समाज

प्रदेश ५ मा २३ जना संक्रमित थपिए, संक्रमित संख्या ९३ पुग्यो

प्रदेश न. ५ का ४ जिल्लामा बुधबार कोरोनाका २३ जना नयाँ संक्रमित थपिएका छन् । ४ र १० बर्षका बालिका सहित महिला र सुरक्षाकर्मीलाइ समेत कोरोना संक्रमण देखिएको छ । बुधबार रुपन्देहीमा दुइ बालिका सहित १२ जना, कपिलवस्तुमा चार जना सुरक्षाकर्मी सहित ९ जना र बाँके र नवलपरासीमा एक/एक जना संक्रमित फेला परेका हुन् ।  

रुपन्देहीमा तीन महिला सहित १२ जनामा कोरोना संक्रमण देखिएको हो । रुपन्देहीको गैडहवा गाँउपालिकाको क्वारेन्टाइनमा राखिएका १० जनामा कोरोना पोजेटिभ देखिएको छ । ती मध्ये दुइ जना ४ र १० बर्षका बालिका छन । एक जना २८ बर्षे महिला छन । बाँकी ९ जना पुरुष २२ बर्षदेखि ४१ बर्ष उमेर समुहका छन । केही दिन अघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका उनीहरूको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो । बालिकाहरू पनि आफ्ना आमाबुवा संगै भारतबाट फर्किएको बताइए पनि पुष्टि भइसकेको छैन् ।  

भिम अस्पताल भैरहवाको आइसोलेसनमा उपचार गराइरहेका दुई जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । ती मध्ये एक जना ३२ बर्षे पुरुष कपिलवस्तुको बिजयनगरका हुन भने अर्का २८ बर्षे पुरुष भारतको गोण्डाका हुन् । उनीहरु दुवै जना तीन दिन अघि ज्वरो आएपछि भैरहवा स्थित भिम अस्पतालमा ल्याइएको थियो । 

अहिले उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको असपतालका सुचना अधिकारी गोपाल उपाध्यायले बताए । नेपालमै कार्यरत ती भारतीय युवक भैरहवाको निमा स्मृति प्रतिष्ठानमा क्वारेन्टाइनमा थिए । सो क्वारेन्टाइनमा भारतीयहरुलाइ राखीएको छ । यससगै रुपन्देहीका संक्रमितको संख्या २८ पुगेको छ ।  

नवलपरासीमा भने पहिलो पटक एक जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको प्रतापपुर गाँउपालिकाको त्रिभुवन उच्च मावि बेलाटारीको क्वारेन्टिनमा बसेका ३६ बर्षे पुरुषमा कोरोना देखिएको हो । उनी प्रतापपुरको ५ नम्बर वडाका बासिन्दा हुन् । उनीपनि केही अघि भारतबाटै फर्केका हुन् । 

प्रकाशित: ३१ वैशाख २०७७ १५:५१ बुधबार

प्रदेश ५ काेराेना सङ्कट