समाज

क्वारेन्टिनबाटै संक्रमणको खतरा

कोरोना रोकथाम एवम् नियन्त्रणको लागि बाहिरबाट आएकाहरूलाई क्वारेन्टिनमा राखिन्छ तर तिनै क्वारेन्टिन व्यवस्थित नहुँदा संक्रमणको जोखिम छ। क्वारेन्टिन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो। तर यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ। क्वारेन्टिनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा संक्रमण नभएकालाई पनि संक्रमण हुने सम्भावना उच्च बनेको छ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा विद्यालय, सामुदायिक भवन तथा खाली भवनहरूमा बाहिरबाट आएका नागरिकलाई क्वारेन्टिन गरिएको छ। सुदूरपश्चिम प्रदेशमा १० हजार दुई सय ९६ शड्ढयाको क्वारेन्टिन रहेको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशानालयका अनुसार कैलालीमा पाँच सय ६७, कञ्चनपुरमा तीन सय १०, डोटीमा नौ, बैतडीमा दुई सय ६१ बझाङमा एक सय ४०, बाजुरामा ७१, अछाममा एक सय १३, डडेल्धुरामा एक सय १९ र दार्चुला ८९ जना गरी एक हजार ६ सय ७९ जना क्वारेन्टिनमा बसेका छन्।

कुनै स्थानीय तहले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र खाना बनाउन अलग्गै जनशक्ति परिचालन गरेको छ भने अधिकतर क्वारेन्टिनमा बसेकाहरूले पालैपालो खाना बनाउने गरेका छन्। अलगअलग ठाउँबाट आएका उनीहरू सँगै खाना खाँदा संक्रमित नभएको व्यक्तिलाई पनि संक्रमणको सम्भावना भएको बार एसोसिएसन बैतडीका सचिव अधिवक्ता लक्ष्मीदत्त पाण्डेय बताउँछन्।

बैतडीका स्थानीय तहले निर्माण गरेका अधिकतर क्वारेन्टिन मापदण्डअनुसार छैनन्। एउटै शौचालय, एउटै धारा प्रयोग गर्दा क्वारेन्टिनबाट संक्रमणको जोखिम बढी देखिएको स्वास्थ्यकर्मी बताउँछन्। भारतले लकडाउन खुकुलो गर्दै घर फर्कनेलाई सजिलो बनाएपछि भारतका विभिन्न् ठाउँमा काम गर्दै आएका नेपाली फर्कने क्रम दिनहुँ बढ्दै गएको छ। अझै गौरीफन्टा, पलिया, वनबासा, झुलाघाट, धार्चुलालगायत सीमावर्ती क्षेत्रमा नेपाल फर्किने प्रतीक्षामा सयौंको संख्यामा छन्।  

भारतका रेडजोन एरियाबाट आएकाहरूबाट नेपालमा संक्रमण देखिएकाले सुदूरपश्चिममा पनि जोखिम बढ्दै गएको छ। धेरैलाई उद्धार गरी सम्बन्धित स्थानीय तहमा पठाइएको छ। धनगढीको त्रिनगर नाकाबाट ल्याइएका नेपालीलाई सम्बन्धित पालिकाको समन्वयमा पठाउने गरिएको धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले बताए। समन्वय हुन नसकेका ठाउँका नागरिकलाई यहाँकै क्वारेन्टिनमा राखेर स्वास्थ्य जाँचपछि पठाउने गरिएको उनले बताए।  

सुदूरपश्चिममा पाँच जना कोरोना संक्रमित देखिएका थिए। कैलालीमा चार र कञ्चनपुरमा एक जना संक्रमित उपचारपपछि कोरोना जितेर घर फर्किका छन्। पछिल्लो समय सुदूरपश्चिममा कोरानो संक्रमति नदेखिए पनि विदेशबाट आउने बढ्दो क्रम र जाँचको दायरा बढाउँदा भेटिन सक्ने सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक गुणराज अवस्थी बताउँछन्।

जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा एक रात ढोकामै प्रहरीले ताला लगाउनु प¥यो। क्वारेन्टिनमा बसेकाहरू भाग्ने धम्की दिन थालेपछि प्रहरीले सुरक्षाको लागि ताला नै लगायो। कतिपय क्वारेन्टिनका ढोका नै छैनन् भने ढोका भएका कोठामा पनि चुकुल छैनन्। जंगली जनावर पस्ने खतरा एकातिर छ भने महिलाहरूमाथि बलात्कारका घटना पनि हुन सक्ने नागरिक समाज बैतडीका अगुवा करन दयालले बताए।

स्थानीय तहले व्यवस्थापन गरिएका क्वारेन्टिनमा बस्दा संक्रमणको खतरा बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तहमा बनेका क्वारेन्टिन एकीकृत गरेर प्रत्येक स्थानीय तहमा सय शड्ढयाको क्पारेन्टाइन बनाउने निर्णय गरे पनि जिल्लामा अधिकतर स्थानीय तहले मापदण्डअनुरूप व्यवस्थापन गर्न सकेनन्। न त एकीकृत क्वारेन्टिन नै बनाएका छन्। अलगअलग ठाउँमा रहेका अव्यवस्थित ढंगका क्वारेन्टिनले कोरोना भाइरस संक्रमणको जोखिम बढाएको छ। अन्य जिल्लाबाट आएका र भारतबाट आएका एउटै क्वारेन्टिनमा राख्दा अझ जोखिम बढेको हो। एउटै शौचालय, एउटै धारा तथा साबुन र स्यानिटाइजर पर्याप्त नहुँदा जोखिम निम्ताउन थालेको छ।

‘भारतबाट सुरक्षित आयौं,’ दशरथचन्द नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका छायानाथ रारा नगरपालिका–१२ मुगुका सागर रोकायाले भने, ‘यदि एक जनामा संक्रमण देखियो भने सबैलाई सर्न सक्छ। यहाँ सबै जनालाई एउटै ठाउँमा राखिएको छ। क्वारेन्टिनमा बस्दा चाहिँ संक्रमणको डर बढेको छ।’  

क्वारेन्टिानमा बस्ने सद्दे मान्छे पनि बिरामी हुने अवस्था छ। क्वारेन्टिनमा सुत्ने, खाने, दिन बिताउने र मनोरन्जनका सामग्रीको अभाव मात्रै होइन, एउटै शौचालयमा भिड लगाएर जानुपर्ने बाध्यतासमेत छ।

महादेव मावि, बागामा रहेको क्वारेन्टिनमा ६८ जना सँगै बसेका दीपक धानुकका अनुसार क्वारेन्टिनमा सरसफाइका सामग्री, मास्क, स्यानिटाइजर कुनै व्यवस्था छैन। क्वारेन्टिनमा बसेकाहरूबीच सामाजिक दुरी पालना गरिएको छैन।

प्रकाशित: ८ जेष्ठ २०७७ ०३:२३ बिहीबार

क्वारेन्टिन