समाज

रौतहटका कोरोना संक्रमितलाई नाकाबाट सिधै क्वारेन्टिन लगिएको थियो

रौतहटका १० कोरोना संक्रमित ५ दिन अघि भारतबाट नेपाल प्रवेश गरेको खुलेको छ। मुम्वई र गुजरातबाट उनीहरु नेपाल आएका थिए। भारतमा पनि कोरोना नियन्त्रणको लागि लकडाउन गरिएपछि दैनिक गुजराकै अभाव झेलिरहेका उनीहरु विभिन्न तरिका अपनाउँदै नेपाली नाकासम्म आइपुगेका थिए। तर उनीहरुलाई सिधै नाकाबाट क्वारेन्टिनमा लगिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए। 'उनीहरुलाई नाकाबाटै नियन्त्रणमा लिएर क्वारेन्टिनमा पठाइएको थियो। यता आएपछि उनीहरु घर परिवार र अरुको सम्पर्कमा छैनन्', उनले भने। उनीहरुलाई इशानाथ, परोहा र राजपुरमा रहेको क्वारिन्टाइनमा राखिएको थियो।

परीक्षणमा रौतहट फरहदवा ९ का ७ जनार इशनाथका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरुको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य छ। यो सँगै संक्रमितको संख्या २९१ पुगेको छ। कोरोनाका कारण पहिलो पटक एक महिलाको मृत्यु भइसकेको छ।

प्रकाशित: ४ जेष्ठ २०७७ ०२:३६ आइतबार

कोभिड १९ कोरोना सङ्क्रमण