समाज

क्रिमसन अस्पतालले भन्याे, 'मृत्युको झुटो खबर फैलाइयो'

रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पताल ।

रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारत गुल्मीका शिक्षकको स्वास्थ्य अवस्था गम्भिर रहेको र उपचार भइरहेको अस्पतालले जनाएको छ । मदाने गाँउपालिका–६ का ४१ वर्षिय ती बिरामीको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । ती बिरामीलको अहिले पनि आइसीयु कक्षमा भेन्टिलेटर सहयोगमा उपचार भइरहेको छ। उनको अवस्था भने गम्भिर रहेको अस्पतालले भर्खरै जारी गरेको बिज्ञप्तीमा जनाइको छ ।  

आज बिहानै देखि क्रिमसन अस्पतालमा उपचारत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्ने खबर सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा आएपछि अस्पतालले विज्ञप्ती जारी गरेर उनको मृत्युको खबर झुटो भएको पुष्टि गरेको हो । भेन्टिलेटरमा उपचारत बिरामीको स्वास्थ्य अवस्था गम्भिर रहेको र उनको उपचार जारी रहेको भन्दै भ्रमक खबरको पछि नलाग्न अस्पताल प्रशासनले जारी गरीएको विज्ञप्तीमा सबैलाई आग्रह गरीएको छ ।

बिरामीको स्वास्थ्यको कामना गरी उनी लगायत परिवारलाई समेत हौसला दिनु पर्ने बेला जीवीतै बिरामीको मृत्यु भएको भनेर झुटो खबर फैलाउँदा बिरामी र तीनका परिवार तथा  आफन्तमा पर्ने पीडा र असरलाई ख्याल गरीदिन अस्पतालले सबैसंग आग्रह गरेको छ ।  

यसअघि प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बराल,तिलोत्तमा नगरपालिकाका मेयर बाशुदेव घिमिरे र स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाकै भनाई भन्दै केही सञ्चार माध्यमहरूमा क्रिमसनमा उपचारत कोरोना संक्रमितको मृत्यु भएको भन्दै समाचार आएको थियो । प्रदेशका सामाजिक विकास मन्त्री शुर्दशन बरालले आफुले बिरामीको अवस्था चिन्ताजनक भएको बताएपनि संचारमाध्यमले कुरा घुमाएर मृत्यु भएको भन्ने भ्रामक समाचार छापेको भन्दै प्रतिक्रिया दिएका छन्।  

जण्डिस र ज्वरो आएपछि ती बिरामीलाई परिवारले जेठ १ गते अर्घाखाँची हुँदै उपचारकालागि बुटवल ल्याएका थिए । उनलाई गुल्मीबाट अर्घाखाँचीको सन्धिखर्क स्थित छाया पोलीक्लिनीकमा उपचारकालागि लगिएको थियो ।

उपचारका क्रममा छातीमा समस्या देखिएपछि त्यहाँबाट बुटवल पठाइएको क्लिनीकले जनाएको छ । क्रिमसन अस्पतालमा ल्याएकै दिन देखि उनलाई आइसीयुमा राखेर उपचार भइरहेको र स्वास प्रस्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखिएको हो । कोरानासंग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पतालमै जेठ २ गते उनको थ्रोट स्वाब परीक्षणकालागि पठाइएको थियो । जेठ ५ गते रिर्पोटमा कोराना पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्र गिरीले बताए ।

कोरोना पोजेटिभ देखिएका ती बिरामीको ‘ट्राभल हिष्ट्रि’ नभेटिएकाले कसरी र कहाँबाट सर्याे भन्ने बिषयमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा कोरोना संक्रमण देखिएको यो पहिलो केस हो । एम्बुलेन्सबाट कोरोना सरेको हुन सक्ने अनुमान गरिएपनि अध्ययन भइरहेको कार्यालयले जनाएको छ ।  

ती बिरामीमा कोरोना पोजेटिभ रिर्पोट आएपछि अस्पतालमा कार्यरत २६ जना चिकित्सक नर्स तथा कर्मचारी सहित तीन जना भिजिटरको स्वाब परीक्षणकालागि पठाइएको छ । बिरामीको सम्पर्कमा रहने र जोखिममा रहेका २९ जनालाई अहिले अस्पताल भित्र क्वारेन्टिनमा राखिएको छ । त्यसबाहेक अन्य ७० जना स्वास्थ्यकर्मी सहितका कर्मचारी पनि क्वारेन्टिनमा छन्।  केही कर्मचारीलाई भने होम क्वरेन्टिनमा  राखिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल क्षेत्रलाई शिल गरीएको छ ।

प्रकाशित: ७ जेष्ठ २०७७ ०८:०३ बुधबार

सङ्क्रमित काेराेना भाइरस