समाज

न्युनतम मापदण्ड पुरा नगरेका क्वारेन्टिनबाट संक्रमण फैलने डर

फाइल तस्बिर

 प्रदेश नं.– ५ मा सातसय १० वटा क्वारेन्टिन छन। २३ हजार ५९५ बेड  क्षमता छ। हाल १४ हजार २८१ जना क्वारेन्टाइनमा छन। तुलनात्मक रुपमा यो प्रदेशमा क्वारेन्टाइनमा बस्ने सख्या बढी भएपनि सिमावर्ती क्षेत्रका क्वारेन्टाइन र पहाडी जिल्ला सदरमुकाम बाहिर रहेका क्वारेन्टाइनको अवस्था बिजोग छ।  

न्युनतम मापदण्ड बिनै क्वारेन्टाइनका नाममा स्कुल खुलाचौर र धर्मशालामा भारतबाट फर्केकालाई राखिएको छ। भारतबाट आउनेको सख्या हरेक दिन बढिरहेको छ। समयमै क्वारेन्टाइन व्यवस्थापन र क्षमता बिस्तारमा नलाग्दा अहिले संकट उत्पन्न हुन थालेको छ। एउटै कोठामा दर्जनौलाई सामाजिक दुरी कायम नगरी राखिएको छ।  स्वास्थ्यकर्मीको उचित निगरानी छैन। उचित व्यवस्थापन र परिक्षण नहुँदा क्वारेन्टाइनबाटै संक्रमण फैलिन सक्ने अवस्था रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।  

रुपन्देहीको सम्मरीमाइ  गाउँपालिका– ५ मा रहेको धर्मशालाको सभाहलमा ५३ जना छन। हलमा ५३ वटा बेड राख्दा सामाजिक दुरी कायम नभएको स्थानीय निरञ्जन पाठकले बताए।  क्वारेन्टाइनमा सौचालय समेत छैन। धर्मशाला र गाउँको बिचमा रहेको खेत र कुलोमा बिहानै क्वारेन्टाइनमा बसेकाहरु सौचका लागि लाम लागेको देखिन्छ। जेठको गर्मीमा हलभित्र पंखा र  झुल छैन। क्वारेन्टाइनमा बसेकाहरुलाई गर्मी र लामखुट्टेले सास्ती दिएपछि चौरमा सुत्ने गरेको पाठकले बताए।

सम्मरीमाइकै मुडिला मावि करौता र रोहीणीहवा तथा  पिपरीवरवासी आधारभुत विद्यालयमा बनाइएका क्वारेन्टिनमा पनि साँघुरा कोठामा धेरैजना राखिएको छ। झ्यालका जाली च्यातिएका छन। ढोका राम्रोसंग लाग्दैन। सौचालयमा पानी छैन। क्वारेन्टाइन वरपर झाडी छ। लामखुट्टे र सर्पको बिगबिगीले आफुहरु सुत्नै नसकेको क्वारेन्टाइनमा बस्नेको गुनासो छ।  

रुपन्देहीमै सीमित क्वारेन्टाइनहरुमा मात्रै न्युनतम मापदण्ड पुराभइ सञ्चालनमा रहेको जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बताए। लकडाउन सुरु भएको पचासौ दिनसम्म ५०/६० बेडको क्वारेन्टाइन बनाएर बसेका रुपन्देही, कपिलबस्तु, बाँके, नवलपरासी र बर्दियाका दक्षिणी क्षेत्रका स्थानीय तहले भारतबाट आउनेहरु थपिदै गएपछि विद्यालय भवनलाई क्वारेन्टाइन बनाइएका हुन। ती स्थानमा न्युनतम मापदण्ड अनुरुप क्वारेन्टाइन छैन। रुपन्देही र कपिबलस्तुका केही क्वारेन्टाइनमा  बस्नेलाई घरबाटै खानाको व्यवस्थापन गरेको छ। भारतमा कोरोना फैलिएको सहरबाट आएका ब्यक्तिको परिक्षण नहुँदै खाना लिएर जाने परिवारको सदस्यसमेत जोखिम रहेको स्थानीयले बताएका छन्। नवलपरासीका क्वारेन्टाइनपनि पछिल्लो समय भारतबाट आएका ब्यक्तिहरुले भरिन थालेको छ। अझैपनि पारीबाट आउनेक्रम रोकिएको छैन। क्वारेन्टाइनमा बसिरहेका ब्यक्तिको परिक्षण र बस्ने स्थानको अभाव हुन थालेपछि संक्रमण फैलिने चिन्ता बढेको स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरब ढकालले बताए।  

क्वारेन्टाइन सबैभन्दा धेरै कपिलबस्तुमा सातहजार ४५१ जना  छन। जिल्लाका १८५ वटा क्वारेन्टाइनमा आठहजार ७८५ बेड क्षमता रहेको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ। रुपन्देहीमा ६२ वटा क्वारेन्टइनमा तीनहजार दुईसय जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक केदारनाथ शाहले बताए। कोरोनाको हटस्पट बनेको बाँकेमा ४२ वटा क्वारेन्टाइनमा एकहजार ५० बेड रहेको छ। त्यहाँ एकहजार २६० जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए।

 

प्रकाशित: ७ जेष्ठ २०७७ १०:२६ बुधबार

क्वारेन्टिन