समाज

बजार क्षेत्रमा क्वारेन्टिन राख्ने निर्णय सच्याउन माग

भेरीगंगा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयले बजार क्षेत्र नजिकै भारतबाट आउने नागरिकहरुलाई राख्ने निर्णय सच्याउन कर्णाली प्रदेश सरकारसँग अनुरोध गरेका छन्। प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु नजिकैको मदाने चौर, मेला लाग्ने चौर र शारदा माविमा क्वारेन्टाइन र नगरपालिकाको कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकीमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो।  

प्रदेश सरकारको निर्णयसँगै नेपाली सेनाले उल्लेखित ठाउँमा क्वारेन्टाइन निर्माणको काम गरेको छ। जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयको सर्वपक्षीय बैठकले प्रदेशको मुख्य नाका बबईमै क्वारेन्टाइन र स्क्रिनिङ सेन्टर स्थापना गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ। ‘भारत तथा संक्रमित जिल्लाहरुबाट आउने नागरिकहरु बजार क्षेत्रमा राख्दा कारोनाको संक्रमण बढ्ने भएकाले बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने बबईको खाली जमिनमा क्वारेन्टाइन र स्क्रिनिङ सेन्टर स्थापना गर्न प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ,’ सर्वपक्षीय बैठकको निर्णय सुनाउँदै भेरीगंगा नगरपालिकामा मेयर भुपेन्द्रबहादुर चन्दले भने, ‘अहिले निर्माण भइरहेको क्वारेन्टाइनको काम तत्काल रोक्न पनि सरोकारवालाहरुलाई अनुरोध गरेका छौं।’

बैठकले भेरीगंगा नगरपालिकासँग सीमा जोडिएका प्रदेश ५ का बर्दिया र बाँकेका कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकाले रत्न राजमार्गमा आवत–जावत गर्ने सवारी साधनलाई नगर क्षेत्रभित्रका कुनै पनि स्थानमा रोक्न नदिने निर्णय पनि गरेको छ।  

‘अर्को निर्णय नभएसम्मका लागि भेरीगंगा नगरपालिकाका नागरिक र बासिन्दाबाहेक कुनै पनि व्यक्तिहरुलाई नगरपालिकात्रि घुमफिर गर्न, बसोबास गर्न, पैदल हिँड्न रोक लगाउने निर्णय भएको छ,’ मेयर चन्दले भने, ‘राजमार्गका हकमा भने संघीय सरकार र प्रदेश सरकारको अनुमति लिएर सञ्चालनमा रहेका सवारी साधनहरु भेरीगंगा नगरपालिकाको कुनै पनि स्थानमा नरोकी सञ्चालन गर्न दिन हामी सहमति जनाउँदछौं।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी यज्ञ ढकालले बस्तीको बीचमा क्वारेन्टाइन उपयुक्त नहुने बताए। उनले प्रदेश सरकारलाई स्थानीय तहले विकल्पसहित जवाफ दिनुपर्ने बताए। ‘घना बस्तीको बीचमा क्वारेन्टाइन स्थापना गरेर भारतबाट आउने नागरिक राख्दा कोरोना संक्रमणको जोखिम बढ्छ,’ उनले भने, ‘विकल्पसहित स्थानीय तहले प्रदेश सरकारलाई पत्राचार गर्नुपर्छ।’ उनले कोरोना संक्रमण रोक्नका लागि तीन तहकै सरकारको समन्वय र सहकार्य आवश्यक देखिएको बताए।  

‘ठाउँ छनोट गर्दा पनि तीन तहका सरकारबीच समन्वय हुनुपर्छ,’ उनले भने, ‘बस्तीको बीचमा क्वारेन्टाइन राख्दा कर्णालीमा कोरोना संक्रमण रोकिने भन्दा फैलिने भएकाले एकान्त र उपयुक्त ठाउँ छनोट गर्नु आवश्यक छ।’

नेपाली कांग्रेसका नगरसभापति बेदु गिरीले बस्तीको बीचमा भारत र कोरोना संक्रमित जिल्लाहरुबाट आउने नागरिकहरु राख्नु मुर्खता हुने बताए। स्थानीय सरकारसँग सल्लाह र समन्वयनै नगरेर बस्तीको बीचमा क्वारेन्टाइन निर्माण भइरहेको बताउँदै उनले तत्काल यो कार्य नरोके आन्दोलन गर्नेै चेतावनी दिए। ‘भारत र कोरोना प्रभावित क्षेत्रबाट आउने नागरिकहरु राख्नका लागि प्रदेशको मुख्य नाका बबई उपयुक्त स्थान हो,’ नगर सभापति गिरीले भने, ‘छिन्चु आसपासमा हामी कुनैपनि हालतमा क्वारेन्टाइन स्थापना गर्न दिँदैनौं।’

प्रकाशित: ७ जेष्ठ २०७७ १५:०३ बुधबार

क्वारेन्टिन