समाज

वर्षा र हुरीले जनजीवन प्रभावित

कोरोना त्रासबीच आगलागीले स्तब्ध बनाएको ताप्लेजुङको जनजीवनमा शुक्रबार रातिको वर्षा र हावाहुरीले अर्को चोट थपिदिएको छ । वर्षासँगै आएको हुरीले विभिन्न स्थानका घर तथा कार्यालयका छाना उडाएको छ भने सदरमुकाम फुङ्लिङ बजारका घरभित्र बाढी पसेको छ । ढलको उचित निकास नभएका कारण बाढी पसेको ठाउँ दुर्गन्धित बनेको छ ।

मेची राजमार्गसहित शाखा मार्गहरूमा पनि समेत बाढीले क्षति पुर्याएको छ । हावाहुरीले जिल्ला खेलकुद विकास समितिको कार्यालयको छाना उडाएको छ भने पानी भित्र पस्दा अभिलेख सञ्चित भएका कम्युटर तथा कागजातमा क्षति पुगेको छ । ताप्लेजुङका विभिन्न स्थानका दर्जनौं घरमा हावाहुरीले क्षति पुर्याएको छ भने मकैसहितका बालीमा ठूलो क्षति पुगेको छ । रूखहरू ढल्दा अलैंचीसहितको बालीमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रजिअ डोरेन्द्र निरौलाले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए । 

नग्न अवस्थामा शव फेला

फुङलिङ नगरपालिका–९ हाङ्देवास्थित हिरेवाखोलामा आएको बाढीले बगाएर ल्याएको एक शव भेटिएको छ । नग्न अवस्थामा भेटिएको शव पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका नरबहादुर राईकी ६१ वर्षीया पत्नी अर्थमाया राईको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

अर्थमाया जेठ १ गते घरबाट हिंडेकी थिइन् । कसैलाई पत्तै नदिई घरबाट हिँडेकी उनको खोजतलाका लागि शुक्रबारै अर्थमायाका आफन्तमा प्रहरीमा जाहेरीसमेत दिएका थिए ।

अर्थमायाका आफन्तलाई उद्धृत गर्दै ताप्लेजुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले दिएको जानकारी अनुसार उनी छारेरोगबाट पीडित थिइन् । उनलाई हिरेवाखोलाले बगाएरै मृत्यु भएको वा उनको शव मात्र त्यहाँ फेला परेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । शव पोष्टमार्टक गरी आफन्तको जिम्मा लगाइएको डिएसपी श्रेष्ठले बताए ।

प्रकाशित: ३ जेष्ठ २०७७ २१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App