समाज

सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध

जिल्ला अस्पताल बैतडीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ। जिल्ला अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै धेरै भीडभाड हुने क्षेत्रमा सङ्क्रमणको जोखिम हुनसक्ने भएकाले अस्पतालले आउनुपरे सावधानी अपनाएर र सतर्क रहन अनुरोध गरेको हो।  

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा वसन्तराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबैखाले बिरामी आउने भएकाले अस्पतालमा जोखिम बढिरहेको र सङ्क्रमण भइहाले पनि गाउँगाउँसम्म पनि फैलने भएकाले अत्यावश्यकबाहेक सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध गरिएको छ ।  

आकस्मिक सेवा २४सै घण्टा र कोरोना क्लिनिक बिहान १० देखि ३ बजेसम्म उपलब्ध रहेको जानकारी गराउँदै अस्पताल आउनुपूर्व ०९५–५२००६५मा फोन गरेर आउन अनुरोध गरेको छ। कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएमा नजिकको स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गरिएको छ। सरकारले घोषणा गरेको लकडाउनको पूर्णपालना गर्न, सतर्क रहन र त्रसित नबन्न पनि अस्पतालले भनेको छ। कोरोनाको सङ्क्रमण फैलिहाले पनि कुनै औषधि नभएकाले आत्मबल बढाउनसमेत जोड दिइएको छ।  रासस

प्रकाशित: ५ जेष्ठ २०७७ ०४:१६ सोमबार

अस्पताल