समाज

ताप्लेजुङका अग्नी पीडितलाई साढे ७ लाख राहत (अपडेट)

अग्नि पीडितलाई राहत रकम वितरण गर्दै फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल । तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ- ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले फुङ्लिङका अग्नि पीडितलाई झण्डै ७ लाख रुपैयाँ प्रदान गरेको छ । यसैगरी किराँत याक्थुङ कलाकार मञ्च फुङ्लिङले करिव ५८ हजार रुपैयाँ वितरण गरेको छ ।  

आगलागीबाट घर पूर्ण नष्ट भएका ७ घर परिवार, डेराभाडामा बस्ने  २० परिवार र एकसंस्थालाई गरी ६ लाख ९२ हजार १६१ रुपैंया बितरण गरिएको राहत वितरण कार्यका स्थानीय संयोजक देवराज गुरुङले जानकारी दिए । दुबै संस्थाले गरी बुधवारमात्र ७ लाख ४९ हजार ९७१ रुपैयाँ वितरण गरेका छन् । 

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष शंकर राई र महासचिव सागर माङ्मुको बिशेष नेतृत्वमा संकलन भएको रकम लिएर सागरका बुवा कमल झापाबाट ताप्लेजुङ आई पुगेका थिए । स्थानीय संयोजक गुरुङका अनुसार आगलागीबाट घर पूर्ण नष्ट भएका ७ घर परिवारले जनही ३६ हजार ६६६ रुपैयाँ पाएका छन् । अन्य २० प्रभावित परिवार र संस्थागततर्फ जिल्ला फुटबल संघले जनही २० हजार ७०८ रुपैयाँ पाएको समेत गुरुङले बताए ।

सो आगलागीबाट जिल्ला फुटबल संघसहित अन्य ६ वटा संस्थागत कार्यालयमा क्षति पुगेको वितरण जिल्ला बिपद् व्यवस्थापन समितिसंग छ । आगलागीबाट पीडित परिवारहरु क्रमशःटीकाराम गुरुङ,मंगल मेन्याङ्वो र बालमणि बरालले जनही २० हजार ७०८ रुपैयाँ का दरले पाउनुपर्ने राहत रकम आफूले नलिई बढी क्षति भएका परिवारलाई दिन अनुरोध गरेकोले आगलागीबाट घर क्षति भएका परिवारलाई दामासाहीले वितरण गरेको गुरुङले जानकारी दिए । आगलागीबाट घर गुमाएका परिवारले ३० हजार ७४१ रुपैयाँका दरले रकम पाउनेमा पछि ३ जनाको राहत रकम दामासाहीले थप गर्दा जनही ५ हजार ९२५ रुपैयाँ पर्न आएकोले ३६ हजार ६६६ रुपैयाँका दरले राहत पाएको गुरुङले बताए ।  

यता किराँत याक्थुङ कलाकार मञ्च फुङ्लिङले आगलागीबाट सबैभन्दा बढी क्षति भएको आधारमा मानेर घर नै गुमाएका पीडित खेम केसी र नेत्रप्रसाद कार्कीलाई जनही १० हजार ५ रुपैयाँ र अन्य घर गुमाएका ६ जनालाई जनही ६ हजार ३०० रुपैयाँका दरले राहत रकम वितरण गरेको छ । ६ हजार ३०० रुपैयाँ पाउनेमा घरधनीहरु नारायण भट्टराई,ठगबहादुर कार्की,बिष्णु केसीको घरका संरक्षक खड्ग थापा, चन्द्रमाया लेछर्बो,राम शाह र चन्द्रप्रसाद निरौला रहेका छन् । दुबै संस्थाको राहत रकम फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल र उपप्रमुख बमबहादुर भट्टराई(तारा)ले वितरण गरेका थिए ।  

 

 

प्रकाशित: ३१ वैशाख २०७७ १२:१६ बुधबार

राहत आगलागी