समाज

कोरोना हिरोहरुलाई सम्मान गर्न सिफारिस

नेपाल स्काउट जिल्ला कार्य समिति भक्तपुरले कोरोना हिरोको रुपमा परिचित भक्तपुरका दुई जना स्काउट लिडरहरु राजेश गाइजू र अरुण सैंजूलाई विशेष सम्मान गर्न नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौर काठमाडौंलाई सिफारिस गरी पठाएको छ । जिल्ला कार्यसमिति भक्तपुरको कार्यसमितिको बैठकले गाइजू र सैंजूर्लाइ विशेष सम्मानका साथै कोरोनाको यो संकटमा स्वयमसेवकका रुपमा संलग्न अन्य स्काउट लिडरहरुलाई पनि सम्मानका लागि सिफारिस गरी पठाएको हो ।

नेपाल स्काउट जिल्ला कार्य समिति भक्तपुरका प्रमुख आयुक्त रामगोपाल कर्माचार्यले गाइजू र सैंजूलाई विशेष सम्मानका साथै कोरोना संक्रमितको उद्धारमा खटिएका अन्य स्वयमसेवक स्काउट लिडरहरुलाई सम्मान गर्न केन्द्रमा सिफारिस गरी पठाएको जनाए । ‘स्काउट लिडहरुको योगदानको सम्मान हुनुपर्छ भन्ने मान्यताका साथ कार्यसमितिको वैठक वसी उच्च सम्मान र सम्मानका लागि सिफारिस गरी पठाएका हौं, जिल्लाका प्रमुख आयुक्त कमाचार्यले नागरिकसँंग भने, ‘स्वतस्फुर्ट रुपमै देशैभरिबाट उच्च सम्मान पाइरहेका उनीहरुलाई आधिकारिक रुपमै किन सम्मान नगर्ने ?’  

पछिल्लो पटक कोरोनाका कारण धुलिखेल अस्पतालमा मृत्यु भएका एक महिलाको शव उठाउनेलगायत सम्पूर्ण दाहसंस्कारको कार्य गरेपछि भक्तपुरका स्काउट लिडरहरु गाइजू र सैंजू कोरोना हिरोको रुपमा परिचित भएका थिए । आ-आफनो ज्यानको परवाह नगरी स्वयमसेवकको रुपमा खटेका उनीहरु दुवैजनाको अहिले देशैभरिबाट वाहवाही भइरहेका छन् । दुवैको घरको अवस्था नाजुक भए पनि यी दुवैजना कोरोना संकटमा उच्च सम्मानयोग्य हुने गरी उद्धारमा लागिरहेका छन् ।

कोरोनाविरुद्ध स्वयमसेवकको रुपमा कार्यरत गाइजू २०७२ सालको महाभूकम्पले भत्केको घर पुनर्निर्माण गर्न नसकी टहरामै छन् भने सैंजू घरमा वुढी एक्ली आमालाई छोडेर स्वयमसेवामा छन् । कोरोनाबाट मृतक महिलाको उद्धारका कारण उनीहरु दुवैजना अहिले भक्तपुरको सूर्यविनायकस्थित सेनाको व्यारेकमा क्वारेन्टिनमा छन् । उनीहरु त्यहाँं सात दिन क्वारेन्टिनमा रहने छन् ।  

यी दुई बाहेक स्काउड लिडरहरुको समूह लकडाउनदेखि नै भक्तपुर अस्पतालमै अस्थायी टेण्टमा बसेर कोरोना संक्रमितहरुको उद्धारमा लागिरहेका छन् । साथै उनीहरुले सम्भावित कोरोना संक्रमितहरुको टेष्टका लागि सघाइरहेका छन् । कोरोनाको टेष्टका लागि काठमाडौं पुयाउने काममा उनीहरु दिनरात लागिरहेका छन् ।  

नेपाल स्काउट भक्तपुरकै प्रमुख आयुक्त कर्माचार्यले यसबाहेक पनि जिल्लाका चारवटै नगरपालिकाहरुमा कोरोनाको सचेतना अनि लकडाउनको पूर्ण पालनाका लागि एक सय १५ जना भन्दा वढी स्काउट लिडरहरु दैनिक सडकमा खटिरहेका जनाए । महामारीले उग्र लिंदै गरेका कारण उनीहरुको व्यक्तिगत स्वास्थ्यलाई पनि ध्यानमा राखी स्वयमसेवामा खटिन आआफनो घरबाट रिसारिस भएका अनि आफ्नो स्वास्थ्यप्रति विशेष सचेतलाई मात्रै अहिले स्वयमसेवामा खटाइरहेको कर्माचार्यले जनाए ।  

 

प्रकाशित: ६ जेष्ठ २०७७ १०:३९ मंगलबार

कोभिड १९ कोरोनाभाइरस