समाज

नेपाली भूमिमा भारतीय अवरोध

फालेलुङ गाउँपालिका–६ मा अहालमा नेपाल तर्फको भुभाग । तस्बिर : गिरिराज/नागरिक

पाँचथर- स्थानीय कुवलीयती बन समूह मार्फत पाँचथरको फालेलुङ गाँउपालिका–६ मा पर्ने आहाल भन्ने ठाँउमा पर्यटकिय संग्रहालय भवन निर्माणको काम अघि बढाउन भारतीय सुरक्षाकर्मीले रोकेका छन् । काम अघि बढाउन नदिएसँगै सो क्षेत्रमा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गस्ती गर्न थालेको छ ।

सीमा स्तम्भ भन्दा एक सय मिटर यता नेपाल तर्फ निर्माण गर्न खोजिएको संग्रहालय भवन निर्माणमा भारतीय सुरक्षाकर्मीले रोक लगाएको स्थानीयको भनाई छ । नक्सामा भारत तर्फ पर्ने दाबी गर्दै उनीहरुले कामलाई अवरोध गरेका हुन् । बैशाख २४ गतेदेखि अगाडी बढाइएको भवन निर्माणको काम २७ गते भारतीय सुरक्षाकर्मीले रोकेका थिए ।  

निर्माण नगर्न र गरे भत्काउने भनेपछि भवन निर्माणको काम रोकिएको छ । भवन निर्माण रोकेको खवर पाएपछि फालेलुङ गाउँपालिकाका प्रमुख सन्चकुमार केरुङसहितका जनप्रतिनिधि, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा केहि स्थानीयले उक्त स्थानमा अनुगमन गरेका थिए । ५७/३ नम्बरको सानो तथा ५८/९ नम्बरको जंगे पिलर भन्दा एक सय मिटर यता निर्माण गर्न खोजिएको भवनको कामलाई भारतीय सुरक्षाकर्मीले रोकेको फालेलुङ गाउँपालिकाले जानकारी दिएको छ ।

‘नेपाल तर्फकै भुभागमा भवन निर्माणको काम अघि बढाउदा भारतीय सुरक्षाकर्मीले रोकेका छन् । हामीले गएर उनीहरुसँग कुरा गर्दा कुनै निकास निस्किएन । भवन नबनाउन र बनाए भत्काउने भारतीय सुरक्षाकर्मीको भनाई थियो’ फालेलुङ गाउँपालिका प्रमुख केरुङले भने ‘नेपाली भूमिका हस्तक्षेप भएको भनेर माथिल्लो निकायलाई पत्रचार गरेका छौँ ।’

वन डिभिजन कार्यालय पाँचथरको १० लाख सहयोगमा स्थानीय संस्कृती झल्काउने किसिमको संग्रहालय बनाउने काम अघि बढाइएको थियो । यसअघि नेपाल तर्फको भ्यू पोइट, घर, होटल, गोठ भएका ठाँउभन्दा यताअघि बढाइएको निर्माणको काम रोकेका हुन ।  

यसअघि अहालको नजिक रहेको पर्यटकीय स्थल सन्दकपुरमा भ्यू टावर निर्माण गर्दा पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका थिए । सीमा क्षेत्रमा टे«किङ रुट बनाउदा पनि अवरुद्ध गर्ने गरेको स्थानीय शिल्प राईले बताए । सीमा नजिक नेपाल तर्फका ठाँउमा निर्माण लगायतका कामहरु विगतदेखिनै अवरोध गर्ने गरेको राईले जानकारी दिए । उनका अनुसार यस अघि ठाँउ ठाँउमा अवरुद्ध गरेका थिए । यसअघि चारराते भन्ने ठाउँमा भारतीय सुरक्षाकर्मीले पोखरी बनाउन थालेपछि नेपाली गोठ सञ्चालयकले विरोध जनाएपछि रोकिएको थियो ।  

गाउँपालिकाको टोलीले अनुगमन गरेर पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा (गुरागाई)ले जानकारी दिए । गृह मन्त्रालय लेखेर पठाइएको उनले बताए ।  

उच्च पहाडी क्षेत्रमा पर्ने सिमानामा भारतीय सुरक्षाकर्मीको बाक्लो उपस्थीति छ । नेपाली सुरक्षाकर्मी बेला बेलामात्र उक्त क्षेत्रमा पुग्छन् । जिल्लामा भारतसँग जोडिने ४५ किलोमीटर क्षेत्र रहेको छ । सीमा क्षेत्रमा शसस्त्र प्रहरी राख्ने चर्चा भएको लामो समय भएपनि अहिलेसम्म राखिएको छैन ।

 

 

प्रकाशित: १ जेष्ठ २०७७ १२:३५ बिहीबार

भूमि अतिक्रमण सीमा समस्या