समाज

भोजपुरमा ६७ जनाको स्वाब संकलन गरि पठाइयो

कोरोनाको जोखिम बढिरहेका बेला भोजपुरमा पनि प्रत्यक्ष जनसम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरि पठाइएको छ । जिल्लामा कार्यारत कर्मचारी, पत्रकार, व्यापारी, सुरक्षाकर्मी, सवारीचालकको नमूना स्वाब संकलन गरिएको छ । प्रत्यक्ष रुपमा अग्रभागमा रहेर खटिने ६७ जनाको पीसीआर परीक्षणका लागि नमूना स्वाब संकलन गरिएको हो ।

परीक्षणका लागि सबै स्वाब नमूना धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । मंगलबार जिल्ला अस्पताल भोजपुरमा संकलन गरिएको पीसीआर परीक्षणको रिपोर्ट बिहीबारसम्म आईसक्ने स्वास्थ्य कार्यालय भोजपुर प्रमुख फणिन्द्र थापाले बताए ।

जिल्ला कमाण्ड पोष्टको समन्वयमा स्वास्थ्य कार्यालय भोजपुर र जिल्ला अस्पतालले नमूना परीक्षण सुरु गरेको हो । अग्रपंक्तिमा रहेर फिल्डमा काम गर्ने ६ जना पत्रकारको पनि स्वाब परीक्षणको व्यवस्था मिलाएको पत्रकार महासंघ भोजपुरले जनाएको छ ।  

गत वैशाख ११ गते हतुवागढी गाउँपालिकाको होम्ताङस्थित एक २६ वर्षिय युवकमा कोरोना देखिएपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर प्रत्यक्ष जनसम्पर्कमा रहेर काम गर्ने व्यक्तिको नमूना स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।

प्रकाशित: ६ जेष्ठ २०७७ १२:१७ मंगलबार

कोभिड १९ कोरोनाभाइरस स्वाब परीक्षण