समाज

दाङका वडावडामा क्वारेन्टाइन निर्माण गर्दै

दाङका स्थानीय सरकारले  वडावडामा क्वारेन्टाइन निर्माण शुरु गरेका छन्। भारतबाट धेरै नागरिक फर्कन खोजिरहेको हुँदा उनीहरु फर्केपछि राख्नका लागि र पालिकाभित्र फैलन सक्ने सङ्क्रमण  रोकथामका लागि क्वारेन्टाइन निर्माण थालिएको हो।  

मजदूरीका लागि भारत पुगेका करीब १० हजार नागरिक तत्काल फर्किने अनुमान गर्दै बंगलाचुली गाउँपालिकाले आठ वडामा क्वारेन्टाइन निर्माण शुरु गरेको पालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए। त्यहाँ रहेका करीब १२ विद्यालय र सामुदायिक भवनमा क्वारेन्टाइन निर्माण गर्न लागिएको छ।  दाङको सीमा भारतसँग जोडिएको छ। सीमानाकाबाट मात्र नभएर जङ्गलको बाटो भएर पनि भारतमा रहेका कतिपय नेपाली घर फर्किरहेका छन्। कतिपय एम्बुलेन्सको दुरुपयोग गरेर पनि घर फर्किरहेका छन्। उनीहरुलाई प्रहरीले पक्राउ गरेर जबर्जस्ती क्वारेन्टाइनमा राखेको छ।  

अहिले जिल्लामा दश पालिकाले ३८८ क्वारेन्टाइन निर्माण गरेका छन्। त्यसमध्ये घोराही र तुलसीपुर उपमहानगरले सयसय शय्याको क्वारेन्टाइन तथा अन्य पालिकाले १० देखि ६० सम्म क्वारेन्टाइन निर्माण गरेका छन्।  घोराही उपमहानगरका उपप्रमुख सीता सिग्देलले तत्काल रझेना माध्यमिक विद्यालय, सर्रास्थित बाल अस्पताल र परिवार नियोजन कार्यालयसँग क्वारेन्टाइन कक्ष निर्माणका लागि अनुमति लिइसकेको बताइन्।  तुलसीपुर उपमहानगरले पनि सभाकक्ष, उद्योग वाणिज्य संघको कक्ष, सामुदायिक विद्यालय र होटेललाई  क्वारेन्टाइन बनाउने तयारी गरेको छ। नगरका प्रवक्ता श्याम डाँगीले पालिकाका कोरोना कोषमा रकम बढाउने क्रम जारी रहेको जानकारी पनि दिए।  

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले अहिले पालिकाले पनि आफ्ना सभाकक्ष र विद्यालयलाई तत्काल प्रयोगमा ल्याउने बताए। अहिले बबईमा अन्य पालिकाका तुलनामा धेरै ६३ जना भारतबाट फर्किएकाहरु क्वारेन्टाइनमा बसिरहेका छन्।  तुलसीपुरको बेलझुण्डीमा प्रदेश सरकारले १०० शय्याको कोरोना विशेष अस्पताल स्थापना गरेको छ।  घोराही उपमहानगरले वडा नम्बर ३ को कुुइरेपानीमा १०० शय्याको क्वारेन्टाइन स्थापना गरेको छ  जहाँ एक  विशेषज्ञ चिकित्सकसहित ६ स्वास्थ्यकर्मी खटाइएको छ। तुलसीपुर उपमहानगरले १०० शय्या, बबईमा ५०, लमहीमा ३५, गढवामावा १०, राजपुरमा २५, राप्तीमा २५, शान्तिनगरमा १० र  दंगिशरणमा ३० शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ।  त्यहाँ तीनदेखि ६ जनासम्म स्वास्थ्यकर्मी खटाइएका छन्। दाङमा स्थापित क्वारेन्टाइनमा अहिले १४४ जना क्वारेन्टाइनमा रहेका छन्। उनीहरुलाई खानाबस्नसहित स्वास्थ्य जाँचको पनि व्यवस्था गरिएको छ। रासस

प्रकाशित: ३ जेष्ठ २०७७ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App