समाज

मध्यरातमा आलमको घरमा छापा, प्रहरीलाई नै घेराबन्दीमा पारेपछि दर्जनौँ राउन्ड हवाई फायर

प्रहरी पुगेपछि आलमको घरमा देखिएको भिड

रौतहटको राजपुरमा गएराति प्रहरीले राजपुर बम काण्डका आरोपितलाई पक्राउ गर्न पूर्वमन्त्री महम्मद आफताब आलमको घरमा छापा मारेको छ। आलमका भाइ महताब आलम घरमा आएको सूचनाको आधारमा आलमको घरमा प्रदेश प्रहरीले छापामारेको हो।

गए राति १२ बजे बाराको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी गोविन्द पुरीको कमाण्डमा ठूलो संख्यामा प्रहरीले राजपुर नगरपालिका ४ राजपुर फरहदवास्थित पूर्व मन्त्री आलमको घरमा खानतलास गरेका हुन्। घरका सबै सदस्य सुतिसकेको अवस्थामा प्रहरीले आलमको गेटलाई बलजफ्ती खोलेर घरभित्र पसी एक घन्टासम्म खानतलासी गरेका थिए। खानतलासीमा पूर्वमन्त्री एवम नेपाली काँग्रेसका नेता महम्मद आफताब आलमका भाइ भेटिएनन्।

घरभित्र पूर्वमन्त्री आलम र भाइ महताब आलमका पत्नी तथा बालबच्चाहरु मात्र रहेको पाइएको प्रहरीको भनाइ छ। गलत सूचनाको आधारमा प्रदेश प्रहरीले मध्यरातमा आलमको घरमा छापामारी गर्न पुगेकोमा ठूलो क्षति हुनबाट जोगिएको छ।  

मध्यरातमा प्रहरीले आलमको घर घेरामा पारी प्रहरी घरभित्र पसेको सूचना गाउँमा आगो झैँ फैलिएपछि हजारौँको संख्यामा स्थानीयबासीले प्रहरीलाई नै घेराबन्दीमा पारेका थिए। प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर गरेपछि बल्ल उम्कन सफल भएको थियो।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले घटनाको विषयमा आफूले बिहानमात्र थाहा पाएको र रौतहट प्रहरीले छापामारी नगरेको बताएका छन्। आफूले बिहानमात्र प्रदेश प्रहरीले स्थानीय प्रहरीसित समन्वय नगरी तथा प्रजिअलाई जानकारी नगराई महताब आलमलाई पक्राउ गर्न छापामारी गरेको सुनेको बताएका छन्।

प्रदेश नम्बर दुईका प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले प्रदेशको टोली पुगेर आलमको घरलाई घेरा हाली छापा मारेको स्वीकार्दै घरमा छापा मार्ने क्रममा स्थानीयले अवरोध गरेपछि स्थितिलाई नियन्त्रणमा लिन केही राउन्ड गोली चलाउनु परेको पनि स्वीकार गरेका छन्।

राजपुर नगरपालिकाका मेयर सकिल अहमदले कसैको घरमा छापा मार्नु अघि प्रहरीले मुचुल्का उठाउनु पर्ने, समाजका केही मानिसलाई साक्षी राख्नु पर्ने वा जनप्रतिनिधिलाई बोलाउनु पर्नेमा केही नगरी प्रहरीले अधिकारको दुरुपयोग गरेको प्रतिक्रिया दिएका छन्।

कसैले महम्मद महताब आलम आएको गलत सूचना प्रदेश प्रहरीलाई दिएको बताउँदै मेयर सकिलले महताब आएको सूचना आफूलाई समेत जानकारी नभएको बताएका छन्।

यसअघि पूर्वमन्त्री महम्मद आफताब आलमलाई पक्राउ गर्न उनको घरमा छापामारी गर्न तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीलाई प्रहरीको केन्द्रीय कार्यालयले व्यापक दबाब दिएको थियो। तर एसपि खत्रीले घरमा छापामारी गर्न सहज नभएको भनी मानेका थिएनन् र बाटोबाट उनलाई पक्राउ गरिएको थियो।

प्रकाशित: ९ जेष्ठ २०७७ ०४:०४ शुक्रबार

राजपुर बम काण्ड महम्मद आफताब आलम