समाज

क्वारेन्टिनमै संक्रमणको खतरा

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा विद्यालय, सामुदायिक भवन, खाली भवनहरुमा बाहिरबाट आएका नागरिकलाई बसाउन क्वारेन्टिन बनाइएको छ ।  सुदूरपश्चिम प्रदेशमा १० हजार दुईसय ९६ बेडको क्वारेन्टिन रहेको सुदूरपश्चिम स्वासथ्य निर्देशानालयको तथ्यांकले देखाएको छ ।  मंगलबार कैलालीमा ५६७, कञ्चनपुरमा ३१० , डोटीमा ९, बैतडीमा २६१ बझाङमा १४०, बाजुरामा ७१, अछाम ११३, डडेल्धुरामा ११९ र  दार्चुलामा  ८९ जना गरी  १ हजार ६ सय ७९  जना क्वारेन्टिनमा बसेका छन् ।

कुनै स्थानीय तहले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र खाना बनाउन अलग्गै जनशक्ति परिचालन गरेको छ भने अधिकांश क्वारेन्टिनमा बसेकाहरुले पालैपालो खाना बनाउने गरेका छन् । अलगअलग ठाउँबाट आएका उनीहरुसँगै खाना खाँदा स्वास्थ्य व्यक्तिलाई पनि संक्रमणको सम्भावना भएको बार एसोसिएसन बैतडीका सचिव अधिवक्ता लक्ष्मीदत्त पाण्डेयले बताए ।

बैतडीका स्थानीय तहले निर्माण गरेका अधिकांश जिल्लाका क्वारेन्टिन मापदण्ड अनुसार छैनन् । एउटै शौचालय, एउटै धारा प्रयोग गर्दा क्वारेन्टिनबाट संक्रमणको जोखिम देखिएको स्वास्थ्यकर्मी बताउँछन् । भारतले लकडाउन खुकुलो गर्दै घर फर्कनेलाई सजिलो बनाएपछि भारतका विभिन्न ठाउँमा काम गर्दै आएका नेपाली फर्कनेक्रम दिनहुँ बढदै गएको छ । अझै गौरीफन्टा, पलिया, बनबासा, झुलाघाट, धार्चुला लगायतका सीमावर्ती क्षेत्रमा नेपाल फर्कने प्रतिक्षामा हजारौंको संख्यामा छन् । 

भारतका रेडजोन एरियाबाट आएकाहरुबाट नेपालमा संक्रमण देखिएकाले सुदूरपश्चिममा पनि जोखिम बढ्दै गएको छ । धेरैलाई उद्धार गरी सम्बन्धित स्थानीय तहमा पठाइएको छ । धनगढीको त्रिनगर नाकाबाट ल्याइएका नेपालीहरुलाई सम्बन्धित स्थानीय तहकोसमन्वयमा पठाउने गरिएको धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले बताए । समन्वय हुन नसकेका ठाउँका नागरिकलाई यहाँकै क्वारेन्टिन मा राखेर स्वास्थ्य जाँचपछि पठाउने गरिएको उनले बताए ।

सुदूरपश्चिममा पाँचजना कोरोना संक्रमित देखिएका थिए । कैलालीमा चार र कञ्चनपुरमा एक जना संक्रमित उपचारपपछि कोरोना जितेर घर फर्किका छन् । पछिल्लो समय सुदूरपश्चिममा कोरानो संक्रमित नदेखिएपनि विदेशबाट आउने र अन्यलाई जाँचको दायरा बढाउँदा भेटिन सक्ने सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए ।

जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा एकरात ढोकामै प्रहरीले ताला लगाउनु पर्यो । क्वारेन्टिनमा बसेकाहरु भाग्ने धम्की दिन थालेपछि प्रहरीले सुरक्षाको लागि ताला लगायो । कतिपय क्वारेन्टिनका ढोका नै छैनन भने ढोका भएका कोठामा चुकुल छैनन् । जंगली जनावर पस्ने खतरा एकातिर छ भने महिलाहरु माथि बलात्कारका घटना पनि हुन सक्ने नागरिक समाज बैतडीका अगुवा करन दयालले बताए ।

बैतडीमा  प्रत्येक स्थानीय तहमा एकसय बेडको क्पारेन्टिन बनाउने निर्णय गरेको छ । तर अधिकांश स्थानीय तहले मापदण्ड अनुरुप व्यवस्थापन गर्न सकेन । अलगअलग ठाउँमा अव्यवस्थित ढंगका क्वारेन्टिनले संक्रमणको जोखिम बढाएको छ । अव्यवस्थित क्वारेन्टिनमा बस्दा कोरोना भाइरसको जोखिम बढेको छ । अन्य जिल्लाबाट आएका र भारतबाट आएका एउटै क्वारेन्टिनमा राख्दा अझ जोखिम बढेको हो । एउटै शौचालय, एउटै धारा र साबुन, सेनिटाइजर प्रयाप्त नहुँदा जोखिम निम्ताउन थालेको छ ।

यदि एक जनामा संक्रमण देखियो भने सबैलाई सर्न सक्छ, ‘भारतबाट सुरक्षित आयौं,’ दशरथचन्द नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१२  मुगुका सागर रोकायाले भने, यहाँ सबै जनालाई एउटै ठाउँमा राखिएको छ । अब संक्रमण हुने डर छ ।’ क्वारेन्टिनमा बस्ने सद्दे मान्छेपनि बिरामी हुने खतरा बढेर गएको छ । क्वारेन्टिनमा सुत्ने, खाने, दिन बिताउने र मनोरञ्जनका सामग्रीको अभाव मात्रै होइन, एउटै शौचालयमा भीड लगाएर जानुपर्ने बाध्यतासमेत छ ।

भारतबाट आएका पुर्चौडी नगरपालिकाले करिब नौसय जना १४ दिन क्वारेन्टिनमा बसेर आरडिटी गर्दे घर पठायो । आरडिटी नेगिटिम आएपनि उनीहरु ढुक्क छैनन् । वडा नं. ४ को महादेव मावि, बागामा ६८ जनासँगै बसेका थिए । आरडिटी नेगिटिभ आएपनि सँगै बस्दा कतै अरुबाट संक्रमितको आशंकाले चैनसँग बस्न नसेको दीपक धानुकले बताए ।

क्वारेन्टिनमा हुनुपर्ने न्यूनतम मापदण्डसमेत नहुँदा समस्या भएको छ ।  क्वारेन्टिनमा बसेकाहरूबीच सामाजिक दूरी पालना गरिएको छैन । अधिकांश क्वारेन्टिनमा एउटैै कोठामा कोचिएर बस्ने गर्छन । कोरोना रोकथाम तथा नियन्त्रण समितिले क्वारेन्टाइन अनुगमन गरेर सुधारको लागि सुझाव दिँदै आएको बैतडीका प्रजिअ आनन्द पौडेलले बताए ।

प्रकाशित: ७ जेष्ठ २०७७ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App