समाज

भारतबाटै आएका थिए अधिकांश संक्रमित

सोमबार सार्वजनिक विवरणमा रौतहटमा थप देखिएका कोरोना संक्रमितमध्ये सबै पुरुष भारतबाटै आएको देखिएका छन् । भारतको दिल्ली, कानपुर र मुम्बईबाट गत वैशाख ३१ मा नेपाल छिरेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ८ जनामा ईशनाथ नगरपालिकाका सात जना रहेका छन् । सात जनामध्ये एक जना दिल्ली, एक जना कानपुर र पाँच जना मुम्बईबाट आएका हुन् । सबै जना एकै दिन आएको र सबैलाई सोही दिन क्वारेन्टिनमा पठाइएको थियो ।

गत जेठ २ मा क्वारेन्टिनका सबै जनाको स्वाब संकलन गरी पठाइएकोमा आइतबार तीन र सोमबार सात जनाको रिपोर्ट पोजेटिभ आएको छ । क्वारेन्टिनमा रहेका २९ जनामध्ये १० जनाको रिपोर्टमा कोरोना संक्रमण देखिएको र अन्यमा संक्रमण नदेखिएको रिपोर्ट आएको हो ।  

रौतहटको माधव नारायण नगरपालिकाको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । महिलाका आफन्त भारतको राजस्थानबाट आएर एक रात घरमा बसेपछि स्थानीयले सबैलाई गत २६ गते माधवनारायण नगरपालिकाले व्यवस्थापन गरेको सखुअवास्थित क्वारेन्टिनमा पठाएको थियो । घरपरिवारका १२ जनालाई क्वारेन्टिन पठाइएको र सबैको रिपोर्ट नेगेटिभ आएकोमा महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित महिला माधव नारायण नगरपालिकाले व्यवस्थापन गरेको सखुअवास्थित क्वारेन्टिनमै छिन् । संक्रमित महिलाको स्वास्थ्य सामान्य रहेको र निजमा कोरोनाको कुनै लक्षण नदेखिएको नगर स्वास्थ्य प्रमुख दीपेन्द्र साहले जानकारी गराएका छन् । महिलासँगै क्वारेन्टिनमा अन्य २५ जना रहेका छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।

रौतहटमा धमाधम कोरोना संक्रमित फेला पर्न थालेपछि त्रासको वातावरण बढेको छ । जिल्लामा कफ्र्यू लागू गरी कोरोनाको संक्रमणको खतरा कम गर्न पनि स्थानीयले सामाजिक सञ्जालहरुमा माग गर्न थालेका छन् ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०७:१३ सोमबार

कोभिड १९ कोरोनाभाइरस