलाका कारण पोखरीको रातो माछाको अस्तित्व संकटमा पर्न लागेको अनुमान गरिएको छ । स्थानीयबासीले पोखरीमा नुहाउने र लुगा धुने गर्दा बढेको फोहोरमैला र साबुनको अशरका कारण रातो माछा मर्न थालेको स्थानीयको दाबी छ । जलवायु परिवर्तन र बढ्दो तापक्रमको अशरले समेत माछाको अस्तित्व संकटमा परेको हो । 

पोखरीको पानी कम हुँदै जाँदा र पानीमा जैविक पदार्थको मात्रा बढ्दै जाँदा माछालाई ढुसीजन्य संक्रमण हुने र फुल्का कुहिने रोग लागेर मर्ने गरेको माछा सम्वन्धी जानकारहरु बताउँछन् । पोखरीको सरसफाईमा ध्यान नपुग्दा फोहोरको कारण अक्सिजन कमी हुँदा समेत माछालाई अशर पुगेको कतिपयको बुझाई छ । त्यसमाथि बथानका बथान आउने पानी हाँसले समेत माछा खाने गरेको छ । हाँसको पञ्जाबाट उम्किए पनि ठुँगेको चोटका कारण पनि माछा मर्ने गरेको स्थानीय अनुमान गर्छन् । दुर्लभ रातो माछा संरक्षणकालागि स्थानीयले हाँस धपाउने प्रयास गरे पनि पर्याप्त हुन सकेको छैन ।  

मुहान र निकास हुने स्थान नदेखिए पनि बा¥है मास पानी हुनु बराहपोखरीको बिषेशता हो । ‘अर्धचन्द्राकार’ पोखरी जोड्ने सडकको पहुँच बिस्तारसँगै आन्तरिक पर्यटक आउनेक्रम बढ्दो रहेको वडाध्यक्ष मगरले बताए । जिल्लाकै प्रमुख पर्यटकीय स्थलकारुपमा बिकास गर्न सकिने बराहपोखरी बिकास, संरक्षण र संबर्धनको अभावमा हालसम्मै ओझेलमा परेको छ ।  

किनारामा शंखेश्वर महादेवको मन्दीर रहेको बराहपोखरीमा हरिबोधनी एकादशी, बालाचतुर्दशी, माघे संक्रान्ती, शिबरात्री र रामनवमीमा मेला लाग्ने गरेको छ । मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न बराहपोखरीमा जिल्ला भित्र तथा वाहिरबाट पर्यटक एबं दर्शनार्थी आउने गरेका छन् । पोखरीमा नुहाए मनोकांक्षा पुरा हुने, निसन्तानलाई सन्तान प्राप्त हुने बिश्वास गरिन्छ ।  

प्रकाशित: ९ जेष्ठ २०७७ ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App