समाज

प्लान नेपालको दर्ता खारेजीको माग

राहत वितरणमा आइएनजिओको मनपरी

सिन्धुली- राहत वितरणमा मनपरी गरेको भन्दै यहाँका केहि जनप्रतिनिधिले प्लान नेपालको संस्था दर्तानै खारेज गर्नुपर्ने माग गरेका छन् । कमलामाई नगरपालिकाले पहिलो चरणको राहत वितरण सुरु गरेपछि प्लान इन्टरनेशनल नेपाल सिन्धुली शाखाको सहयोगमा नेपाल रेडक्रस सोसाइटीमार्फत विभिन्न वडामा वितरण गरिएको राहतमा मनपरी भएको वडाअध्यक्षको आरोप छ ।  

कमलामाई नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष महेन्द्रप्रसाद ढकालले नेपाल सरकारद्धारा जारी निर्देशनमा एकद्धार प्रणालीबाट राहत वितरण गर्नुपर्ने भएपनि प्लान नेपालले त्यस्तो नगरेर मनपरी ढङगले राहत वितरण गरेको आरोप लगाए । प्लान नेपाल र नेपाल रेडक्रस सोसाइटी सिन्धुलीबाट मनपरी ढङगले सरकारको निर्देशन विपरित राहत वितरण गरिएकाले उक्त आइएनजिओलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछु, वडाअध्यक्ष ढकालले प्रेश विज्ञप्ती जारी गर्दै भने नेपाल सरकारले उक्त विभेदकारी संस्थाको दर्ता खारेज गरोस् भन्ने माग समेत गर्दछु । उनले कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीको निर्देशनमा नगरपालिकालेनै बनाएको मापदण्ड वितपरित आइएनजिओले राहत बाडेको आरोप लगाए । प्लान नेपालले पहिलो चरणको राहत भन्दै कमलामाई नगरपालिकाका विभिन्न वडामा नगद २७ सय २० रुपैयाँ राहत वितरण गरेको थियो । सरकारले नगद बाड्नलाई प्रतिबन्ध लगाएपनि आइएनजिओले नगद वितरण गरेर मनपरी गरेको उनको आरोप छ ।  

प्लान नेपाल सिन्धुलीका प्रमुख रामबहादुर श्रेष्ठले आफूहरुले नगरपालिकाको र नेपाल सरकारको निर्णय अनुसारकै राहत प्याकेजलाई पुग्ने नगद वितरण गरेको जनाए । हामीले नगरपालिकाको ६ ओटा वडामा नगद वितरण गरेका छौ, उनले भने, नगरका वडाले छनौट गरेका पिडितलाई राहत वितरण गरेका हौ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण गत चैत ११ गतेदेखि मुलुक लकडाउन भएपनि नगरपालिकाले सिन्धुलीमै पहिलो पटक राहत वितरण गर्न थालेको थियो । सोही सन्र्दभमा प्लान नेपालले आफ्नो कार्यक्षेत्रका केहि वडालाई नगदै राहत दिएपछि विवादमा परेको हो । विपत्तिमा आइएनजिओले मनपरी गर्दै आएकोले सचेत भएर काम गर्न सरोकारवालाहरुले समेत सुझाएका छन् ।  

२०७२ साल बैशाखको बिनाशकारी भुकम्प प्रश्चात पनि यहाँ कार्यरत आइनजिओले मनपरी रुपमा राहत वितरण गरेको आरोप लागेको थियो । कमलामाई नगरपालिकाबाट वडा तहमा वितरण भएको राहतमा विभेद भएको भन्दै वडाले त्यसको आपत्ति जनाएको छ । उता प्लान नेपालसँग साझेदार गरेर कार्यक्रम चलाएको नेपाल रेडक्रस सोसाइटी समेत विवादमा मुछिएको छ । विपत्तिमा सबैको भरोसा बनेको रेडक्रसलेनै मनपरी गरेको वडाका प्रतिनिधि बताउँछन् । 

रेडक्रस सिन्धुलीका सभापति असोक श्रेष्ठले नेपाल सरकारले ल्याएको प्याकेजनै २७ सय ३० रुपैयाँ बराबरको भएकाले सो बराबराको नगद उपलब्ध गराएको बताए । नगरपालिकाले २० केजी मात्रै चामल वितरण गरेकाले नगरपालिकाले राहत घटाएको हो, हामीले सरकारको निर्णय अनुसारनै काम गरेका छौ, सभापति श्रेष्ठले भने । उनका अनुसार प्लान नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले कमलामाई नगरपालिकाको वडा नं. ५,७,१३,१४,११ र १२ नम्बर वडामा २७२० रुपैयाँको दरले राहत दिएको हो । 

प्रकाशित: ४ जेष्ठ २०७७ १०:३० आइतबार

विविध