ताप्लेजुङ- जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको बैठकले यहाँका अग्नि पीडितका लागि भूकम्प प्रभावित संरचनाहरुको पुनर्निर्माण सरहको सहयोग गरिदिन नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आगलागी पीडितहरुको घर पुनर्निर्माणका बारेमा भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन २०७२, नियमावली २०७२ र अनुदान वितरण कार्यविधि २०७३(पहिलो संशोधन २०७४) सरह पुनर्निर्माण एवम् सहयोगका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । फुङ्लिङ बजारको ट्याक्सी स्टेन छेउमा २०७७ साल बैशाख १९ गते भएको आगलागीबाट पूर्ण नष्ट भएका ७ घरहरुको हकमा यो प्रावधान अनुसार सहयोग सिफारिस गरिएको प्रजिअ निरौलाले बताए ।
यस्तै उक्त आगलागीबाट नष्ट भएका पसल तथा व्यवसायीहरुलाई व्यवसायसंग सम्बन्धित पूर्व ऋण मिनाहा र सहुलियत ऋण प्रदान तथा थप राहत सहयोग समेत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि भएको छ । बैठकले आगलागीबाट प्रभावित भएका परिवारलाई अब उप्रान्त राहत वितरण गर्दा इच्छुक संघसंस्था वा ब्यक्तिहरुले फुङ्लिङ नगरपालिकाको पूर्व परार्मशमा नगरपालिकामा नगद वा जिन्सी जम्मा गर्ने र नगरपालिकाले आवश्यकता अनुसार निर्णय गरी राहत वितरण गर्नुपर्ने समेतत निर्णय गरेको छ ।
बैकठले आगलागी पीडित घर परिवारको ७ करोड ३६ लाख ८० हजार, अन्य ब्यक्तिगत धनको ६ लाख ४५ हजार र संघसंस्थाको २२ लाख ४७ हजार ७०० रुपैयाँ गरी कूल ७ करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँको क्षति बिवरणलाई अनुमोदन पनि गरेको छ । आगलागीपछि गृह जिल्ला आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमैत्री योगेशकुमार भट्टराईले दीर्घकालिन राहत, पुनर्निर्माण तथा पुर्नस्थापनाका लागि आवश्यक प्रकृया पूरा गरी त्यसको सिफारिस पठाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएका थिए ।
प्रकाशित: १ जेष्ठ २०७७ ०४:२० बिहीबार