समाज

२ नम्बर प्रदेशमा प्रत्येक जिल्लामा कोरोना विशेष अस्पताल निर्माणको माग

राहत दुरुपयोग

कोरोना भाइरसको अत्यन्त जोखिममा रहेको २ नम्बर प्रदेशमा प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथाममा र उपचार विशेष ध्यान नदिएको बताउँदै नेकपा प्रदेश सभा संसदीय दलका प्रदेश नम्बर २ का नेता सत्यनारायण मण्डलले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।  

नेकपा स्थायी समीति सदस्य तथा प्रदेश २ का इन्चार्ज समेत रहेका मण्डलले प्रदेश दुई सरकारले प्रदेशमा बढ्दै गइरहेको कोरोना महामारीको जोखिमलाई नियन्त्रण, रोकथाम र उपचारमा योजनासाथ लाग्नुपर्नेमा सरकार गम्भीर नभएको औंल्याएका छन् ।

नेता मण्डलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै हाल प्रदेश २ मा मात्र कोरोना संक्रमितको संख्या एक सय ७ पुगेको भन्दै उनले प्रत्येक जिल्लामा एकएक ओटा कोरोना विशेष अस्पतालको व्यवस्था तत्काल गर्नुपर्ने सरकारसँग माग गरेका छन् । उनले आठ बुँदे विज्ञप्ति जारी गर्दै सरकारले उनले सबै जिल्ला सदरमुकाम र उपमहानगरपालिकाहरुमा कोरोना जाँच केन्द्रको स्थापना गर्नुपर्ने, स्थानीय पालिकाहरुको समन्वयमा आवश्यक आइसोलेसन क्वारेन्टिनको व्यवस्था हुनुपर्ने, प्रदेशका सबै जिल्लाहरु भारतीय सिमानासँग जोडिएकोले निगरानीसहित फर्कन सक्ने नागरिकका लागि क्वारान्टाइनको व्यवस्था प्रदेश सरकारले गरिनुपर्ने माग गरेका छन् ।

प्रदेश सरकारबाट वितरण गरिएको राहत आधा अधुरो भएकोले बडाहरुको तथ्यांक संकलन गरी त्यसअनुसारको राहत वितरणको व्यवस्था गरिनुपर्ने माग गरेका छन् । अत्यावश्यक कार्यमा खटिने स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी पत्रकार सबैलाई सुरक्षा सामाग्री उपलब्ध गराइनुपर्ने र कृषिका लागि सिँचाइ, बिउबिजन र विशेष राहत प्याकेजको घोषणा गरिनुपर्ने माग उनले गरेका छन् ।  

नेता मण्डलले प्रदेश सरकारले कोरोना रोकथान र व्यवस्थापनमा २ अर्बभन्दा बढी रकम खर्च गरिसके  पनि त्यस अनुसारको उपलब्धि नदेखिएको स्पष्ट पारेका छन् । ‘प्रदेश २ सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि विभन्नि शीर्षकमा २ अर्बभन्दा बढी रकम निकासा गरिसकेको छ,’ उनले नागरिकसँग कुरा गर्दै भने ‘तर त्यो रकम कहाँ र कसरी खर्च गरिएको छ । 

कुनै विवरणनै प्रदेश सरकारले दिँदैन ।’ उनले थपे ‘८ जिल्लाका वडाहरुमा कति नागरिक छन् यकिन गरेको छैन । हचुवाको भरमा चिनजानलाई राहतका पोकाहरु बाँडिरहेको छ । राहतकै दुरुपयोग भइरहेको छ ।  हाम्रो पाटी नेकपा संसदीय दलले संयुक्त बैठकहरुमा पटकपटक आफनो विचार र सुझाव राख्दै आएको छ’ उनले संंघीय सरकारले उपलब्ध गराएको कोरोना उपचार, रोकथाम, नियन्त्रण लगायतको रकममा समेत अनियमितता भएको औंल्याए । 

‘मेरो सप्तरी जिल्लाको राजविराज अस्पताल बेवारिसे छ । केन्द्र सरकारसँग समन्वय गरेर त्यसलाई कोरोना विशेष बनाउन सकिन्छ ।’ अझै प्रदेश २ मा कोरोना जाँच गर्ने किट पुगेको छैन । त्रासको वातावरणमा बाँच्नुपरेकोले उनले तत्काल कोरोना परीक्षणको व्यवस्था गर्नगराउन माग गरेका छन् ।  

प्रकाशित: ७ जेष्ठ २०७७ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App