समाज

घरबेटीले कोरोना नभएको कागज खोज्न थालेपछि अस्पतालमा परीक्षण गर्नेहरुको भीड

एक साता अघिसम्म सुनसान बनेको शुक्रराज सरुवा रोग अस्पताल यतिखेर कोरोनना परिक्षण गर्न आउनेहरुको कारण भरिभराऊ छ । दुई/तीनदेखि यता  अस्पतालमा दैनिक ५ सय जना कोभिड – १९ परिक्षण गर्नकै लागि पुग्ने गरेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । उनको अनुसार सरकारले लकडाउन खुकुलो गरेसंगै आइतवारदेखि नै विरामीको भीड लागेको हो ।  

विरामीहरु दैनिक सयौैको संख्यामा पुगेपछि अस्पतालाई व्यवस्थापन गर्न समेत हम्मे परेको डा.राजभण्डारीले बताए । उनीहरुको यात्रा गतिविधि,जोखिम क्षेत्रको यात्राको इतिहास र लक्षण हेरी कतिपयलाई पिसिआर परिक्षणमा पठाएको र कतिलाई सिधै बहिरंग विभागवाटै कोरोना रहित लेखेर पठाइएको छ । ‘ आएजति सवैको पिसिआर गरेर सम्भव हुँदैन,सरकारको खर्चले पनि धान्न सक्दैन,व्यक्तिको हिस्ट्री र लक्षण हेरी व्यवस्पान गरिरहेका छौ’ निर्देशक राजभण्डारीले भने । अस्पतालमा आउनेहरुको भीडले आपसमै जोखिम बढेपछि दुरी कायम गरी परिक्षण गर्ने व्यवस्था समेत मिलाएको उनले जानकारी दिए ।  

अस्पतालका अनुसार कोरोना परिक्षण गर्न आउनेहरु हालै उपत्यकावाहिरका जिल्लावाट आएका,लकडाउनकै बेला लुकिछिपी काठमाडौं पसेका,घरवेटीले कोरोना नभएको कागजात खोजेका र अदालती प्रक्रियामा रहेका व्यक्तिहरु वढी छन् ।‘अदालतमा काम भएका सवैलाई कोरोना जाँच गरेको कागजात खोज्दो रहेछ , त्यो कारण पनि भीड बढेको हो’ राजभण्डारीले भने । त्यसै गरी लकडाउनको बेला गाउँवाट फर्केकाहरुलाई पनि घरवेटीले भित्र पस्न नदिएपछि सिधै अस्पताल जाने गरेको पाइएको छ । ‘घरवेटीले कोरोना जाँच गरेर मात्र आउनु भनेका छन् भन्दै आउँछन् ’अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेर बहादुर पुनले भने । डेढ सातादेखि असी नब्बेको दर हुँदै बुधवारसम्ममा ४÷५ सयको संख्यामा आईपुगेको उनले बताए । बुधवार आएकाहरुको आवश्यकता हेरी पिसिआर परिक्षण गर्नको लागि नमूना संकलन गरेको अस्पतालले जनाएको छ ।  

घरवेटीको गुनासो पछि वडा कार्यालय र काठमाडौं नगरपालिका समेतले उनीहरुलाई सिधै परिक्षणको लागि पठाउने गरेको उनीहरुले चिकित्सक सित बताउने गरेका छन् । हालै परिक्षण गर्न जानेहरुमा पसलमा काम गर्ने, सुरक्षा क्षेत्रका र अन्य कामले उपत्यका वाहिर गएकाहरु परेका छन् । केही भने लुकेर काठमाडौं पसेकाहरु एम्बुलेन्स, लकडाउनमा पास पाएका गाडी,ढुवानीको गाडीमा चढेर आएकाहरु रहेको काठमाडौं नगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए । पहिला गाउँ जान्छु भनेर गएपछि फेरी लुकिछिपी राजधानी आएकाहरुलाई टेकु र वीर अस्पतालमा कोरोना परिक्षणको लागि पठाएको प्रवक्ता डंगोलले जानकारी दिए । नगरपालिकाले राहत दिंदा दिंदै पनि गाउँ गएर फेरी फर्केकाहरुले कोरोना जोखिम बढाएको डंगोलको गुनासो छ । लकडाउनकै बखत हजारौैको संख्यामा उपत्यका छिरेपछि उपत्यका कोरोनाको हरियो सूचीवाट रातोमा परेको उनले बताए । ‘लकडाउन भित्र विदेशवाट आएकाहरुलाई परिक्षण गरेका थियौं,अव अर्को जिल्लावाट आउनेहरुको परिक्षण गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेका छौं’ डंगालले भने ।  

उपत्यकामा वीचमा आएकाहरुकै कारण  काठमाडौं उपत्यकामा जोखिम बढेको डा.पुनले बताए । ‘अस्पतालमा आउँदा समेत एम्बुलेन्सवाट झरेको देखियो,उनीहरु लुकेर आउनेमै पर्छन्’ उनले भने । 

प्रकाशित: १ जेष्ठ २०७७ ०३:१७ बिहीबार

काेराेना सङ्कट