समाज

अधिकतर क्वारेन्टिन अस्तव्यस्त

विदेशबाट आएका र यहीं भएका कोरोनाका शंकास्पद संक्रमितलाई राख्नका लागि व्यवस्था गरिएका धेरैजसो क्वारेन्टिन अव्यवस्थित छन्। केही क्वारेन्टिन सुविधा सम्पन्न भए पनि प्रायः क्वारेन्टिन व्यवस्थित छैनन्।

स्थानीय तहहरूले अधिकतर क्वारेन्टिन विद्यालयमा सञ्चालन गरेका छन्। विद्यालयको भौतिक पूर्वाधारको अवस्था कमजोर भएका कारण यस्ता विद्यालयमा सञ्चालनमा ल्याइएका क्वारेन्टिन मापदण्डअनुसार हुन नसकेका हुन्। प्रदेश १ मा प्रदेश सरकार र स्थानीय तह दुवैले क्वारेन्टिनको व्यवस्था गरेका छन्। प्रदेश १ मा हालसम्म तीन सय २४ स्थानमा क्वारेन्टिनको व्यवस्था गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश १ मा तीन सय २४ स्थानमा ६ हजार एक सय ७० शड्ढयाको क्वारेन्टिन तयार भइसकेको छ। यी क्वारेन्टिनहरूमा हालसम्म नौ सय ५३ जनालाई राखिएको छ। प्रदेश १ मा होम क्वारेन्टिनमा राखिएका व्यक्तिहरूको संख्या आठ हजार पाँच सयभन्दा बढी छ।  

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीका अनुसार प्रदेश १ मा आठ हजार पाँच सय ६० जना होम क्वारेन्टिनमा बसेका छन्। स्थानीय तहबाहेक प्रदेश सरकारले पनि आफ्नै व्यवस्थापनमा क्वारेन्टिनको व्यवस्था गरेको छ। प्रदेश सरकारले मोरङको गोठगाउँ, झापा, उदयपुर र धरानस्थित सैनिक स्कुलमा क्वारेन्टिनको व्यवस्था गरेको छ। यस्तै, भारतबाट आउने नेपाली नागरिकहरूका लागि भारतसँग सीमा जोडिएका चार जिल्लामा होल्डिङ एरियासमेत निर्माण गरेको छ। सुनसरी, मोरङ, झापा र इलाममा होल्डिङ एरिया निर्माण गरिएको मन्त्री कार्कीले जानकारी दिए।

 कार्कीले भने, ‘भारतबाट आउने नेपाली नागरिकका लागि प्रदेशका चार स्थानमा होल्डिङ एरिया निर्माण गरिएको छ। प्रदेश सरकारले हाल एक हजार चार सय ९५ शड्ढयाको होल्डिङ एरिया निर्माण गरिसकेको र अन्य निर्माणको क्रममा रहेका छन्। प्रदेश सरकारले निर्माण गरेको होल्डिङ एरियामा हाल भारतबाट आएका ६४ जना राखिएको छ। क्वारेन्टिनका लागि मापदण्ड नै तोकेर कार्यान्वयनमा ल्याइएको मन्त्री कार्कीले बताए। केही स्थानका क्वारेन्टिनको पूर्वाधारमा कमी–कमजोरी भए त्यस्ता कमजोरी सुधार्दै लगिने कार्कीले स्पष्ट पारे।

ताप्लेजुङमा नौ स्थानीय तह र तीन विभागीय कार्यालयमासमेत गरी ताप्लेजुङका २८ स्थानमा १ सय ७९ शड्ढयाको क्वारेन्टिन तयार छ। तर ती सबै स्थानमा तयार भएका क्वारेन्टिनमा नेपाल सरकारले तोकेको पूरापूर मापदण्ड भने पुगेका छैनन्। नेपाल सरकारले स्वीकृत गरेको क्वारेन्टिन व्यवस्थापन मापदण्ड २०७६ मा सबै क्वारेन्टिन स्थलमा फ्री वाइफाई, क्वारेन्टिनमा बसेका सबै व्यक्तिलाई आ–आफूले प्रयोग गर्न पाउने गरी शौचालय, स्वास्थ्यकर्मी तथा चिकित्सकको नियमित निगरानी रहनुपर्नेलगायत व्यवस्था रहेको छ।

वाइफाईको सहज पहुँच फुङलिङ नगरपालिका, सिदिङ्वा गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाका क्वारेन्टिनमा मात्र पूरा हुने अवस्था छ। सबैभन्दा महत्वपूर्ण कुरा त क्वारेन्टिनमा बसेका सबै सदस्यलाई जनही रूपमा पुग्नुपर्ने शौचालय र स्वास्थ्यकर्मी तथा चिकित्सकको नियमित निगरानीको न्यूनतम मापण्ड नै यहाँका सबै क्वारेन्टिनमा पुग्दैन। स्थानीय तहका केन्द्रमा स्थापना भएका र नजिकै स्वास्थ्य संस्था भएका क्षेत्रमा बाहेक अन्यमा स्वास्थ्यकर्मी तथा चिकित्सकको नियमित निगरानी असम्भव देखिन्छ भने प्रत्येक व्यक्तिलाई पुग्ने गरी एक–एकवटा शौचालयको मापदण्ड त जिल्लाभरका कुनै पनि क्वारेन्टिनमा पुगेको देखिँदैन। 

क्वारेन्टिन छ भन्ने देखाउनका लागि बेन्च जोडेर त्यसमाथि फम ओछ्याएर बनाइएका शड्ढयामा सुत्न र बस्न निकै असहज हुने गरेको छ।

जिल्ला कोराना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी क्वारेन्टिनमा अस्थायी शौचालयको व्यवस्थापन र भरसक एउटै केन्द्रमा शड्ढया संख्या थपेर स्वास्थ्यकर्मी तथा चिकित्सकको पहुँच स्थापित गर्न सके मादण्डका न्यूनतम आधारलाई टेक्न सकिने बताउँछन्। थोरै जनशक्ति र भौगोलिक हिसाबले विकट र दुर्गम स्थान भएका क्षेत्रमा वाइफाई, जनहीलाई शौचालय र प्रत्येक क्वारेन्टिन केन्द्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी असम्भव रहेको हुने अवस्था रहेको उनले अनुमान लगाए। यो अवस्थामा एकै ठाउँ वा नजिक क्वारेन्टिन केन्द्र बनाएर शौचालय तथा नुहाउनेस्थलसहितका लागि अस्थायी संरचना बनाउने हो भने क्वारेन्टिनका मापण्डलाई क्रमशः भेट्न सकिने उनको भनाइ रहेको छ।  

खोटाङमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि खोटाङका १० स्थानीय तहमा ६ सयभन्दा बढी बेडको क्वारेन्टिन बनाइएको छ। तर त्यही क्वारेन्टिन मापदण्ड अनुसार बनाइएका छैनन्। ‘काम चलाउ’ क्वारेन्टिन कोठामा सुत्नका लागि बनाइएका ओछ्यानजस्ता देखिन्छन्। कतिपय विद्यालय वा स्वास्थ्य चौकीको सिमेन्टेड भवनको कोठामा आफूखुसी बनाइएका क्वारेन्टिन चिसो हुने गरेको क्वारेन्टिनमा बस्ने स्थानीयको गुनासो छ।

एउटा हलमा लहरै शड्ढया बनाएर राखिएको क्वारेन्टिनमा कुनै एक जनालाई संक्रमण भएको अवस्थामा अन्यलाई संक्रमण सर्ने जोखिम छ। क्वारेन्टिन छ भन्ने देखाउनका लागि बेन्च जोडेर त्यसमाथि फम ओछ्याएर बनाइएका शड्ढयामा सुत्न र बस्न निकै असहज हुने गरेको उनीहरू बताउँछन्। कतिपय ठाउँमा पानी, बाथरुम, शौचालयको सहज व्यवस्था नहुँदा क्वारेन्टिनमा बस्ने सर्वसाधारणलाई थप पीडा हुने गरेको छ।

कतिपय क्वारेन्टिनमा सम्बन्धित स्थानीय तह वा वडाले खाना, खाजा, चियाको व्यवस्था गरिदिएको भए पनि कुनै क्वारेन्टिनमा आफैंले खाजा, नास्ताको व्यवस्था गर्नुपरेको क्वारेन्टिनमा बसिरहेका सर्वसाधारणको भनाइ छ। स्रोत र साधनको अभावमा जिल्लामा आ–आफ्नै तरिकाले क्वारेन्टिन बनाइएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए।  

सिन्धुलीका क्वारेन्टिनमा आधारभूत आवश्यकतामा पर्ने सामग्रीसमेत नभएको पाइएको छ। क्वारेन्टिनको मापदण्डअनुसार छुट्टै शौचालयदेखि आधारभूत आवश्यकताका सामग्री छुट्टाछुट्टै हुनुपर्ने भए पनि सिन्धुलीमा त्यस्तो हुन नसकेको स्थानीयको भनाइ छ।  

जिल्लाभर निर्माण भएको क्वारेन्टिन मापदण्डअनुसार नभएको नेपाली कांग्रेसका नेता उपेन्द्र पोखरेल बताउँछन्। विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागि यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा सदरमुकाममै मापदण्डअनुसार नभएको उनले बताए। ‘क्वारेन्टिनमा बस्नेहरूले प्रयोग गर्ने शौचालयसहित धारा अन्य सामग्री नै सामूहिक छ,’ उनले भने, ‘यसले झन् महामारी बढाउन सक्छ, यसको समयमै ध्यान दिन जरुरी छ।’

जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रल्हाद पोखरेल अन्य स्थानीय तहको भन्दा सदरमुकाममा केही व्यवस्थित देखिए पनि अधिकतर क्वारेन्टिन मापदण्डअनुसार नभएको बताउँछन्। छुट्टै शौचालय, व्यक्तिगत सरसफाइका सामानदेखि प्रयोग गर्ने भाडासमेत छुट्टाछुट्टै चाहिने भए पनि त्यस्तो हुन नसकेको उनको भनाइ छ। जिल्लाभर रहेका दुई सय ३० वटा क्वारेन्टिन नै भद्रगोल अवस्थामा रहेका छन्। सामान्य शड्ढयाबाहेक अन्य केही सामान क्वारेन्टिनमा नभएको स्थानीय बताउँछन्। क्वारेन्टिनमा बस्नेहरूका लागि छुट्टै शौचालय बनाउन तत्काल सम्भव नहुने र क्वारेन्टिनलाई थप सुधार गर्दै लैजाने प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे बताउँछन्।  

(विनोद सुवेदी विराटनगर, खगेन्द्र अधिकारी ताप्लेजुङ, दामन राई खोटाङ)

प्रकाशित: ७ जेष्ठ २०७७ ०३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App