कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाएकी बाह्रविसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिला धुलिखेल अस्पतालमा जान स्थानीय चिकित्सकले गरेको आग्रहलाई बेवास्था गर्दै घरमै फर्किएको खुलेको छ । उनलाई अस्पताल पठाउन प्रहरी नै खटाउनु परेको थियो ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले निकै कर गरेपछि मात्र उनी उपचारमा धुलिखेल जान राजी भएकी थिइन् । धुलिखेलमा उपचारको क्रममा बिहीबार राती ज्यान गुमाएकी उनी १० दिनको सुत्केरी थिइन् । खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि यसअघि उनी बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी थिइन् । ‘जेठ १ गते बिहान खोकी लाग्यो । सास फेर्न गाह्ररो भयो भन्दै आउनु भएको थियो,’ सुरुमा उनकाे उपचारमा संलग्न स्वास्थ्य केन्द्रकी डा.निसान्ता शर्माले भनिन्, ‘ज्वरो पनि थियो । एक्सरे गरेर हेर्दा दुबै छाती खराब देखियो ।’
१० दिने शिशु च्यापेर उनी आफन्तको साथमा स्वास्थ्य जाँचका लागि बाह्रविसे झरेकी थिइन् । कोरोनाको आशंकामा केन्द्रले सुरुमै उनको आरडिटी गरेको थियो । आरडिटीमा कोरोना भाइरस नेगेटिभ देखिएको डा. शर्माले जानकारी दिइन् । ‘आरडिटीले सँधै सही नतिजा नदिने र छातीसमेत खराब भएकाले धुलिखेल अस्पताल रिफर गरेको थिएँ,’ उनले भनिन् । बिरामी पुर्जीमै कोरोनाको आशंका गर्दै सोको परीक्षण गर्न अस्पताललाई सिफारिस गरिएको समेत उनले बताइन् ।
स्वास्थ्य केन्द्रले केन्द्रकै एम्बुलेन्समा धुलिखेल जान अनुरोध गरेको थियो । उपचार खर्च जुटाउने र बलेरो रिजर्भ गरेर अस्पताल जाने बताउँदै केन्द्रबाट बिहान १० बजेतिर बाहिरिएकी थिइन् । दिउँसो २ बजेतिर धुलिखेल अस्पतालमा फोन गरेर डा. शर्माले उनीबारे जानकारी लिइन् । अस्पतालले उक्त नामको बिरामी नआएको बताएपछि उनले सिधै महिलालाई फोन गरिन् । ‘उहाँ (महिला) अस्पताल नगएर घरै फर्कँनु भएछ,’ डा. शर्माले भनिन्, ‘हामीले स्लाइनपानी र केही औषधी चलाएका थियौँ । त्यसले काम गर्दा केही आराम अनुभव भएकाले अस्पताल नगएको हुन सक्छ ।’
डा. शर्माले नै महिला र उनको अवस्थाबारे इलाका प्रहरी कार्यालय बाह्रविसेलाई जानकारी दिइन् । तत्काल राम्चे पुगेर प्रहरी टोलीले नवजात शिशुसहित सावित्रालाई बाह्रविसे ल्याएपछि केन्द्रको एम्बुलेन्समा राखेर साँझ सवा ७ बजेतिर धुलिखेल पु-याएको थियो । ‘राति ११ बजेतिर उनको मृत्यु भएको खबर पाएका थियौँ । मृत्युको कारण भने थाहा पाएनौँ,’ डा. शर्माले भनिन् ।
काठमाडौँको गोगंबुमा डेरा गरी बस्दै आएकी सावित्रा बैशाख २३ गते शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएकी थिइन् । त्यसै दिन भर्ना भएकी उनले अस्पतालको बेड नं.१३०३ मा छोराको जन्म दिएकी थिइन् । तीन दिन अस्पताल बसेर २५ गते उनी एम्बुलेन्समा राम्चेस्थित घर फर्केकी थिइन् । घर फर्कँदा एम्बुलेन्ससहित दुईटा गाडी प्रयोग गरेको पाइएको छ ।
शिक्षण अस्पतालबाट नेपाल रेडक्रस सोसाइटी बाह्रविसे उपशाखाको एम्बुलेन्समा बाह्रविसेमा आएपछि एउटा बलेरोले उनलाई गाउँसम्म पु-याएको थियो । प्रहरी स्रोतका अनुसार एम्बुलेन्समा चालक, मृतक सावित्रा र शिशुसहित ६ जना आएका थिए भने बलेरोमा चालक र मृतकका जेठाजु थपिएका थिए । महिलालाई कुन ठाउँमा कोबाट संक्रमण स-यो भन्ने खुलेको छैन ।
घर र माइती गाउँ सिल
कोरोनाबाट महिलाको मृत्यु भएपछि सम्भावित संक्रमण फैलन नदिन जिल्लामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ । उनको घर र माइती गाउँ सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले उनको घर रहेको बाह्रविसे नगरपालिका–९ र माइती रहेका बलेफी गाउँपालिका–७ र ९ नम्बर वडा सिल गरिएको बताए । ‘सिल गरिएको वडामा आउजाउ बन्द गरिएको छ,’ उनले भने ।
मृतकको सम्पर्कमा आएका सबैको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ पनि थालिएको प्रजिअ ढकालले जानकारी दिए । उनका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्न चौतारा अस्पतालका डा. निश्चल बोगटीको संयोजकत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङमा खटिने पाँचै जनालाई चौतारास्थित फिल्ड ट्रेनिङ सेन्टरमा छुट्टै राख्ने व्यवस्था मिलाइएको छ । प्रजिअ ढकालले माइती गाउँबाट धेरै आफन्त सुत्केरी भेट्न मृतकको घरमा पुगेको पाइएको बताए । यो घटनापछि जिल्लामा भने त्रास फैलिएको छ ।
प्रकाशित: ४ जेष्ठ २०७७ ०४:४१ आइतबार