समाज

नियमित औषधि सेवनकर्तालाई निःशुल्क वितरण गर्दै भागेश्वर गाउँपालिका

भागेश्वर गाउँपालिकाको कार्यालय बगरकोट डडेल्धुरा ।

भागेश्वर गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका स्थानीयलाई निःशुल्क औषधि वितरण गरिरहेको छ । लकडाउनका समयमा औषधिको सहजताका लागि दिर्घरोगी (नियमित रुपमा) औषधि सेवन गरिरहेका गाउँपालिकाका डेढ सय बढीलाई निःशुल्क औषधि वितरण गरिरहेको हो ।  

औषधिको आपुर्ती गरी गाउँपालिकाले गाउँपालिकामा रहेका तीन वटा स्वास्थ्य चौकीबाट स्थानीयलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन् ।  

लकडाउनका समयमा स्वास्थ्य उपचार क्षेत्रमा नियमित औषधि सेवन गरिरहेका स्थानीय मारमा परेका छन । उनले भनिनु, १५ देखि ८० वर्ष उमेरसम्मका एक सय ५० स्थानीयहरु नियमित औषधि सेवन गरिरहेको तथ्यांक हामिसंग छ । उनिहरुको सहजताका लागि गाउँपालिकामा रहेका तीन वटा स्वाथ्य चौकीबाट निःशुल्क रुपमा औषधि उपलब्ध गराउन थालेका छौ ।  

६५ पुरुष र ८५ महिला गरी गाउँपालिकामा डेढ सय जना नियमित रुपमा औषधि सेवन गरिरहेका छन् । स्वास्थ्य चौकीबाट अहिलेसम्म एक सय २२ जनाले औषधि लगेको स्वास्थ्य संयोजक मानबहादुर साहुले बताए ।  

लकडाउनलाई मध्यनजर गर्दै भागेश्वर गाउँपालिकाले स्थानीयलाई सहज रुपमा खाद्यान्न उपलब्ध गराउन सबै वडामा सुपत मूल्य पसल सञ्चालन गरेको थियो । खाद्यान्नमा १५ प्रतिशत छुट दिई सबै वडामा सुपत मूल्य पसल सञ्चालन गरेको थियो । भागेश्वर गाउँपालिकामा पाँच वटा वडा रहेका छन् ।  

प्रकाशित: ७ जेष्ठ २०७७ ११:२३ बुधबार

कोभिड १९ लकडाउन