समाज

बाँकेका अस्पतालमा कोरोना उपचार

संक्रमित ब्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल । तस्बिर : नागरिक

नेपालगन्जमा पहिलो कोरोना संक्रमित फेला परेको दुई साता पुग्दा अहिलेसम्म संक्रमितको संख्या २५ पुगिसकेको छ । पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङमार्फत नेपालगन्ज–८ निवासी २४ जना संक्रमित फेला परेका हुन् । उनीहरू सबैको अहिले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । स्वास्थ्यकर्मीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

आइसोलेसन कक्षमा नियमित रूपमा जाने गरेका भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँछन् । ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन कक्षमा बाँकेका २५ र बर्दियाका एक जना गरेर २६ जना उपचारको क्रममा छन्, सबैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ‘प्रेसर लगायत अन्य रोगको समस्या भएका बिरामीले नियमित रूपमा औषधि पाइरहेका छन् ।’  

उक्त अस्पतालमा ४० वटा आइसोलेसन बेड, ६ वटा आइसियु र दुईवटा भेन्टिलेटर छन् । अहिलेसम्म कोरोना संक्रमित ब्यक्तिको उपचारमा कुनै समस्या नरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. थापा बताउँछन् । ‘अहिलेसम्मको कन्डिसनमा कोरोना संक्रमित ब्यक्तिको उपचार गर्न सहज छ,’ उनले थपे । जिल्लामा केहीदिन अघि स्वास्थ्य मन्त्रालयले पठाएको २ हजार थान पिसिआर किटबाट स्वाब परीक्षण भइरहेको र अहिलेसम्म किट लगायत स्वास्थ्य सामाग्री पर्याप्त भएको मेसु थापाको दाबी छ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश पाँच सरकारले कोरोना आइसोलेसन कक्ष स्थापना गरेको हो । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोरोना संक्रमित ब्यक्तिको उपचार चुस्त रूपले गरिएको बताए । ‘संक्रमित ब्यक्तिको उपचारमा स्वास्थ्यकर्मीले कुनै कन्जुस्याई गरेका छैनन्, भित्रको व्यवस्थापन ठीक छ,’ उनले भने,  ‘संक्रमित ब्यक्तिलाई स्वास्थ्यकर्मीले चौबिसै घण्टा निगरानी गरिरहेका छन् ।’ संक्रमित ब्यक्तिको निगरानीका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि आइसोलेसन कक्षको केही बेडहरू प्रयोग गरिरहेको अध्यक्ष कक्षपतिले सुनाए । ‘आइसोलेसन कक्षको ४० बेड मध्ये २६ वटा बेडमा संक्रमित ब्यक्ति बसेका छन्, बाँकी बेडमा चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गरेका छन्,’ उनले थपे ।  

खजुरा बाहेक बाँकेको नेपालगन्ज र कोहलपुरका विभिन्न सरकारी तथा निजी अस्पतालमा पनि कोरोना भाइरसलाई लक्षित गरेर आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले अहिलेसम्म यहाँका विभिन्न अस्पतालमा गरी कुल १ सय ४ वटा आइसोलेसन बेड स्थापना गरिएको बताए । ‘एक सय ४ वटा आइसोलेसन बेड तयारी अवस्थामा छन्,’ उनले भने, ‘अहिलेसम्म कोरोना संक्रमितको संख्याको अनुपातमा आइसोलेसन बेड पर्याप्त नै छ ।’  

यस्तै कोरोना भाइरसलाई लक्षित गरेर यहाँका अस्पतालमा ५३ वटा आइसियु र २१ वटा भेन्टिलेटर स्थापना गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपाल प्रहरी र नेपाली सेनाको अस्पतालमा आइसोलेसन कक्ष बिस्तार गर्ने निर्णय भएपनि अझै कार्यान्वयनमा नआएको मेसु थापा बताउँछन् । ‘संक्रमितको संख्या बढ्ने अवस्था आउन थालेपछि सेना र प्रहरीको अस्पतालमा पनि आइसोलेसन कक्ष राख्ने निर्णय भएको थियो, तर अहिलेसम्म सेना र प्रहरीको अस्पताल प्रयोगमा आएका छैनन्,’ उनले भने ।  

प्रकाशित: १ जेष्ठ २०७७ १०:४० बिहीबार

प्रदेश ५ कोभिड १९ कोरोनाभाइरस कोरोना सङ्क्रमण