समाज

कोरोनाविरुद्ध एकजुट हुन आग्रह

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कोरोना संक्रमित भेटिएको विषयमा सामाजिक सञ्जालमा अनावश्यक बादबिबादमा नउत्रन आग्रह गरिएको छ । लकडाउनको बीचमा काठमाडौंबाट घर ल्याइएका एक युवालाई कोरोना संक्रमण भएको पुष्टी भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा उत्रिएर नकरात्मक धारणा फैलाउने काम भएको भन्दै नगरपालिका तथा नगरपालिकाका चार राजनैतिक दलले संयुक्त विज्ञप्तीमार्फत नकरात्मक टिका–टिप्पणी नगर्न/नगराउन आग्रह गरेको हो ।

मेयर इवन राई, नेकपाका प्रतिनिधि डिल्ली चाम्लिङ, कांग्रेसका प्रतिनिधि चक्रकुमार राई, समाजवादी पार्टीका प्रतिनिधि मबिन्द्र राई र राप्रपाका प्रतिनिधि पेशल बस्नेतले बुधबार जारी गरेको विज्ञप्तीमा आरोप–प्रत्यारोपको सट्टा सकरात्मक बनेर कोरोना भाइरसविरुद्ध एकताबद्ध हुन आग्रह गरिएको छ । ‘एक जनाको पोजिटिभ रिपोर्ट देखिएको विषयलाई लिएर नकरात्मक धारणा फैलाउने, घृणा पैदा गर्ने र कार्य सम्पादनमा हतोत्साहित बनाउनेजस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘लकडाउनको कारण जोखिममा परेका नगरबासीलाई सर्वदलीय सहयोगमा उद्धार गरिएको विषयलाई सामाजिक सञ्जालमा नकरात्मक टिकाटिप्पणी नगर्न÷नगराउन अनुरोध गर्दछौँ ।’  

संक्रमण भित्रिने भएकाले काठमाडौंमा बसिरहेका व्यत्तिीलाई गाउँमा ल्याउन नहुने तथा लकडाउनका कारण काठमाडौंमा बसिरहेका सर्वसाधारणको अवस्था नाजुक भएकाले उद्धार गरेर गाउँ ल्याउनुपर्ने दुई थरी धारणाका बीचमा बैसाख ५ गते नगरपालिकामा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले काठमाडौंमा बसिरहेका व्यक्तिलाई गाउँ ल्याउने निर्णय गरेको थियो ।

सो सर्वदलीय निर्णय अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्ने शर्तमा लकडाउनको मारमा परेका १ हजार २६७ नागरिकलाई काठमाडौंबाट बैसाख ११ र १२ गते नगरपालिका भित्र्याइएको थियो । बा ४ ख २२११ नम्बरको बसमार्फत घर आएका युवालाई कोरोना संक्रमण भएको पुष्टी भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा दोहोरी चलिरहेको छ । काठमाडौंबाट नगरबासीलाई घर पठाउन युवा नेता रमेश पौडेल, जितेन्द्र ठकुरी, राजुबिक्रम चाम्लिङ, दयाराम राई लगायतले समन्वय गरेका थिए ।  

नगरपालिका तथा नगरपालिकामा अस्तित्वमा रहेका राजनैतिक दलका नेताले अनावश्यक टिकाटिप्पणीमा समय बिताउनुभन्दा कोरोना संक्रमणको जोखिम न्यूनीकरणमा समय खर्च गर्न आग्रह गरेको मेयर राईले बताए । ‘कोरोना रोकथाम तथा नियन्त्रण गर्नु सबैको दायित्व हो । यो सबैको परीक्षाको घडी पनि हो,’ मेयर राईले भने, ‘सामाजिक सञ्जालमा नकरात्मक धारणा फैलाउने र घृणा पैदा गर्ने काम छाडेर महामारीविरुद्ध उभिनु सबैको दायित्व हो ।’ 

प्रकाशित: ७ जेष्ठ २०७७ ०९:४६ बुधबार

कोभिड १९ कोरोनाभाइरस