समाज

मृतक महिलाका शिशुसहित पाँचै आफन्तमा कोरोना देखिएन, गाउँमा 'कन्ट्राक्ट ट्रेसिङ' तीव्र (अपडेट)

कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा पहिलो पटक ज्यान गुमाउने सुत्केरीका शिशुसहित पाँचै जना आफन्तको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। धुलिखेल अस्पतालमा उनीहरुको कोरोना परीक्षण गरिएको थियो। अस्पतालले मृतक सुत्केरीका १३ दिने शिशु, उनका श्रीमान्, आमा, भाइ र बहिनीमा कोरोना नरहेको पुष्टिसहित जानकारी गराएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए। ‘अस्पतालको रिपोर्टपछि उनीहरुलाई कहाँ, कसरी सुरक्षित राख्ने भन्नेबारे छलफल गरिरहेका छौँ,’ उनले नागरिकन्यूजसँग भने।  

खोकीको साथै श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै बिहीबार धुलिखेल अस्पतालमा उपचारका लागि पुगेकी बाह्रविसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको त्यसै दिन मृत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसकै कारण उनको मृत्यु भएको पुष्टि गरेको थियो। मृत्यु हुँदा महिला १० दिनको सुत्केरी थिइन्। शिशुसहित मृतकका पाँच आफन्त उनीसँगै धुलिखेल अस्पताल पुगेका थिए।  

गाउँमा कन्ट्राक्ट ट्रेसिङ तीव्र  

कोरोनाकै कारण महिलाको मृत्यु भएको पुष्टि भएपछि संक्रमण फैलन नदिन उनको घर र माइती गाउँमा कन्ट्राक्ट ट्रेसिङ र स्वाब नमूना संकलनलाई तीव्रता दिइएको छ। महिलाको घर रहेका बाह्रविसे नगरपालिका–९ र माइती रहेको बलेफी गाउँपालिका–७ र ८ शुक्रबारदेखि सिल गरिएको छ। शनिबारदेखि त्यहाँ स्वास्थ्य कार्यालय, धुलिखेल अस्पताल र विश्व स्वास्थ्य संगठनको समूहसहितको संयूक्त स्वास्थ्यकर्मी तथा चिकित्सको टोलीले काम गरिरहेको छ।  

आइतबारसम्म ५६ जनाको स्वाब संकलन गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँले जानकारी दिए। उनका अनुसार कन्ट्राक्ट ट्रेसिङ पनि भइरहेको छ। कोरोना संक्रमण भए÷नभएको पुष्टि गर्न अझ धेरैको स्वाब संकलन हुन सक्ने उनले बताए। महिलाको टोलमा मात्र १७ परिवारको बसोबास छ।

स्वास्थ्य संस्था पनि सिल, सेवा ठप्प

बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ। त्यहाँबाट उपलब्ध हुने सबैखाले स्वास्थ्य सेवा तीन दिनदेखि ठप्प छ। मृतक महिला धुलिखेल अस्पताल पुग्नु अघि स्वास्थ्य जाँचका लागि केन्द्रमा आइपुगेकी थिइन्। केन्द्रले नै कोरोना आशंका गर्दै महिलालाई धुलिखेल रेफर गरेको थियो।  

सोमबार केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब संकलन गर्ने चापागाईँले बताए। ‘उनीहरुको रिपोर्ट नआएसम्म केन्द्र बन्द रहन्छ,’ उनले भने। केन्द्रका सबै स्वास्थ्यकर्मी सेल्फक्वारेन्टाइनमा बसेका छन्। स्थानीय र स्वास्थ्यकर्मीको संकलित स्वाब पिसिआर परीक्षणको लागि राष्ट्रिय प्रयोगशालामा पठाइने उनले बताए। बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलाल पनि सिल गरिएको गाउँमा खटिइरहेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७७ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App