समाज

एकै दिनमा २३ सय ५७ जनाको पीसीआर परीक्षण

नेपालमा चौविस घण्टाभित्रमा २३ सय ५७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। परीक्षणको क्रममा कपिलवस्तुका २२ वर्षीय युवक र वाँकेका २६ वर्षीय  पुरुष संक्रमित भेटिएका छन्। कपिलवस्तुका युवकको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो भने वाँकेका युवकको परीक्षण धुलिखेल अस्पतालमा भएको थियो। उनीहरु दुई सहितको संक्रमितहरुको संख्या २ सय १९ पुगेको छ। 

संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। संक्रमित मध्येमा भरतपुर अस्पतालमा उपचारर्थ ६३ वर्षीया महिला २६ औं दिनमा निको भएकी छिन् भने वुटवलमा उपचारर्थ ६५  वर्षीय पुरुष ११ औ दिनमा निको भएका छन्। निको भई घर पर्किनेहरुको संख्या ३५ पुगेको छ। मंगलवारसम्ममा १ सय ७६ जना पुरुष र ४३ जना महिला रहेका छन्। 

प्रदेश नम्वर १ मा ३५ , प्रदेश दुईमा ९६ , वाग्मती प्रदेशमा ९,प्रदेश चारमा २ जना ,प्रदेश पाँचमा ७२ जना र सुदुर पश्चिममा ५ जना संक्रमित रहेका छन्। पहिलो पटक स्वास्थ्यकर्मीमा संक्रमण देखिएका छन्। हालसम्म पीसीआर विधिबाट हालसम्म २१ हजार ३ सय ४० जना र आरडिटी विधिवाट ६० हजार ३ सय १९  जनाको परीक्षण भइसकेको छ। बुधवार  देशभरिमा २ सय ४५ जना आइशोलेशनमा र १४ हजार ३ सय १३ जना क्वारेनटाइनमा रहेका छन्। 

संक्रमण स्वास्थ्यकर्मी र सामुहिक रुपमा देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असमान्य स्थिति  जनाएको छ। ‘अहिलेको परिस्थति असामान्य हो,सवैले मिलेर काम गरेमा मात्र कोरोना विरुद्धको लडाइँमा सफल हुनेछौं ’ मन्त्रालयका प्रवक्ता डा. विकास  देवकोटाले भने। सोही क्रममा अहिले व्यक्तिगत सुरक्षा सामाग्री मौजदात रहेकोले स्वास्थ्यकर्मीहरु थप सजक र सुरक्षित भई आत्मवलका साथ सेवा दिन अनुरोध गरेका छन्। 

बिभिन्न  जिल्लामा रही सम्पर्कमा आउन नसकेका संक्रमितलाई सम्पर्कमा ल्याउनको लागि खोजपड्ताल निर्देशिका २०७७ स्वीकृत भएको मन्त्रालयले जनाएको छ। यो निर्देशिकाले खोजपडतालको लागि टोली परिचालन गर्न सहज हुनेछ।

प्रकाशित: ३१ वैशाख २०७७ १२:१६ बुधबार

कोभिड १९ कोरोनाभाइरस